बाटोमा भेटिएको नागरिकता बोकेर यत्रो ठगी !

१७ पुष २०८२

बाटोमा भेटिएको नागरिकता बोकेर यत्रो ठगी !

काठमाडौं । अचानक तपाईँको नागरिकता हरायो भने के गर्नुहुन्छ ? सामान्यतः सम्बन्धित निकायमा उजुरी गर्नुहुन्छ होला । आफ्नो स्थायी बसोबास भएको ठाउँबाट नागरिकताको प्रतिलिपि पनि बनाउनुहुन्छ होला । तर, एकदिन अचानक हराएको नागरिकता बोकेर एक हुल मानिस तपाईकै घरमा आइपुगे भने के गर्नुहुन्छ ?

यस्तै अनौठो ठगीको घटना फेला परेको छ काठमाडौंमा । हराएको नागरिकताले कत्रो ठगी धन्दा चल्दो रहेछ भन्ने सम्झँदा तपाईलाई अचम्म लाग्न सक्छ ।

घटना यसरी सुरु हुन्छ…

घटना हो २०७८ सालको । कञ्चनपुरका २२ वर्षीय निरज पाण्डेय भक्तपुर बसेर आफ्नो अध्ययन गर्दै थिए । मध्यम परिवारका निरजले परिवारलाई आर्थिक भार कम होस् भनेर पढाइसँगै पुतलीसडकमा एउटा सामान्य जागीर पनि सुरु गरे ।
एक दिन जागीर सकेर कोठा फर्कने क्रममा निरजको नागरिकता बाटैमा खसेर हरायो । उनले यसलाई सामान्य रूपमै लिए । गाउँ गएको मौका पारेर प्रतिलिपि बनाए । त्यसपश्चात् उनी आफ्नो नियमित कर्ममा लागे ।
करिब एक वर्षपछि अचानक एक दिन निरजको कञ्चनपुरस्थित घरमा ४/५ जनाको समूह पुग्यो र उनका बुबासँग सोधपुछ गर्न थाल्यो ।

‘तपाईँको छोरा निरजले हामीलाई वैदेशिक रोजगारीमा रसिया पठाउने भनेर लाखौँ रुपैयाँ ठग्यो ।’

यसरी आरोप लगाउने व्यक्तिहरू पूर्वसुरक्षाकर्मीहरु रहेछन् ।

काठमाडौंमा बसेर अध्ययन गरिरहेको आफ्नो छोराले मेनपावर/कन्सल्टेन्सी व्यवसाय नै खोलेर मानिसहरुलाई ठग्यो भन्दा निरजका बुवा छक्क परे ।

छोराले बदमासी नै पो गर्‍यो कि भनेर उनले तत्कालै काठमाडौंमा भएका निरजलाई भिडियो कल गरे । भिडियो कलमा निरजलाई देखेपछि ठगीको आरोप लगाउने व्यक्तिहरू छक्क परे । किनकि, उनीहरूलाई ठग्ने निरज पाण्डेय र भिडियो कलमा बोल्ने निरज पाण्डेय फरक व्यक्ति थिए । तर, नागरिकतामा निरज पाण्डे एकै थिए ।

ठगीबाट पीडित व्यक्तिहरू काठमाडौं फर्किए । उनीहरुले वास्तविक निरज पाण्डेयलाई भेटे । त्यसपछि बल्ल रहस्य खुल्यो, उनीहरूलाई वैदेशिक रोजगारीमा पठाउने भनेर रकम ठग्ने कम्पनीका व्यक्तिले निरजको नागरिकता प्रयोग गरेका रहेछन् ।

अघिल्लो वर्ष हराएको आफ्नो नागरिकता दुरुपयोग गरेर कसैले आफ्नै नाममा मेनपावर/कन्सल्टेन्सी नै खोलेर ठगी गरिरहेको थाहा पाउँदा निजर झसङ्ङ भए । त्यसपछि उनी पनि ठगिएका मानिहरूलाई लिएर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय नयाँ बानेश्वर (हाल टेकु सरेको) पुगे ।

आफ्नो कागजात र नाम दुरुपयोग गरी कसैले ठगी गरिरहेको भनेर उनले निवेदन दिए । यो घटनाबारे प्रहरीले जब अनुसन्धान सुरु गर्‍यो, अपराधका आयामहरु एकाएक खुल्न थाले ।

के देखियो अनुसन्धानमा ?

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा निरज पाण्डेयसहित अरु पीडितले पनि ठगीबारे उजुरी दिए । ठगिएका भनिएका व्यक्तिहरू नेपाल प्रहरी, नेपाली सेनालगायतका सुरक्षा निकायबाट अवकाश पाएका र राजीनामा दिएका व्यक्तिहरू थिए ।

सुरक्षा निकायमा काम गरेको अनुभव भएका उनीहरूलाई रुसी सेनामा राम्रो रोजगारी छ भनेर जनही १२ देखि १६ लाख रुपैयाँ ठगेको प्रहरी अनुसन्धानमा खुल्यो ।

ठगिएका व्यक्तिहरूले आफूलाई ठगी गर्ने मेनपावरको एक भिजिटिङ कार्डसमेत प्रहरीलाई उपलब्ध गराए । प्रहरीले सोही भिजिटिङ कार्डको आधारमा मेनपावरको कार्यालय काठमाडौंस्थित ज्ञानेश्वरमा रहेको पत्ता लगायो ।

निरज पाण्डेयको नागरिकताबाट अन्य के–के कार्य भइरहेको छ भन्ने शिराबाट पनि उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान अघि बढायो ।

निरजको नागरिकता प्रयोग गरेर कम्पनी रजिष्ट्रार कार्यालय त्रिपुरेश्वरमा ०७८ मंसिर २८ गते एभरेष्ट लिंक इन्टरनेशनल एजुकेसन प्रा.लि. नामको कम्पनी खोलिएको रहेछ ।

सोही कम्पनीका नाममा निरजकै नागरिकता दुरुपयोग गरी ३/४ वटा बैंकमा खाता पनि खोलिएको पत्ता लाग्यो । खाताहरू सेञ्चुरी, कुमारी लगायतका बैंकमा खुलेका थिए ।

कम्पनी रजिष्ट्रार कार्यालय र केही बैंकमा निरज पाण्डेयको दस्तखत एकै प्रकृतिको थियो । कुनै बैंकमा भने फरक भेटियो । जसबाट प्रहरीले सो ठगीमा एकजना व्यक्ति मात्र नभएर गिरोह नै सक्रिय रहेको आकलन गरी अनुसन्धानलाई थप तीव्र बनायो ।

निरजको नागरिकता दुरुपयोग गरी खोलिएका बैंक खातामा पीडितहरुबाट ठगिएको रकम जम्मा गर्न लगाउने र चेक मार्फत रकम निकाल्ने गरेको प्रहरी अनुसन्धानबाट पत्ता लाग्यो ।

प्रहरीले चेक साट्न बैंक पुग्ने व्यक्तिको सीसीटीभी फुटेज मगायो र अनुसन्धान अघि बढायो । ठगीमा संलग्न व्यक्तिको अनुहार, बैंकमा चेक साट्दा उपलब्ध गराएको मोबाइल नम्बर लगायतका थप विवरण सोही फुटेजका आधारमा प्रहरीले फेला पार्‍यो ।

अनुसन्धानलाई सघाउने प्रमाणहरू संकलन भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली एभरेष्ट लिंक इन्टरनेशनल एजुकेसन (मेनपावर) को कार्यालय ज्ञानेश्वरमा पुग्यो ।

तर, प्रहरी टोली पुग्दा मेनपार सञ्चालकहरू कार्यालयका फर्निचर, टेबल, कुर्सी सबै अलपत्र छाडेर त्यहाँबाट भागिसकेका थिए ।

प्रहरीले उक्त मेनपावर कार्यालय राखिएको घरधनीसँग वयान लियो । घरधनीका अनुसार मेनपावर चलाउने व्यक्तिहरूले घर भाडा बापतको रकम एकपटक मात्र बुझाएको र सो भुक्तानी बैंकिङ च्यानलबाट नभई हाताहाती दिइएको थियो ।
मेनपावर कार्यालय छेउछाउका अन्य कार्यालय तथा पसलहरूमा सोधपुछ गर्दा नजिकैको चिया पसलमा करिब २० हजार रुपैयाँ उधारो खाएर ठगहरु फरार भएको पत्ता लाग्यो ।

ठगी गर्नेहरूमध्ये मध्यपुर ठिमी नगरपालिका–९, भक्तपुरका सुरेश भन्ने २८ वर्षका प्रदीप कर्माचार्य मेनपावरको कथित सीइओ बनेको खुल्यो । उनी उक्त ठगीका ‘मास्टर माइन्ड’ समेत रहेको प्रहरीको भनाइ छ ।

कर्माचार्यले आफू नै निरज पाण्डेय भएको दाबी गर्दै ठगी गर्ने गरेको प्रहरीले निचोड निकाल्यो । पीडितले उपलब्ध गराएको भिजिटिङ कार्डमा पनि निरज पाण्डेय, सीइओ भनेर उल्लेख गरिएको थियो । जसमा मोबाइल नम्बर भने ‘मास्टर माइन्ड’ प्रदीप कर्माचार्यको थियो ।

त्यस्तै खत्याड गाउँपालिका ११, मुगु घर भई काठमाडौंको बुढानीलकण्ठ बस्ने २४ वर्षका विशाल कार्कीले निरज पाण्डेयको नाममा बैंकमा खाता खोलेको रहस्य खुल्यो ।

अर्का खत्याड गाउँपालिका ८ घर भई बुढानीलकण्ठ नै बस्ने २१ वर्षका रामकृष्ण रावलले कम्पनीको सहजकर्ताका रूपमा काम गर्दै आएको पत्ता लाग्यो ।

प्रहरीले थप अनुसन्धान गर्दै जाँदा बैंक, मोबाइल वालेट लगायतका अन्य उपलब्ध तथ्याङ्कका आधारमा यी तीनैजना व्यक्तिहरू ठगीमा संलग्न भएको निचोड निकाल्यो ।

ठगीमा संलग्न रहेका रामकृष्ण रावलकी प्रेमिकाको माध्यमबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीनैजनालाई पक्राउ गर्‍यो । त्यसपछि, ०७९ भदौ १ गते ठगीसम्बन्धी कसुरमा कारवाही अगाडि बढाइयो ।

पक्राउ पर्नुअघि नै अर्को ठगी

जब प्रहरीले यी तीनै जनालाई पक्राउ गरेको विज्ञप्ति सार्वजनिक गर्‍यो, तब उनीहरूबाट ठगिएका अन्य व्यक्ति पनि प्रहरीको सम्पर्कमा आए । निरज पाण्डेयको नागरिकता दुरुपयोग गर्ने गिरोहका मुख्य अभियुक्त प्रदीप कर्माचार्य बाहेकका अन्य २ जना र थप एक व्यक्ति मिलेर सोही प्रकृतिको नयाँ ठगी गर्न भ्याइसकेका रहेछन् ।

रसियन सेनामा पठाउने प्रलोभन देखाएर ठग्दै आएका उनीहरूले सिंगापुर लाहुरेमा भर्ती गराउने आश्वासन दिएर समेत ठगी गरेका रहेछन् । त्यसवापत उनीहरूले प्रतिव्यक्ति ५ देखि ६ लाखका दरले करिब २० जनाबाट रकम ठगी गरिसकेको पीडितहरूले प्ररहीलाई बयान दिएका छन् ।

प्रहरीले यस ठगीमा संलग्न थप एक जनालाई पनि नियन्त्रणमा लिएर कारवाही अगाडि बढायो ।

ज्ञानेश्वरबाट चिया पसलको समेत पैसा नतिरी भागेका उनीहरुले राजधानीको अर्कै ठाउँमा नयाँ मेनपावर कार्यालय खोलिसकेको अवस्थामा प्रहरीले उनीहरुलाई समात्न सफल भयो ।

ठगका बाह्र दाउ !

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगीलाई विभिन्न १२ प्रकृतिमा विभाजन गरेर व्याख्या गरेको छ । यो ठगीलाई प्रहरीले पहिचान जालसाजी (आइडेन्टिट फ्रड) भनेर व्याख्या गरेको छ ।

यस प्रकृतिको ठगीमा आफ्नो पहिचान फेरेर वा अरू कसैको पहिचान चोरी गरी ठगी गर्ने गरिन्छ । यसलाई न्यूनीकरण गर्न समुदाय स्तरमा व्यापक जनचेतना फैलाउने काम राज्य स्तरबाटै हुनुपर्ने प्रहरीको निचोड छ ।

साथै एउटा नागरिकताबाट कति वटासम्म सिमकार्ड लिन मिल्ने भन्ने प्रष्ट व्यवस्था हुनुपर्ने प्रहरीको भनाइ छ ।

बैंकमा खाता खोल्न जाँदा खाता खोल्ने व्यक्ति र कागजातमा भएको व्यक्ति एकै भए नभएको पुष्टि बैंकले अनिवार्य गर्नुपर्ने लगायतका कार्यमा कडाइ गर्न सके यस किसिमको अपराधमा कमी आउन सक्ने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको ठम्याइ छ ।

सम्बन्धित खवर

युरोपमा रोजगारी मिलाइदिने भन्दै लाखौँ असुल्ने चार जना पक्राउ

युरोपमा रोजगारी मिलाइदिने भन्दै लाखौँ असुल्ने चार जना पक्राउ

काठमाडौँ । आकर्षक तलबसहित युरोपियन मुलुकहरूमा रोजगारी मिलाइदिने प्रलोभन देखाएर सर्वसाधारणबाट लाखौँ रुपैयाँ उठाउने...

काठमाडौँमा एक महिनामा ९७६ अपराधका मुद्दा दर्ता, १५९ जघन्य प्रकृतिका

काठमाडौँमा एक महिनामा ९७६ अपराधका मुद्दा दर्ता, १५९ जघन्य प्रकृतिका

काठमाडौँ । काठमाडौँ जिल्लामा गत माघ महिनामा ९७६ अपराधका मुद्दा दर्ता भएको छ ।...

उपभोक्ता संरक्षण ऐन उल्लंघन गर्ने दुई फर्म दण्डित

उपभोक्ता संरक्षण ऐन उल्लंघन गर्ने दुई फर्म दण्डित

काठमाडौँ । नियमित रूपमा बजारको अनुमगन गर्दै कानून कार्यान्वयन गराउँदै आएको वाणिज्य, आपूर्ति तथा...

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोली झापाबाट बरामद

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोली झापाबाट बरामद

झापा । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका एक थान पेस्तोल र...