गोमन सर्पलाई प्रेम गर्ने प्रेमकुमार !

१२ मंसिर २०८२

गोमन सर्पलाई प्रेम गर्ने प्रेमकुमार !

काठमाडौं । नेपाल सरकारले ०७५ साल अघिसम्म सर्प पाल्ने अनुमति दिएको थिएन । ०७६ सालमा राष्ट्रिय निकुञ्ज तथा वन्यजस्तु संरक्षण नियमावलीमा संशोधन गरियो र बन्यजस्तुको पालन, प्रजनन र उपयोग गर्ने अनुसूचीमा ‘सर्प’ लाई समेत थप गरियो । वन तथा वातावरण मन्त्रालयले ०८० साल भदौ १८ गते यससम्बन्धी मापदण्डसमेत बनाएपछि सर्प पाल्ने बैधानिक बाटो खुल्यो ।

विषालु सर्पको टोकाइबाट बच्‍न सर्पकै विषबाट बनेको ‘एन्टी स्‍नेक भेनम’ प्रयोग गर्नुपर्ने हुन्छ । तर, अहिलेसम्म नेपालमा ‘एन्टी स्‍नेक भेनम’ भारतबाट आयात हुँदै आएको छ । नेपालमै पाइने सर्पबाट ‘एन्टी स्‍नेक भेनम’ बनाउन सकिने हुँदाहुँदै पनि विगतमा सरकारले सर्प पाल्न नदिएका कारण भारतसँग भर पर्नुपरेको विष्टको बुझाइ छ ।

कानूनले नै सर्प पाल्न अनुमति दिएपछि सर्पसम्बन्धी जानकार प्रेमकुमार विष्टले सुनसरीको चक्रघट्टीमा सर्प पाल्दै आएका छन् । पटक–पटक गोमन सर्पले डस्दा पनि सर्पसँगको ‘प्रेम’ नटुटेका प्रेम कुमारले गोमन सर्पको टोकाइबाट पाखुरामा गढेको खत देखाउँदै जसनेपालको स्टुडियोबाट सर्पसम्बन्धी रोचक कथा सुनाए ।

विष्ट भन्छन्, ‘सरकारले सर्प पाल्न दिने कानून ल्याएपछि हामीले सुनसरीमा सर्प पालिरहेका छौं । तर, सर्प पालनका क्रममा सरकारले बढी कर लिने गरेको विष्टको गुनासो छ ।

विष्ट उत्साही हुँदै भन्छन्, ‘अब नेपालमै ‘एन्टी स्‍नेक भेनम’ बनाउनका लागि हामीले सर्पसँगै घोडा पनि पालेका छौं, अब मेसिन खरीद गरेपछि हामी नेपालमै ‘एन्टी स्‍नेक भेनम’ बनाउँछौं ।

नजिकैका जिल्लामा कसैको घरमा गोम सर्प रहेको खबर पाए भने विष्ट सर्प समाउन दौडिइहाल्छन् । यही क्रममा सिन्धुलीको दुधौलीमा तीनवटा गोमन सर्प झोलामा हालेर मोटरसाइकलको पछाडि बसेर फर्कँदै गर्दा उनी सर्पको डसाइमा परेर मृत्युको मुखमा पुगेका थिए । तैपनि उनी सर्पको स्याहारमा लाग्न छाडेका छैन् ।

सर्पको ‘महिमा’

संस्कृतिसँग गाँसिएका केही नकारात्मक धारणाहरू, डर, र सर्पदंशको त्रासले मानिस;सर्प द्वन्द्वलाई झनै बढाउँछ। तर यही सर्प हजारौँ वर्षदेखि उर्वरता, पुनर्जन्म, स्वास्थ्य, औषधोपचार तथा समृद्धिको प्रतीक मानिँदै आएको छ। विडम्बना त के भने, मानव सभ्यताले पूजेको यही जीव आज मानिसकै भय र अज्ञानताका कारण नासिन लागेको छ।

सर्प प्रकृतिको शान्त तर अत्यन्त प्रभावकारी नियन्त्रक हो। विश्वका लगभग लगभग ८५ देखि ९० प्रतिशत प्रजाति अविषालु भए पनि, सर्पलाई देख्नेबित्तिकै मार्ने प्रवृत्तिले वातावरणीय सन्तुलन नै बिगारिरहेको छ।

सर्पले भ्यागुता, किराफट्याङ्ग्रा, मुसा र अन्य किटजन्य वाहकहरू खाएर रोग फैलिन नदिने, अन्न नष्ट हुन रोक्ने, र खाद्य सुरक्षा जोगाउने काम गर्छ;त्यो पनि नि:शुल्क र निरन्तर। सर्प नभएका क्षेत्रमा मुसा र किटाणुको बाढी आउँछ, जसले रोग फैलिने जोखिमदेखि बाली नष्ट हुने सम्भावना दोब्बर बनाउँछ। यही कारण सर्पलाई ‘किसानको साथी’ भन्नु वैज्ञानिक र सांस्कृतिक दुवै दृष्टिले उचित छ।

सर्प केवल शिकारी मात्र होइन;उनीहरू जैविक विविधताको संरक्षक, वातावरणीय सन्तुलनका इन्जिन र भविष्यका औषधिय स्रोत पनि हुन्। मुसाले खाएका बीउ सर्पले प्रशोधन गरी टाढासम्म फैलाइदिन्छ, जसले वनस्पतिको नयाँ जीवनचक्र सुरु गराउँछ र प्रकृतिको पुनर्जागरणमा महत्त्वपूर्ण योगदान दिन्छ; यस भूमिकालाई वैज्ञानिकहरूले ‘इकोसिस्टम इन्जिनियर’ तथा ‘सेकेण्डरी सिड डिस्पर्सल’ भन्छन्।

बीउ दुर्दराज फैलिनु भनेको वनस्पतिहरूलाई प्रकाश, पानी र माटोका स्रोतका लागि प्रतिस्पर्धा गर्न नपर्ने, सुरक्षित रूपमा फैलिन र बचिरहन सक्ने वातावरण उपलब्ध गराउनु हो, जसले जैविक विविधता मजबुत बनाउँछ। अर्कोतर्फ, सर्पको विष मानवजीवन बचाउने सबैभन्दा प्रभावकारी उपचार एन्टिभेनम निर्माणको मूल आधार हो, जहाँ विषको सानो मात्रा जनावरमा प्रविष्ट गराई बनेका एन्टिबडीहरूबाट जीवनरक्षक औषधि तयार गरिन्छ।

रक्तचाप, मुटु, रक्त–जमावटदेखि क्यान्सरसम्मका विभिन्न औषधि पनि सर्पविषका जैव संयुगबाटै विकसित भएका छन्, र अझै अनगिन्ती संयुगहरू खोजिन बाँकी छन् जसले भोलिका रोगहरूको उपचारमा महत्वपूर्ण परिवर्तन ल्याउन सक्छ। यसरी सर्पले पारिस्थितिक, कृषिकीय र चिकित्सकीय तीनै क्षेत्रमा निभाउने बहुआयामिक भूमिकाले उनीहरूको अस्तित्व मानव सभ्यता र प्रकृतिको दुवै स्वास्थ्यका लागि अनिवार्य बनाएको छ।

 

सम्बन्धित खवर

कम्पनी सेवा अब स्थानीय तहबाटै, CAMIS प्रणालीमार्फत सनाखत सुविधा विस्तार

कम्पनी सेवा अब स्थानीय तहबाटै, CAMIS प्रणालीमार्फत सनाखत सुविधा विस्तार

काठमाडौँ । कम्पनी स्थापना, सञ्चालन र खारेजी सम्बन्धी सेवाहरूलाई थप सहज बनाउने उद्देश्यले अब...

सुकुमबासी नचिन्ने बालेन सरकारको १८ बुँदे ‘वर्गीय’ प्रतिवद्धता !

सुकुमबासी नचिन्ने बालेन सरकारको १८ बुँदे ‘वर्गीय’ प्रतिवद्धता !

काठमाडौँ । बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि सरकारले १०० बुँदे शासकीय सुधारसम्बन्धी कार्यसूची सार्वजनिक गरेको...

एआईलाई प्रश्न- बालेन सरकार ‘फासीवादी’ बन्न सक्छ ?

एआईलाई प्रश्न- बालेन सरकार ‘फासीवादी’ बन्न सक्छ ?

काठमाडौँ । पछिल्लो समय मान्छेभन्दा एआई बुद्धिमान छ भनेर कतिपयले दाबी गर्छन् । तर,...

बालेन सरकारप्रति अमेरिकी नजर : बीआरआईदेखि तिब्बती शरणार्थीसम्म

बालेन सरकारप्रति अमेरिकी नजर : बीआरआईदेखि तिब्बती शरणार्थीसम्म

काठमाडौँ । अमेरिकी संसद अन्तर्गत कार्य गर्ने कंग्रेसनल रिसर्च सर्भिस (CRS) ले आफ्ना देशका...