एथेन्सको चिसो जेलको कोठामा ७० वर्षका सुकरात शान्त मुस्कानसाथ बसेका थिए । उनका शिष्यहरू रोइरहेका थिए, भाग्न आग्रह गरिरहेका थिए।
जेलरले विष (हेमलक) को कप अगाडि राखिदियो।
‘तिमी भाग्न सक्छौ,’ साथी क्रिटोले भने। तर सुकरातले मुस्कुराउँदै जवाफ दिए ; ‘कानूनको अवज्ञा गरेर म कसरी राम्रो नागरिक बन्न सक्छु?’
त्यसपछि उनले शान्त भावमा विषको कप उठाए र पिउँदै गए।
यो घटना हो ई.पू. ३९९ को।
सुकरात मरे, तर उनी जिउँदै छन् हरेक प्रश्नमा । हरेक अदालतमा । हरेक विद्यार्थीको मनमा।
खाली पैताला हिँड्ने यी वृद्ध को थिए, जसले कहिल्यै किताब लेखेनन् तर पाश्चात्य दर्शन, नैतिकता र कानूनको जग बसाए ?”
सुकरात को थिए ?
सुकरातको जन्म सन् ४७०/४६९ ई.पू. मा एथेन्सको एलोपेके गाउँमा भएको थियो। उनका बुबा सोफ्रोनिस्कस ढुङ्गा काट्ने मूर्तिकार थिए भने आमा फेनारेटे धाई (मिडवाइफ) थिइन्। आमाको पेसाले उनलाई “ज्ञान जन्माउने” प्रतीक बनायो,उनी आफूलाई विचारहरू जन्माउने धाई ठान्थे।
उनी साधारण जीवन जिउँथे; खाली पैताला हिँड्ने, फाटेको लुगा लगाउने र बजारमा घुमेर जोसुकैसँग प्रश्न सोध्ने उनको बानी थियो।
उनको वैवाहिक जीवन पनि रोचक थियो। उनले ५० को दशकमा xanthippe नामकी महिलासँग विवाह गरे। उनीहरूका तीन छोराहरू थिए; ल्याम्प्रोक्लेस, सोफ्रोनिस्कस र मेनेक्सेनस।
तर सुकरात घरभन्दा बढी सहरका युवाहरूसँग दर्शन छलफलमा व्यस्त हुन्थे। जसले गर्दा श्रीमतीले गाली गरिरहन्थिन् ।
जीवनका उतार चढाव
सुकरातको जीवन उतार चढावले भरिपूर्ण थियो। युवावस्थामा उनी एथेन्सको सेनामा हप्लाइट सिपाहीको रूपमा लडे। उनले पोटिडाया (४३२ ई.पू.), डेलियम (४२४ ई.पू.) र एम्फिपोलिस (४२२ ई.पू.) का युद्धहरूमा भाग लिए।
डेलियम युद्धमा उनले प्रसिद्ध सेनापति अल्सिबियाडेसको ज्यान बचाएका थिए र युद्धमा असाधारण साहस र सहनशीलता देखाए। यी युद्धहरूमा एथेन्स पराजित भए पनि सुकरातसको व्यक्तिगत बहादुरी चर्चित भयो।
युद्धपछि उनी पूर्ण रूपमा दर्शनतर्फ लागे। उनी मूर्तिकारको काम छोडेर सहरका युवाहरूसँग निःशुल्क छलफल गर्न थाले। यो उनको जीवनको उत्थानको समय थियो;एथेन्सका धनी र प्रभावशाली युवाहरू उनीसँग घुम्न थाले। तर यो नै उनको लागि चुनौती पनि बन्यो।
उनको जीवनमा ठूलो चडाव ४२३ ई.पू. मा आयो जब नाटककार एरिस्टोफेन्सले “द क्लाउडस्” नाटकमा उनलाई व्यंग्य गरे; दर्शनका नाममा युवालाई भ्रष्ट बनाउने व्यक्ति भनेर। पछि राजनीतिक अस्थिरता बढ्दै गयो। स्पार्टासँगको युद्धमा एथेन्स पराजित भएपछि “Thirty Tyrants” को निरंकुश शासन आयो, जससँग सुकरातका केही चिनजान थिए। लोकतन्त्र फर्किएपछि उनीमाथि शंका बढ्यो।
अन्ततः ७० वर्षको उमेरमा उनीमाथि युवालाई भ्रष्ट बनाएको र देवताहरूलाई नमानेको आरोप लाग्यो। यो उनको जीवनको सबैभन्दा ठूलो चढाव थियो। तर पनि उनी सत्य र सिद्धान्तबाट कहिल्यै विचलित भएनन्।
सुकरातको दर्शन
सुकरातको सबैभन्दा ठूलो विशेषता थियो; “मलाई एउटै कुरा थाहा छ– मलाई केही थाहा छैन” ।
उनी भन्थे, “The unexamined life is not worth living” अर्थात् जाँचबुझ नगरेको जीवन बाँच्न लायक छैन।
उनी विश्वास गर्थे कि गुण भनेको ज्ञान हो। कसैले जानाजानी गल्ती गर्दैन, गल्ती अज्ञानताबाट हुन्छ।
जीवनको मुख्य कर्तव्य भनेको आत्माको हेरचाह (Care of the Soul) हो। उनलाई एउटा आन्तरिक आवाज “डेमोनियन” ले गलत काम गर्नबाट रोक्ने गर्थ्यो भन्ने पनि किताबहरुमा भेटिन्छ। उनी देवताहरूले मानिसलाई राम्रो-नराम्रो छुट्याउने क्षमता दिएको ठान्थे।
सुकरातको विधि : अमर शैक्षिक योगदान
सुकरातले आफैं केही लेखेनन्। उनका विचार प्लेटोका संवादहरू (Dialogues), जेनोफोन को सम्झौता(Memorabilia)र एरिस्टोफेन्स को नाटक “द क्लाउडस्” बाट मात्र थाहा हुन्छ। तर उनको सबैभन्दा ठूलो योगदान हो`सुकरातिक विधि`।
यो विधिमा बारम्बार प्रश्न सोधेर अरूलाई आफ्नै अज्ञानता महसुस गराउने र सत्यतर्फ डोर्याउने गरिन्छ। आजको शिक्षा, कानून, विज्ञान र बहसमा यो विधि अझै व्यापक रूपमा प्रयोग हुन्छ।
सुकरात-पूर्व दार्शनिकहरूले प्रकृति र ब्रह्माण्डबारे सोच्थे भने सुकरातले मानव जीवन, नैतिकता र राम्रो जीवन कसरी बाँच्ने भन्नेमा ध्यान गरे।
कानूनी क्षेत्रमा सुकरातको प्रमुख योगदान
सुकरात(४७० देखि ३९९ ई.पू.) लाई स्वतन्त्र नैतिकताका पिता मानिन्छ। उनी दर्शनलाई भौतिक संसारबाट मानव जीवन, नैतिकता र आत्मातर्फ मोड्ने पहिलो दार्शनिक हुन्। उनले कानूनलाई शक्तिशालीको इच्छा वा सामाजिक सम्झौताभन्दा माथि उठाएर तर्क, नैतिकता र प्राकृतिक व्यवस्था सँग जोडे।
लिखित र अज्ञात (Unwritten) कानूनको भेद
सुकरातको सबैभन्दा ठूलो कानूनी योगदान हो; राज्यका लिखित कानून र देवताले बनाएका अज्ञात कानून बीच स्पष्ट विभाजन।
लिखित कानून समयसँगै बदलिन्छन्, तर अज्ञात कानून विश्वव्यापी, अमर र सबै देशमा लागू हुन्छन्। यिनको उल्लङ्घन गर्दा स्वतः सजाय हुन्छ।
उदाहरण : आमाबुबाको सम्मान, देवताको भक्ति। उनले भने;जुन कुरा सबै ठाउँमा सही मानिन्छ, त्यो नै प्राकृतिक कानून हो।
न्याय आत्माको आन्तरिक सदभाव
सुकरातका अनुसार न्याय बाहिरी नियम होइन, आत्माको स्वास्थ्य र सद्भाव हो। उनी भन्थे, “आत्माको हेरचाह गर”। गुण भनेको आत्माको सुन्दरता हो भने दुष्टता रोग हो। उनले “might is right” को तीव्र विरोध गरे र कानूनलाई तर्कसँग जोड्नुपर्ने बताए।
कानूनप्रतिको आज्ञापालनको विरोधाभास :
Apology (माफी)मा उनी सत्यका लागि साहसी विद्रोह गर्छन्; “म देवतालाई मान्छु, तिमीहरूलाई होइन”।
तर Crito मा जेलबाट भाग्न अस्वीकार गर्छन्। कारण : राज्यसँगको मौन सम्झौता (social contract) तोड्नु अन्याय हो।
कानूनलाई आमाबुबाजस्तै मानेर उनी भन्छन् ; “अन्याय सहनु राम्रो हो, तर अन्याय गर्नु कहिल्यै हुँदैन”।
सुकरातिक विधि र कानूनी शिक्षामा प्रभाव
उनको प्रश्न-प्रश्नबाट सत्य खोज्ने सुकरातिक विधिले आजको कानूनी शिक्षालाई प्रभावित गरेको छ। विश्वका धेरै कानूनका विध्यालयमा यो विधि अझै प्रयोग हुन्छ किनकि यसले आलोचनात्मक सोच, तर्कशक्ति र वकालत कौशल विकास गर्छ।
स्टोइसिज्ममाथि आधारभूत प्रभाव : सुकरातले ब्रह्माण्डमा तर्कसंगत आदेश छ र मानव तर्क ईश्वरीय तर्कको अंश हो भन्ने विचार दिए। यो तर्कले स्टोइक दार्शनिकहरूलाई प्राकृतिक कानूनको पूर्ण सिद्धान्त विकास गर्न मद्दत गर्यो।
सुकरातको मुद्दा र मृत्यु : सन् ३९९ ई.पू. मा सुकरातमाथि दुई मुख्य आरोप लाग्यो ; युवालाई भ्रष्ट बनाएको र राज्यका देवताहरूलाई नमानेर नयाँ देवता ल्याएको (impiety)। आरोपकर्ताहरू थिए, कवि Meletus, Anytus र Lycon.
यो मुद्दा राजनीतिक रूपमा तनावपूर्ण समयमा भएको थियो। एथेन्स स्पार्टासँगको युद्धमा पराजित भएको र Thirty Tyrants को निरंकुश शासनपछि लोकतन्त्र फर्किएको थियो।
सुकरातको बचाउ भाषण (Plato को Apology) मा उनी भन्छन्;“म एथेन्सलाई देवताको उपहार हुँ, किनकि म प्रश्न सोधेर मानिसहरूलाई जागृत गर्छु।”
जुरीले उनलाई दोषी ठहर्यायो। सजायको रूपमा उनी आफैंले प्रस्ताव गरे; राज्यले निःशुल्क खाना र बसोबास दिनुपर्छ। तर जुरीले मृत्युदण्डको पक्षमा मत दियो।
जेलमा साथीहरूले भाग्न प्रस्ताव गरे, तर क्रिटो संवादमा सुकरातले अस्वीकार गरे।
उनको तर्क थियो ;राज्यसँगको “सम्झौता” तोड्नु अन्याय हो। कानूनलाई माया गर्नुपर्छ, चाहे त्यो व्यक्तिगत रूपमा अन्यायपूर्ण किन नहोस्।
सुकरातको अमर विरासत
सुकरातले किताब लेखेनन्, तर प्लेटो मार्फत उनका विचार जीवित रहे। प्लेटो, अरस्तु हुँदै सम्पूर्ण पाश्चात्य दर्शनको उनी जग बने। कानूनमा उनले नैतिकता र कानूनलाई जोडे, सामाजिक सम्झौता (social contract) को प्रारम्भिक रूप प्रस्तुत गरे र “उच्च कानून” को अवधारणा दिए।
आजको युगमा सुकरात झन् सान्दर्भिक छन्। फेक न्यूज, अन्धविश्वास र सामाजिक सञ्जालको समयमा “प्रश्न गर्न सिक” भन्ने उनको सन्देशले आलोचनात्मक सोच विकास गर्न मद्दत गर्छ।
सुकरात मरे, तर उनका प्रश्नहरू अझै जीवित छन्। तपाईंले आफ्नो जीवन जाँच्नुभएको छ?
“अनएक्जामिन्ड लाइफ” बाँचिरहनुभएको छैन भन्ने निश्चित गर्नुहोस्। यो नै सुकरातको सबैभन्दा ठूलो उपहार हो; सधैं प्रश्न गर्न र सत्य खोज्न सिकाउने।
यो पनि-
ताजा अपडेट
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
१६ वैशाख २०८३फरार कैदी रुपन्देहीबाट पक्राउ
१६ वैशाख २०८३
