काठमाडौँ । इरानी गायिका पारास्तु अहमदी र उनको टोलीका आठ सदस्यलाई बिना हिजाब प्रस्तुति दिएको आरोपमा ७४ कोर्रा सजाय सुनाइएको खबर सार्वजनिक भएको छ ।
इरानको कुम प्रान्तको आपराधिक अदालतले उनीहरूलाई कोर्रा सजायसँगै दुई वर्ष विदेश भ्रमणमा प्रतिबन्ध तथा दुई वर्षसम्म कलात्मक गतिविधिमा संलग्न हुन नपाउने आदेश दिएको बताइएको छ ।
उनीहरूमाथि अनलाइनमार्फत “अश्लील तथा सार्वजनिक नैतिकताविरुद्ध सामग्री उत्पादन र प्रकाशन” गरेको आरोप लगाइएको उल्लेख छ । यद्यपि इरानको आधिकारिक न्यायिक समाचार निकायले हालसम्म उक्त निर्णय सार्वजनिक रूपमा पुष्टि गरेको छैन ।
२९ वर्षीया अहमदीले सन् २०२४ डिसेम्बरमा आफ्नो युट्युब च्यानलमार्फत बिना हिजाब प्रत्यक्ष प्रसारण गरिएको सांगीतिक प्रस्तुति सार्वजनिक गरेकी थिइन् । कार्यक्रममा उनले देशभक्तिपूर्ण गीत Az Khoone Javanane Vatan (From the Blood of the Youth of the Homeland) प्रस्तुत गरेकी थिइन् । उक्त भिडियो पछि सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो ।
प्रस्तुति सार्वजनिक भएपछि अहमदी र केही संगीतकर्मीलाई केही समय नियन्त्रणमा लिइएको थियो भने पछि रिहा गरिएको थियो । त्यसपछि भिडियो प्रकाशनलाई लिएर औपचारिक मुद्दा अघि बढाइएको जनाइएको छ ।
मानवअधिकार समूहहरूले यो घटनालाई सांस्कृतिक अभिव्यक्ति र कलात्मक स्वतन्त्रतामाथिको दबाबका रूपमा व्याख्या गरेका छन् । केही कानुन व्यवसायीहरूले भने महिलाले गीत गाउनु वा संगीत सार्वजनिक गर्नु इरानी फौजदारी कानूनअन्तर्गत स्वतः आपराधिक कार्य नहुने तर्क गरेका छन् ।
यस घटनाले इरानमा कलाकार, अभिव्यक्ति स्वतन्त्रता र सार्वजनिक आचरणसम्बन्धी कानुनी बहसलाई पुनः चर्चामा ल्याएको छ।

