काठमाडौं । संवैधानिक कानूनविद् भीमार्जुन आचार्यले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका छन् ।
प्रधानमन्त्रीले आइतबार प्रतिनिधिसभामा नेपालले पनि भारतको केही भूमि मिचेको भन्ने आशयको अभिव्यक्ति दिएपछि प्रतिक्रिया दिँदै आचार्यले यस्तो भनाइ असामान्य र गम्भीर भएको बताएका हुन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले दुई देशबीचको सीमा विवादमा तेस्रो पक्षको उपस्थितिको कुरा उठाइनु अझ चिन्ताजनक रहेको उल्लेख गरेका छन् । उनका अनुसार अहिलेसम्म कुनै पनि नेपाली प्रधानमन्त्रीले संसद् वा सार्वजनिक रूपमा यस्तो अभिव्यक्ति दिएको रेकर्ड छैन ।
आचार्यले प्रधानमन्त्रीको भनाइले नेपाली भूमि अतिक्रमणको विषयलाई अप्रत्यक्ष रूपमा वैधता दिन सक्ने तर्क गरेका छन्। “सीमा अतिक्रमण दुई देशबीच पारस्परिक रूपमा भइरहेको छ भन्ने सरकार प्रमुखको भनाइले नेपालको भौगोलिक अखण्डता र राष्ट्रिय हितको रक्षाप्रति सरकार गम्भीर देखिँदैन,” उनले उल्लेख गरेका छन् ।
उनले वर्तमान परिस्थितिमा देश र नागरिकहरू अझ बढी सचेत हुनुपर्ने आवश्यकता औंल्याएका छन् ।
हेर्नुहाेस् संवधिानविद् आचार्यकाे प्रतिक्रिया : नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने प्रधानमन्त्रीको सदनमा दिएको अभिव्यक्ति अति नै असामान्य र गंभीर छ । दुई देशबीचमा तेस्रो देशको उपस्थितिको आव्हान अझैं चिन्ताजनक छ । आज सम्मका कुनै पनि प्रधानमन्त्रीहरूले यस्तो अभिव्यक्ति संसद् र संसद् बाहिर दिएको रेकर्ड छैन । यस्तो अभिव्यक्ति कहिल्यै अपेक्षित पनि छैन । यसको सबै भन्दा ठूलो असर नेपाली भूमि जसरी जुन स्तरमा अतिक्रमण भैरहेको छ, त्यसलाई कुनै न कुनै रूपमा फाइदा र वैधता दिलाउनु हो । सिमा मिच्ने काम दुई देशबीच पारस्परिक छ भन्ने सरकार प्रमुखको भनाईले नेपालको भौगोलिक अखण्डता रक्षा गर्न यो सरकार चाहदैन वा सक्दैन भन्ने कुरा दर्शाउॅंछ । सिंगों देश र देशवासी झनै सचेत हुनु पर्ने समय आए जस्तो छ ।
याे पनि –
- संसद्को रोष्ट्रममै प्रधानमन्त्रीबाट ‘कूटनीतिक अपराध’ !
- बालेनलाई बधाई दिँदै एसडी मुनीले गरे सुस्तामाथि भारतको झूठो दाबी

