काठमाडौँ । बीमा, धितोपत्र तथा वित्तीय कारोबारसँग जोडिएको प्रकरणमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दा दर्ता गरेको छ ।
विशेष अदालतको प्रशासन शाखाका अनुसार प्रतिवादीमध्ये ३४ जना व्यक्ति र ५ वटा कम्पनी रहेका छन् । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गत दर्ता गरिएको मुद्दामा भट्ट, अग्रवाल र गोल्छामाथि अर्बौं रुपैयाँ बराबरको अवैध सम्पत्ति आर्जन तथा शुद्धीकरण गरेको आरोप लगाइएको छ ।
आरोपपत्रअनुसार दीपक भट्टको हकमा २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसा बिगो कायम गरिएको छ । यस्तै शुलभ अग्रवालमाथि २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ ३१ पैसा बराबरको बिगो दाबी गरिएको छ । उद्योगी शेखर गोल्छाको हकमा ५२ करोड ५० लाख रुपैयाँ बिगो कायम गरिएको छ ।
यसअघि पनि भट्ट, अग्रवाल र गोल्छा विभिन्न आर्थिक अनियमिततासम्बन्धी अनुसन्धानको घेरामा रहेका थिए । सोही प्रकरणमा बीमा ऐन, २०७९ अन्तर्गत आर्थिक हिनामिना गरेको आरोपमा जिल्ला अदालत काठमाडौँमा ४२ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ । उक्त मुद्दामा नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष शरद ओझा र मदन दाहालसमेत प्रतिवादी बनाइएका छन् ।
बीमा क्षेत्रसँग सम्बन्धित मुद्दामा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका अध्यक्ष शेखर गोल्छासहित १० जनाविरुद्ध दुई अर्ब ७३ करोड ३३ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबी गरिएको छ ।
त्यस्तै भृकुटी ब्रोकिङ कम्पनीसँग सम्बन्धित प्रकरणमा शुलभ अग्रवालसहितका प्रतिवादीविरुद्ध तीन अर्ब ७३ करोड रुपैयाँभन्दा बढी बिगो कायम गरिएको छ ।
यसैबीच धितोपत्रसम्बन्धी ऐन, २०६३ अनुसारको कसुरमा ८१ जनाविरुद्ध अर्को मुद्दा जिल्ला अदालत काठमाडौँमा विचाराधीन छ भने बैंकिङ कसुरसम्बन्धी मुद्दा उच्च अदालत पाटनमा दायर गरिएको छ । उक्त मुद्दामा दीपक भट्ट, शाहिल अग्रवाल, शुलभ अग्रवाल र शंकरलाल अग्रवाललाई प्रतिवादी बनाइएको छ ।

