काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा नराखी थुनाबाहिरबाटै अनुसन्धान गर्न जिल्ला अदालत भक्तपुरले आदेश दिएको छ ।
सोमबार अदालतले प्रहरीले मागेको हिरासत अनुमति अस्वीकार गर्दै प्रसाईंलाई थुनाबाहिर राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।
प्रसाईंलाई आइतबार राति पक्राउ गरिएको थियो । प्रहरीले उनीविरुद्ध राज्यविरुद्धको कसुरसहित तीन वटा मुद्दामा अनुसन्धानका लागि सात दिनको म्याद मागेको थियो ।
अदालतले हिरासतमा राख्ने अनुमति नदिए पनि अनुसन्धान प्रक्रिया भने जारी रहने जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । परिसरका प्रहरी उपरीक्षक सूर्य खड्काका अनुसार अदालतको आदेशअनुसार प्रसाईंमाथिको अनुसन्धान थुनाबाहिरबाटै अघि बढाइनेछ ।

