झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन

जस नेपाल

८ असार २०८३

झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन

झापा । पछिल्लो समय लागुऔषध सेवन र कारोबारमा संलग्न युवायुवतीको सङ्ख्या वृद्धि भएको छ ।

नेपालको पूर्वी जिल्ला झापामा पनि यो सामाजिक समस्याकै रुपमा अघि बढिरहेको छ । जिल्ला कारागार र प्रहरी हिरासतमा लागुऔषध सेवन र कारोबारमा संलग्न अभियुक्तको सङ्ख्या पनि ठूलो छ ।

अहिले झापा मात्रै लागुऔषधका सक्रिय प्रयोगकर्ता र ओसारपसारमा संलग्नको २० हजारभन्दा बढी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख वसुन्धरा खड्काले बताइन् । लागुऔषधका ओसारपसार र सेवन गरेको अभियोगमा झापामा नौ सयभन्दा बढी व्यक्ति कारागार र हिरासतमा रहेको उनले जानकारी दिइन् ।

उनका अनुसार झापा कारागारमा रहेका कैदी ३७६ जना, पुर्पक्षका लागि थुनामा ३४० जना र अनुसन्धानको सिलसिलामा प्रहरी हिरासतमा २०८ जनाले लागुऔषधको बेचबिखन र ओसारपसार संलग्न भएको कसुर खेपिरहेका छन् ।

लागुऔषध दुव्र्यसनको उपचारका लागि जिल्लाका ४२ वटा सुधार केन्द्रमा एक हजार २६२ भन्दा बढी व्यक्ति भर्ना र प्रादेशिक अस्पताल भद्रपुरमा १३३ जना नियमित उपचारमा छन् । लागुऔषध सेवनकर्ताको यकिन तथ्याङ्क सार्वजनिक नभए पनि जिल्लामा १५ हजारभन्दा बढी रहेको हुनसक्ने प्रहरीको अनुमान छ ।

वार्षिक तथ्याङ्कले झापामा लागुऔषधको घटना बढिरहेको देखाएको छ । लागुऔषधजन्य अभियोगमा आर्थिक वर्ष २०७८/०७९ मा २०० जना, २०७९/०८० मा २०६ जना, २०८०/०८१ मा २९७ जना, २०८१/०८२ मा ३४५ जना र चालु आव २०८२/०८३ को जेठसम्ममा ३५२ जना व्यक्ति पक्राउ परेका छन् ।

जिल्लामा लागुऔषधबाट सबैभन्दा बढी प्रभावित मेचीनगर नगरपालिका रहे तापनि भद्रपुर, बिर्तामोड र दमक पनि रहेको प्रहरीले जनाएको छ । चालु आव २०८२/०८३ को ११ महिनाको अवधिमा सबैभन्दा बढी अभियुक्त मेचीनगरमा पक्राउ परेको पाइएको छ ।

भारतबाट लागुऔषध लिएर नेपाल प्रवेश गरेको अवस्थामा मेचीनगरको सीमावर्ती क्षेत्रबाट ९२ जना, भद्रपुरबाट ७७, बिर्तामोडबाट ४५, दमकबाट ३२, अर्जुनधाराबाट १६, गौरीगंजबाट १३, कमलबाट सात, गौरादहबाट छ, बुद्धशान्तिबाट ५, कचनकवलबाट दुई र हल्दिवारीबाट एक जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

लागुऔषध प्रयोगको कारण समाजमा चोरी, डकैती, घरेलु हिंसा, आत्महत्या, दुर्घटना, मानसिक र शारीरिक रोग, पारिवारिक बिखण्डन, सामाजिक अस्थिरता र डरजस्ता समस्या बढेको प्रहरी उपरीक्षक खड्का बताउँछिन् । झापामा प्रहरीले लागुऔषधको नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरेको छ ।

लागुऔषधको सेवन र कारोवारीको सङ्ख्या बढ्दै गएपछि स्थानीय तह र समुदायसँग मिलेर त्यसको प्रभावकारी नियन्त्रणका लागि अभियान सञ्चालन गरिएको प्रहरी उपरीक्षम खड्काले बताएकी छन् । लागुऔषधसम्बन्धी समस्या न्यूनीकरण गर्न, आयात नियन्त्रण र क्षतिको न्यूनीकरण गर्ने योजनासहित प्रहरीले अभियानको पहिलो चरणमा विद्यालयमा सचेतनामूलक प्रचारप्रसार कार्यक्रम सञ्चालन गरिरहेको छ ।

दोस्रो चरणमा लागुऔषधविरुद्धको सेचतनामूलक कक्षा सञ्चालन गर्न १५० जनाभन्दा बढी शिक्षकलाई तालिम दिइने छ भने तेस्रो चरणमा प्रहरी र स्थानीय युवाबीच मैत्रीपूर्ण खेलकुद गरिनेछ ।

चौथो चरणमा ७१ वटा प्रहरी एकाइमार्फत समुदायस्तरीय लागुऔषध नियन्त्रण क्लब गठन गरिने भएको छ ।

सम्बन्धित खवर

एमाले उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट पक्राउ, भैंसीपाटीस्थित निवासमा छापा

एमाले उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट पक्राउ, भैंसीपाटीस्थित निवासमा छापा

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरिएको छ...

लागुऔषधसहित वडासदस्य पक्राउ

लागुऔषधसहित वडासदस्य पक्राउ

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानस्थित गौरा मन्दिर टोलबाट प्रहरीले अवैध लागुऔषधसहित वडासदस्य पक्राउ...

ट्राफिक कारबाही : चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

ट्राफिक कारबाही : चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६ सवारीचालक सवारी नियम उल्लङ्घनको...

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु...