डीपी अर्यालको कमाण्डमा प्रतिनिधि सभा : कस्तो हुनुपर्छ सभामुख ?

२३ असार २०८३

डीपी अर्यालको कमाण्डमा प्रतिनिधि सभा : कस्तो हुनुपर्छ सभामुख ?

काठमाडौँ । पछिल्लो निर्वाचनमा बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका कार्यवाहक सभापति डीपी अर्याललाई प्रतिनिधि सभा (तल्लो सदन)को सभामुख बनाएको छ । सभामुख बनेसँगै अर्यालले अबका पाँच वर्ष प्रतिनिधि सभाको कमाण्ड सम्हाल्नेछन्‌ ।

नेपालको प्रतिनिधि सभा सभामुख पदलाई व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको सन्धिस्थल मानिन्छ । यो पद केवल बैठक सञ्चालन गर्ने औपचारिक भूमिका होइनस बरु संसद्को गरिमा, अनुशासन र लोकतान्त्रिक प्रक्रियाको रक्षकको रूपमा रहेको छ ।

सभामुख आफैँमा यस्तो पद हो – जसले ठूलो जिम्मेवारी र बहुआयामिक भूमिका निर्वाह गर्नुपर्छ । तसर्थ, ‘सभामुख कस्तो हुनुपर्छ ?’ भन्ने प्रश्नमा गम्भीर बहस हुन जरुरी छ । नेपालको संविधान २०७२ ले सभामुखलाई केवल बैठक सञ्चालन गर्ने व्यक्तिका रूपमा मात्र परिभाषित गरेको छैन । धारा ९१ ले सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया तोकेको छ भने धारा ९२ र ९३ ले भूमिकाको निरन्तरता र संस्थागत स्थायित्व सुनिश्चित गर्छन् ।

प्रतिनिधि सभा नियमावलीका अध्याय २ र ३ ले सभामुखलाई बैठक सञ्चालन, अनुशासन कायम, प्रस्तावको स्वीकार्यता निर्धारण, बहसको दिशा तय गर्ने लगायतका व्यापक अधिकार दिएका छन् । सदस्यको बोल्ने समय सीमित गर्नेदेखि अव्यवस्था हुँदा निलम्बन गर्नेसम्म, विधेयक अघि बढाउने वा रोक्ने निर्णयदेखि मत बराबरी हुँदा निर्णायक मत दिने अधिकारले सभामुखलाई अत्यन्त प्रभावशाली बनाउँछ । संयुक्त बैठकको अध्यक्षता पनि उनैले गर्छन् र विशेष अवस्थामा राष्ट्रपतिको केही कार्यभारसमेत सम्हाल्न सक्छन् ।

सभामुख अर्यालले सम्हाले कार्यभार

देशका पाँच प्रमुख पदमध्ये यो एक हो । तसर्थ सभामुख देशको ठूलो शक्ति धारक हुन् । उनी विवाद समाधान गर्न सक्ने नेता जस्तै हुनुपर्छ, उच्च नैतिकता बोकेको निर्विवाद व्यक्तित्व हुनुपर्छ र सभामुख जस्तो पदमा बस्ने मान्छे प्रभावशाली व्यक्तित्वको पनि हुनुपर्छ ।

शक्ति जति ठूलो हुन्छ, त्यसको दुरुपयोगको जोखिम पनि त्यति नै गहिरो हुन्छ । सभामुख पदमा बस्ने व्यक्ति पनि निष्पक्ष, कूटनीतिक र उच्च नैतिकताको हुनुपर्छ ।

विगतका तीतो अनुभव

नेपालमा आजसम्म मनोनयन भएका सभामुखहरूले राम्रो पक्षमा निष्पक्ष भएर काम गरेका थिए त रु विगतको अनुभव तीतो छ ।

नेपालको प्रतिनिधि सभाले हालसम्म १० सभामुख छानेको छ । तर, सभामुख पद सधैं विवादरहित रहेन । पदभार ग्रहण गरेका धेरै सभामुखहरूले आफ्नो कार्यकालमै गम्भीर आरोप र विवादमा फस्नुपरेको विगत छ । यस्ता घटनाले संसदीय गरिमा मात्र होइन, जनविश्वासमा समेत आँच पुर्याएको छ ।

तारानाथ रानाभाट सभामुख रहँदा वि.सं. २०५८ सालको नारायणहिटी दरबार हत्याकाण्डको उच्चस्तरीय छानबिन समितिमा सदस्य भए । समितिले ‘मादक पदार्थ सेवन गरेका युवराज दीपेन्द्रले परिवारका सदस्यहरूलाई गोली हानेर हत्या गरेको’ निष्कर्ष निकाले पनि उक्त रिपोर्टलाई जनस्तरबाट अस्वीकार गरियो ।

छानबिन समितिको प्रतिवेदनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा रानाभाटले हत्याकाण्डबारे दिएको अभिव्यक्ति जनस्तरसम्म आलोच्य भयो । रानाभाट सम्मिलित उक्त छानबिन समितिको प्रतिवेदनमाथिको विवाद अझै पनि राजनीतिक र सामाजिक बहसको विषय बन्ने गरेको छ ।

कृष्णबहादुर महरा सभामुख पदमा रहँदा २०७६ असोजमा संसद् सचिवालयकी एक कर्मचारीले उनलाई ‘मातेर घरमा लगी बलात्कार प्रयास गरेको’ आरोप लगाइन् । उक्त आरोपपछि महराले तत्काल राजीनामा दिए र पक्राउ परे । २०७६ फागुनमा अदालतले उनी निर्दोष ठहर गरे पनि यो घटनाले संसदीय इतिहासमा कालो धब्बा छोड्यो । पछि २०८२ मा उनलाई सुन तस्करी र संगठित अपराधमा समेत पक्राउ गरियो ।

सभामुख बन्नुअघि नै माओवादी द्वन्द्वकालीन अर्जुन लामा हत्या प्रकरणमा अग्नि सापकोटाको नाम जोडिएको थियो । सभामुख रहँदा सूचना दिनुपर्ने विषयमा पर्याप्त जानकारी नदिएको र पारदर्शिता नदेखाएको भन्दै उनी आलोचना भए । तत्कालीन नेकपा र नेकपा (एमाले) लगायत पार्टी विभाजन हुँदा उनले पक्षधरता देखाएको आरोप लाग्यो ।

सुभाष नेम्बाङ पनि सभामुख र संविधानसभा अध्यक्षको भूमिकामा रहँदा केही हदसम्म आलोचित भए । उनीमाथि संसद् बैठक प्रभावकारी बनाउन नसकेको, विधेयकहरू पास गर्न ढिलासुस्ती गरेको र सदनलाई जिम्मेवार बनाउन नसकेको भन्दै आलोचना भयो ।

ओनसरी घर्ती मगर नेपालकी पहिलो महिला सभामुख थिइन् । तर २०७३ मा सदनमा ‘घरेलु ऋण उठाउने विधेयक’ सम्बन्धी प्रस्ताव अस्वीकृत भएको घोषणा गर्दा गल्ती भएको र सदनमा भ्रम सिर्जना गरेको घटना चर्चामा रह्यो । केही दलहरूले उनलाई आफ्नो पार्टीप्रति पक्षपाती भएको आरोप पनि लगाएका थिए ।

निवर्तमान सभामुख देवराज घिमिरे पनि विवादबाट मुक्त रहेनन् । उनीमाथि जनमत पार्टीसँग ‘जातिवादी र भेदभावपूर्ण’ व्यवहार गरेको आरोप लाग्यो । रास्वपा सांसदहरूलाई बोल्ने मौका नदिएको, संसद्‌को रेकर्डमा पार्टीनिकट सांसद्‌ले १० वर्षे सशस्त्र सङ्घर्षबारे प्रयोग गरेको विवादित ‘हिंसा’ शब्द राख्न दिएको र केही सांसदहरूको अभिव्यक्ति रेकर्डबाट हटाउने निर्णय गरेका कारण प्रतिपक्षी दलहरूले उनको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्ने गरेका थिए ।

रामचन्द्र पौडेलसँग जोडिएको गोल्छे प्रकरणले पनि संसदीय मर्यादा माथि प्रश्न उठायो । सांसद गोल्छे सार्कीले तत्कालीन गृहमन्त्री पौडेललाई सदनमै जुत्ता हानेको घटना संसदीय इतिहासमा दुर्लभ र निन्दनीय मानिन्छ ।

यी घटनाहरूले सभामुख पदलाई निष्पक्ष, पारदर्शी र गरिमापूर्ण बनाउन अझै चुनौती बाँकी रहेको देखाउँछन् । विगतका यस्ता तीतो अनुभवबाट सिकेर वर्तमान सभामुख अर्यालले सदनको गरिमा र जनविश्वास कायम राख्न सक्ने अपेक्षा गरिएको छ ।

विरोधबीच निर्विरोध अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डोलप्रसाद अर्याल, काठमाडौं–९ बाट निर्वाचित सांसद, नेपालको १०औँ सभामुख पदमा एकल उम्मेदवार रहे । मनोनयन दर्ताको समय सकिँदासम्म अन्य कुनै दाबी नआएकाले उनी निर्विरोध निर्वाचित भए ।

सतहमा यो प्रक्रिया सहज र स्थिर देखिए पनि यसले एउटा गहिरो प्रश्न उजागर गरेको छ : के उनी सत्तारुढ दलको प्रतिनिधि भएर पार्टीको स्वार्थ जोगाउने व्यक्ति हुन् या संसद्को निष्पक्ष ‘रेफ्री’ जसले लोकतान्त्रिक प्रक्रियालाई जोगाउँछ ?

डीपी अर्याल पदमा पुगेपछि अब कुनै दलको प्रतिनिधि रहेनन्‌ । उनी अब २७५ सांसद र करिब दुई करोड ९० लाख नेपालीको साझा आवाज बन्न सक्नुपर्छ । उनको स्वाभाव निष्पक्ष खालको हुनुपर्छ, संयम नगुमाइ काम गर्ने खालको, ज्ञान र सन्तुलन कायम राख्न सक्ने खालको, संसद्मा अनुशासन कायम गर्ने खालको हुन अत्यन्त जरुरी छ ।

डीपी अर्याल राष्ट्रिय स्वतन्त्र पार्टीको सुरुवाती संस्थापनदेखि नै आएका व्यक्ति हुन् । जेन-जी आन्दोलनको बेला रास्वपा सभापति रवि लामिछाने जेलबाट निस्किँदा उनी नख्खु जेलमा पुगेको तस्बिर सामाजिक सञ्जालमा देखिएका थिए । उनी श्रममन्त्री भएका बेला म्यानपावर व्यवसायी भएकाले स्वार्थ मुछिने मन्त्रालय सम्हालेको भन्दै आलोचित थिए । यस्ता प्रश्नले अब उनलाई सधैं पछ्याइरहनेछन् । अबको परीक्षामा अर्याल कति अब्बल निस्कन्छन्‌, त्यो समयले नै बताउला ।

संविधानअनुसार सदन विघटन भए पनि नयाँ निर्वाचन नभएसम्म सभामुख पद कायम रहन्छ । यसले संस्थागत स्थिरता दिन्छ, तर सँगै दीर्घकालीन जिम्मेवारी पनि थप्छ । लामो समयसम्म पदमा रहँदा निष्पक्षता कायम राख्नु झन् कठिन परीक्षा बन्न सक्छ । सभामुखको कुर्सीमा बस्ने व्यक्तिले एउटा आधारभूत सत्य बुझ्नैपर्छ – यो पद दलको होइन, संसद्को हो ।

अहिलेको प्रतिनिधि सभा युवा ऊर्जा र परिवर्तनको अपेक्षाले भरिएको छ । बालेन शाह नेतृत्वको सरकारले उठाएको ‘परिवर्तन’को नारालाई सार्थक बनाउन सभामुखको भूमिका निर्णायक हुनेछ । शक्ति दुरुपयोगको साधन बन्यो भने चाहिँ संसद् कमजोर हुन्छ ।

तर यदि यही शक्ति निष्पक्षता, दृढता र जिम्मेवारीका साथ प्रयोग भयो भने संसद् विश्वासयोग्य बन्छ । त्यसैले सभामुखको चयन केवल एक औपचारिक प्रक्रिया होइन । यो लोकतन्त्रको अभ्यास कस्तो हुनेछ भन्ने दिशाको स्पष्ट संकेत हो । नयाँ संसद्ले नयाँ अभ्यास खोजिरहेको छ ।

सभामुख पदले अब डीपी अर्याललाई ठूलो अवसर र चुनौती दुवै दिएको छ । विगतका तीतो अनुभवबाट सिक्दै उनी निष्पक्ष, कूटनीतिक र उच्च नैतिकतायुक्त सभामुख बन्न सक्छन् भने नेपालको संसदीय इतिहासमा नयाँ अध्याय थपिनेछ । अन्यथा, विगतकै दोहोरिनेछ । समयले परीक्षा लिइरहेको छ ।

आजकाे संसद्‌ बैठक Live –

सम्बन्धित खवर

अदालतमा आज – मधेसका पूर्वमन्त्रीविरुद्ध मुद्दा, अभियन्ता केसी हिरासतमा, कर अधिकृत पक्राउ

अदालतमा आज – मधेसका पूर्वमन्त्रीविरुद्ध मुद्दा, अभियन्ता केसी हिरासतमा, कर अधिकृत पक्राउ

काठमाडौँ । पछिल्लो समय विभिन्न तहका न्यायालयहरु मुद्दामामिलाको छिनोफानोमा सक्रिय बनेका छन् । अर्कोतर्फ...

प्रहरीले अनुसन्धान रोक्दा रुबीले सरकारलाई झुकाइन्‌, पाँचबुँदे सहमति

काठमाडौँ । अपहरणपछि हत्या भएको भनिएको बाँकेकी निर्मला कुर्मी प्रकरणमा न्याय माग्दै अनसन बसेकी...

संविधान नै उल्लङ्घन हुनेगरी प्रधानमन्त्री बालेनले दिएका त्यो अभिव्यक्ति

संविधान नै उल्लङ्घन हुनेगरी प्रधानमन्त्री बालेनले दिएका त्यो अभिव्यक्ति

काठमाडौँ । नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा नेपाल-भारत सीमा मामिलामा दिएको अभिव्यक्तिले ठूलो...

उपाधि नै नलिई डा. लेख्नेविरुद्ध मु्द्दा चलाउँदै काउन्सिल

उपाधि नै नलिई डा. लेख्नेविरुद्ध मु्द्दा चलाउँदै काउन्सिल

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले नक्कली डाक्टरमाथि कानून कारबाही हुने चेतावनी दिएको छ । शून्य...