११ हजारभन्दा बढी वैदेशिक रोजगारी ठगीका मुद्दाले  कहिले न्याय पाउँछन्?

जस नेपाल

२५ असार २०८३

११ हजारभन्दा बढी वैदेशिक रोजगारी ठगीका मुद्दाले  कहिले न्याय पाउँछन्?

काठमाडौँ । वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरूका लागि लामो समयदेखिको न्यायको प्रतिक्षा अझै कायम छ । वि.सं. २०५७ सालदेखिका ११ हजार ५२८ मुद्दा तथा उजुरीका फाइलहरू डिजिटलाइज भइसकेका छन्, तर पीडितहरूले पूर्ण न्याय कहिले पाउने हुन् ? यो प्रश्न अहिले धेरैको मनमा घुमिरहेको छ ।

युवा, श्रम तथा रोजगार मन्त्रालयले सरकारको १०० दिने उपलब्धिमा वैदेशिक रोजगारी क्षेत्रलाई थप सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने प्रयासहरूको विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित सरकारले यो अवधिमा डिजिटलाइजेसन र क्षतिपूर्ति वितरणमा उल्लेखनीय प्रगति गरेको सरकारको दाबी छ ।

डिजिटलाइजेसनको यात्रा

वैदेशिक रोजगारीलाई थप सुरक्षित बनाउन ‘वैदेशिक रोजगारी प्रणाली डिजिटाइजेसन’ को अध्ययन सम्पन्न भइसकेको छ । वैदेशिक रोजगारका सम्पूर्ण आप्रवासन चक्रलाई समेट्ने एकीकृत डिजिटल प्रणाली निर्माण कार्य भइरहेको छ । 

वि.सं. २०५७ देखिका ११ हजार ५२८ मुद्दा तथा उजुरीका फाइलहरू पूर्ण रूपमा डिजिटलाइज गरिसकिएको छ । वैदेशिक रोजगार सम्बन्धी मुद्दा, अनुसन्धान र क्षतिपूर्ति सेवालाई डिजिटाइज गरी सेवा ट्र्याकिङ गर्न सफ्टवेयरको परीक्षण भइरहेको छ । यो प्रणालीले पीडितहरूलाई आफ्नो उजुरीको अवस्था अनलाइनबाटै हेर्न सक्ने सुविधा दिनेछ ।

ठगी नियन्त्रण र क्षतिपूर्तिमा  प्रगति

सरकारले वैदेशिक रोजगारीसँग सम्बन्धित व्यक्तिगत तथा संस्थागत ठगीका १,००४ मुद्दा उजुरी फछ्र्यौट गर्दै पीडित नागरिकहरूलाई रु. ३० करोड ७४ लाख २० हजार क्षतिपूर्ति असुल उपर गरेको छ ।

सरकार गठन हुनुअघिको ९ महिनामा वैदेशिक रोजगार पीडितहरूलाई जम्मा रु. १२ करोड ६७ लाख मात्र क्षतिपूर्ति भराइएको थियो । तर वर्तमान सरकारको १०० दिनमै रु. ३० करोडभन्दा बढी क्षतिपूर्ति दिलाइएको सरकारको दाबी छ । 

मासिक औसतका आधारमा हेर्दा क्षतिपूर्ति भराउने दर करिब ६२८ प्रतिशतले वृद्धि भएको छ । पछिल्लो तीन महिनाको अवधिमा मुद्दा फछ्र्यौट दर २४१ प्रतिशतले र वैदेशिक रोजगार पीडितले क्षतिपूर्ति प्राप्त गर्ने दर ६७३ प्रतिशतले बढेको छ ।

वैदेशिक रोजगार ऐनलाई समयानुकूल बनाउन सर्वसाधारणबाट सुझाव संकलन गर्ने प्रयोजनका लागि सम्बन्धित वेबसाइटमा राखिएको छ । यसले आम नागरिकको रायलाई नीति निर्माणमा समावेश गर्ने अवसर प्रदान गर्दछ ।

लामो समयदेखि विवादित रहेको ‘फ्री भिसा फ्री टिकट’ नीतिलाई पुनरावलोकन गर्न कार्यदल गठन गरिएको छ । २०७२ सालदेखि चलेको यो विवादको समाधानका लागि कार्यदलले अध्ययन गरिरहेको छ ।

श्रमिकहरूलाई पारदर्शी तथा सहज सेवा उपलब्ध गराउने उद्देश्यले प्रविधिको प्रयोग र स्थानीयकरणमा विशेष जोड दिइएको छ । अब एकै दिनमा श्रम स्वीकृति सम्बन्धी सम्पूर्ण सेवा स्थानीय तहमा रहेका रोजगार संयोजक मार्फत उपलब्ध हुने व्यवस्था मिलाइएको छ ।श्रमिकको सामाजिक सुरक्षाका लागि योगदानकर्ता सापटीको सीमा बढाएर रु. १ करोड ५० लाख पुऱ्याइएको 

यसैगरी, वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूको स्वास्थ्य परीक्षणलाई सहज र प्रविधिमा आधारित बनाउन डिजिटल वेब पोर्टल तयार पारिएको छ । यो पोर्टल हाल परीक्षण चरणमा रहेको छ ।

ठगी न्यूनीकरणका लागि विशेष अभियान

श्रम मन्त्रालयमा एक्सन कमान्ड सेन्टर स्थापना गरी १ हजार ६६३ गुनासोको सम्बोधन गरिएको छ । ‘अपरेसन इलिगल एजेन्ट क्लिन-अप’ पोर्टल तथा अभियानको सुरुवात भएको छ । श्रमाधान कल सेन्टर मार्फत ५ हजार ३९१ गुनासो समाधान गरिएको छ भने अन्तर्राष्ट्रिय विमानस्थलमा २४/७ श्रम सहायता कक्षको व्यवस्था गरिएको छ ।

श्रम कूटनीतिलाई केन्द्रमा राखेर ११ वटा देशका मन्त्री/राजदूतसँग छलफल गरिएको छ । ८ वटा प्रमुख गन्तव्य मुलुकसँग नयाँ श्रम सम्झौता र नवीकरणको प्रक्रिया अघि बढाइएको छ ।

त्यस्तै स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न वि.सं. २०८३ देखि २०९२ सम्मको दशकलाई ‘रोजगार प्रवर्द्धन दशक’ को रूपमा घोषणा गरिएको छ । त्यस सम्बन्धमा ‘National Employment Ecosystem Blueprint २०८३’ को तर्जुमा भइरहेको छ ।

७५३ वटै स्थानीय तहमा कार्यरत रोजगार सेवा केन्द्रहरूलाई सक्रिय बनाई रोजगार, सीप र उद्यमशीलता केन्द्रमा रूपान्तरण गरिएको छ । राष्ट्रिय रोजगार नीति २०७१ लाई समयानुकूल बनाउन राष्ट्रिय रोजगार नीति २०८३ को मस्यौदा तयार भइरहेको छ ।

युवा, श्रम तथा रोजगार मन्त्रालय मातहतका १७ वटा अनलाइन प्रणालीहरूलाई एकीकृत गर्न प्रारम्भिक डिजाइन कागजात सम्पन्न भएको छ ।

आन्तरिक श्रम बजारमा असल श्रम सम्बन्ध र व्यावसायिक वातावरण तयार गर्न १ हजार ३२१ प्रतिष्ठानहरूको श्रम निरीक्षण  सम्पन्न भएको छ । यस क्रममा रु. ४ करोड ४० लाख ९६ हजार जरिवाना/क्षतिपूर्ति असुल गरिएको छ ।

सरकार गठन हुनुअघिको ९ महिनामा १ हजार ९९१ वटा श्रम निरीक्षण भएकोमा वर्तमान सरकारको १०० दिनमै १ हजार ३२१ वटा निरीक्षण सम्पन्न भएको छ । उत्कृष्ट प्रतिष्ठानहरूलाई सम्मान गर्ने परिपाटी सुरु गरिएको छ ।

श्रम शोषण न्यूनीकरणका लागि ‘ILO Convention No. 81’ र ‘Forced Labour Convention को Protocol (P029)’ अनुमोदनका लागि संघीय संसदमा पेश गरिएको छ । श्रमिकको सामाजिक सुरक्षाका लागि योगदानकर्ता सापटीको सीमा बढाएर रु. १ करोड ५० लाख पुर्‍याइएको छ ।

सरकारको यो १०० दिने उपलब्धिले वैदेशिक रोजगारी क्षेत्रमा ठगी नियन्त्रण, डिजिटलाइजेसन र क्षतिपूर्ति वितरणमा तीव्र गति देखाएको छ । तर ११ हजारभन्दा बढी पुराना मुद्दाहरूको पूर्ण फछ्र्यौट र दीर्घकालीन सुधारको चुनौती अझै बाँकी छ । 

पीडितहरूले अब आशा गरेका छन् कि डिजिटल प्रणाली र तीव्र फछ्र्यौटको गतिले उनीहरूको लामो प्रतीक्षा टुंगिनेछ । यो प्रयासले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने र स्वदेशमै रोजगारी सिर्जना गर्ने दिशामा महत्वपूर्ण कदम सावित हुन सक्छ ।

यो पनि –

वैदेशिक रोजगार न्यायाधिकरण : विवाद सुल्झाउने संयन्त्र

 

सम्बन्धित खवर

‘सम्माननीय’ र ‘माननीय’ सम्बोधनको वैधानिकतासम्बन्धी रिटमा सर्वोच्चद्वारा कारण देखाउन आदेश

‘सम्माननीय’ र ‘माननीय’ सम्बोधनको वैधानिकतासम्बन्धी रिटमा सर्वोच्चद्वारा कारण देखाउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राज्यका उच्च पदाधिकारीलाई प्रयोग गरिँदै आएका ‘सम्माननीय’ र ‘माननीय’ जस्ता...

देउवा पुत्रलाई सम्पत्ति शुद्धीकरण विभागले भन्यो– सात दिनभित्र उपस्थित हुनू

देउवा पुत्रलाई सम्पत्ति शुद्धीकरण विभागले भन्यो– सात दिनभित्र उपस्थित हुनू

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा...

टेरामक्स प्रकरणमा विशेष अदालतको फैसला : कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई सफाइ, दिगम्बर झालाई एक वर्ष जेल

टेरामक्स प्रकरणमा विशेष अदालतको फैसला : कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई सफाइ, दिगम्बर झालाई एक वर्ष जेल

माेहनबहादुर बस्नेत काठमाडौँ । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतसमेत १६ जना प्रतिवादीहरु रहेको चर्चित...

एमालेका पूर्वसांसद कोइरीलाई पक्राउ गर्नुको कारण पेस गर्न सरकारका नाममा सर्वोच्चको आदेश

एमालेका पूर्वसांसद कोइरीलाई पक्राउ गर्नुको कारण पेस गर्न सरकारका नाममा सर्वोच्चको आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गरी कैद कार्यान्वयन...