अर्डर एउटा, पुग्यो अर्कै क्यामेरा : अमेजनमाथि ४.६८ लाख भारु जरिवाना

जस नेपाल

८ असार २०८३

अर्डर एउटा, पुग्यो अर्कै क्यामेरा : अमेजनमाथि ४.६८ लाख भारु जरिवाना

काठमाडौँ । गलत सामान डेलिभरी गरेर फिर्ता गरिएको वस्तुको रकम समेत नफर्काएको भन्दै भारतको दार्जिलिङ जिल्ला उपभोक्ता विवाद समाधान आयोगले अमेजन र त्यसको प्लेटफर्ममा सामान सूचीकरण गर्ने विक्रेतालाई एक ग्राहकलाई कुल ४ लाख ६८ हजार भारतीय रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न आदेश दिएको छ ।

आयोगले इ-कमर्स प्लेटफर्म अमेजन र सम्बन्धित विक्रेतालाई सेवामा कमी  तथा अनुचित व्यापारिक अभ्यास गरेको ठहर गर्दै रकम फिर्ता र क्षतिपूर्ति दिन आदेश दिएको हो ।

यो आदेश Soloman Lepcha v Amazon Seller Services Private Ltd. & Anr. मुद्दामा आयोगका अध्यक्ष टिकेन्द्र नारायण प्रधान र सदस्य भावना ठाकुरीको इजलासले दिएको हो ।

मुद्दाअनुसार उजुरीकर्ताले अमेजनमार्फत सूचीकरण गरिएको विक्रेताबाट १ लाख ४३ हजार भारतीय रुपैयाँ मूल्यको Fujifilm X-T5 डिजिटल क्यामेरा खरिद गरेका थिए । तर सन् २०२५ फेब्रुअरी १० मा सामान प्राप्त गरेपछि उनले आफूले अर्डर गरेको मोडल नभई Fujifilm X-T50 प्राप्त भएको पत्ता लगाए ।

त्यसपछि उनले तुरुन्त ग्राहक सेवा केन्द्रमा सम्पर्क गरेका थिए । उजुरीकर्ताले सामान फिर्ता गरेपछि विक्रेताले वस्तु प्राप्त गरे पनि रकम फिर्ता प्रक्रिया अगाडि बढाएन । बरु ग्राहकलाई फिर्ता गरिएको वस्तु “गलत” भएको भन्दै दाबी अस्वीकार गरिएको जनाइएको छ ।

पछिल्ला इमेल संवादमा समेत यो विषयलाई गलत सामान पठाइएको घटनाका रूपमा स्वीकार नगरी “प्रयोग गरिएको वा क्षति भएको वस्तु” को रूपमा वर्गीकरण गरिएको थियो ।

उजुरीकर्ताले प्याकेजिङ लेबलमा फरक-फरक मोडल देखिएको फोटोसहित प्रमाण पेश गर्दै पटक-पटक दाबी गरे पनि रकम फिर्ता भएन । फिर्ता गरिएको सामान समेत ग्राहकलाई पुनः पठाइएन ।

पछि कानुनी नोटिस पठाइए पनि विवाद समाधान नभएपछि उपभोक्ताले आयोगमा उजुरी दिएका थिए ।

आफ्नो बचाउमा अमेजनले आफू  भारतको सूचना प्रविधि ऐन, २००० अन्तर्गत मध्यस्थकर्ता  मात्र रहेको र कारोबारमा प्रत्यक्ष जिम्मेवार नरहेको जिकिर गरेको थियो ।

तर उजुरीकर्ताले प्लेटफर्मले सूचीकरण, भुक्तानी, डेलिभरी, फिर्ता प्रक्रिया लगायत कारोबारका महत्वपूर्ण पक्षमा नियन्त्रण गर्ने भएकाले जिम्मेवारीबाट उम्किन नसक्ने तर्क गरेका थिए ।

आयोगले अमेजन र विक्रेता दुवैले कार्यवाहीमा उपस्थित नभएको तथा लिखित जवाफ नदिएको उल्लेख गर्दै उजुरीकर्ताको दाबी र प्रमाण चुनौतीविहीन रहेको निष्कर्ष निकालेको छ ।

आदेशमा भनिएको छ, “उजुरीकर्ताले विपक्षीहरूविरुद्ध आफ्नो दाबी स्थापित गरेका छन् र मागअनुसार राहत पाउने हकदार छन् ।”

आयोगले अमेजन र विक्रेतालाई क्यामेराको मूल्य १ लाख ४३ हजार रुपैयाँ फिर्ता गर्न आदेश दिएको छ ।

त्यसबाहेक आयोगले मानसिक पीडा तथा दुःखका लागि २ लाख रुपैयाँ , लापरबाही तथा सेवामा कमीका लागि १ लाख रुपैयाँ तथा मुद्दा खर्चबापत २५ हजार रुपैयाँ भुक्तानी गर्न निर्देशन दिएको छ।

यो सम्पूर्ण रकम आदेश जारी भएको मितिले ४५ दिनभित्र भुक्तानी गर्नुपर्ने तथा त्यसपछि रकममा उजुरी दर्ता भएको मितिदेखि वार्षिक ९ प्रतिशत ब्याज समेत लाग्ने आयोगले आदेश दिएको छ ।

उजुरीकर्ताको तर्फबाट अधिवक्ता सुनम शर्मा, पल्लव शर्मा र सुरज मोहन्ताले बहस गरेका थिए ।

स्रोत: बार एण्ड बेन्च 

सम्बन्धित खवर

स्विट्जरल्यान्डमा अमेरिका-इरान वार्ता : लेबनान शीर्ष एजेन्डा ? को-को सहभागी हुँदैछन् ?

स्विट्जरल्यान्डमा अमेरिका-इरान वार्ता : लेबनान शीर्ष एजेन्डा ? को-को सहभागी हुँदैछन् ?

तेहरान लेबनानमा भइरहेको युद्ध रोक्नका लागि अमेरिका र इरानका प्रतिनिधिमण्डलहरू स्विट्जरल्यान्डमा हुने उच्चस्तरीय प्राविधिक...

नेपालमा पश्चातदर्शी कानून : रामराजादेखि केपी ओलीसम्म

नेपालमा पश्चातदर्शी कानून : रामराजादेखि केपी ओलीसम्म

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले जेनजी आन्दोलनका सन्दर्भमा २९ पृष्ठको अपूरो प्रतिवेदन सार्वजनिक गर्दै...

बिना हिजाब गीत गाएकी इरानी गायिका पारास्तु अहमदीलाई ७४ कोर्रा सजाय

बिना हिजाब गीत गाएकी इरानी गायिका पारास्तु अहमदीलाई ७४ कोर्रा सजाय

काठमाडौँ । इरानी गायिका पारास्तु अहमदी र उनको टोलीका आठ सदस्यलाई बिना हिजाब प्रस्तुति...

अष्ट्रेलियामा किशोरकिशोरी विरुद्ध सामाजिक सञ्जाल प्रतिबन्धको प्रभाव

अष्ट्रेलियामा किशोरकिशोरी विरुद्ध सामाजिक सञ्जाल प्रतिबन्धको प्रभाव

विगत छ महिनामा, अष्ट्रेलिया सरकारले धेरैजसो अभिभावकहरूलाई पहिले नै थाहा भएको कुरा सिकेको छ...