केही दिन अगाडि सम्मानित अदालतले एउटा निर्णय गरेको छ, जो नेपाली कांग्रेस पार्टीसँग सम्बिन्धत छ । यसबा बारेमा मलाई साथीहरुले के कुरा सोध्नुहुन्छ भने अब के गर्नुपर्छ, के गर्ने हो भनेर सोध्नुभएको छ ।
मैले साथीहरुलाई बताएको कुरा फेरि यहाँ बताउँछु । नेपाली कांग्रेसको विधानको व्यवस्था अनुसार हामीले विशेष महाधिवेशन सम्पन्न गर्यौँ । त्यो विधानसम्मत थियो, आवश्यक थियो । औचित्यपूर्ण थियो । अधिवेशन सम्पन्न गर्यौं, अधिवेशनले एउटा निष्कर्ष सुनायो । त्यो निष्कर्ष लिएर निर्वाचन आयोगमा गयौं । निर्वाचन आयोगले नेपालको प्रचलित निर्वाचन कानून अनुसार पार्टीको अधिवेशनले ल्याएको परिणाम उहाँहरुले लिनुभयो । त्यही अनुसारले अद्यावधिक गर्नुभयो, सकियो । त्यहाँबाट हामीले नेपाली कांग्रेस पार्टीको नयाँ जिम्मेवारी अनुसार काम गर्न थाल्यौं ।
पार्टीका केही साथीहरुले यो विषयमा चित्त बुझाउनुभएन । निर्वाचन आयोगमा आफ्नो असहमति राख्नुभयो । निर्वाचन आयोगले सुन्यो र विशेष महाधिवेशन नै ठीक हो भन्ने उसले एउटा निर्क्योल दियो । त्यहाँ पनि चित्त नबुझाएर सम्मानित अदालत जानुभयो । सम्मानित अदालतको पनि डिभिजन बेञ्चले यो नै ठीक हो भनेर निर्णय गर्यो । हामी अदालत गएको होइन, हामी त महाधिवशेनको हलले नै ठीक गर्यो भनेर आएको हो । अदालतले यसका बारेमा पनि केही कुराहरु बोल्यो । निर्णय गर्यो, यो नै ठीक हो भन्यो, सकियो ।
यसमा पनि चित्त नबुझेर पार्टीका केही साथीहरु सम्मानित अदालत जानुभयो । र, अदालतले यसमा केही कुराहरु आदेश गरेको छ । एकपटक फेरि निर्वाचन आयोगले गरेको निर्णय जे हो त्यही नै छ । निर्वाचन आयोगले गरेको निर्णयमाथि जुन प्रश्नहरु उठेका छन्, ती प्रश्नहरुमाथि एकपटक फेरि छलफल होस् भन्ने चाहना भएकाले गर्दा फेरि यो सम्मानित अदालतको विषय बन्यो ।
अब के गर्ने भन्ने हो ? अब सानका साथ अदालत जाने । सानका साथ त्यसको डिफेन्स गर्ने । हिजो विशेष महाधिवशेन भएको कुरा त्यो हलमा सत्य । निर्वाचन आयोगमा सत्य । अदालतमा अस्ति एकपटक सत्य भएको कुरा अहिले पनि सत्य नै हुन्छ । हिजो पनि ठीक थियो, आज पनि ठीक छ ।
यो पनि-
केही केही साथीहरु अहिले मलाई के भन्नुहुन्छ भने सम्मानित अदालतको पछिल्लो निर्णयका बारेमा सरकारको फलानो मान्छेले यसो भनेको थियो, फलानोले फलानो ठाउँमा यो कुरा गरेको थियो भनेर विभिन्न सूचनाहरुका बारेमा मलाई बताउनुहुन्छ । अनि मैले उहाँहरुलाई भन्छु, तपाईहरुलाई भएका त्यस्ता सूचनाहरु मलाई पनि त होला । तर, कहिलेकाहीँ सूचनाहरु थाहा पाएता पनि समयलाई छाडिदिनुपर्छ । किनकि पात्रहरुको कुरा या व्यक्तिको कारणले गर्दा संस्थाहरुमाथि प्रश्न गर्नुहुँदैन । यसले संस्थाहरुमाथिको विश्वास घटाउँछ ।
पञ्चायतकालमा पनि न्यायालयमाथि विश्वास गरेर जानुभएको बीपी कोइरालाको पार्टीका कार्यकर्ता हौं हामी । यो हाम्रो पार्टीभित्रको आन्तरिक विषय हो । हामीले सम्मानित अदालतमाथि विश्वास राख्नुपर्छ । राख्छौं ।
यसका राजनीतिक पक्षहरुका बारेमा समयक्रममा ती कुराहरु खुल्दै गइहाल्छन् नि, नेपाल कत्रो छ ? खुल्दै जान्छ । खुल्दै जाओस् । समयलाई छाडिदिऔं । अहिले त्यहाँ विश्वास राख्ने हो । र, जहिले समय आउँछ, जहिले अदालतले बोलाउँछ, त्यतिबेला हामीहरु जाने हो । र, सानका साथ आफ्ना कुराहरु डिफेन्स गर्ने हो । तर, त्यो भन्दा बढी साथीहरुमाथि राख्ने हो । आफ्नै साथीहरुमाथि विश्वास राख्ने हो । कति साथीहरु हुनुहुन्छ, कति सुभेच्छुकहरु हुनुहुन्छ । हिजो विशेष महाधिवेशनमा सहभागी नहुनुभएका साथीहरुको ठूलो तह र तप्का अहिले विशेष महाधिवेशनपछि आएको नेतृत्वलाई साथ दिनुपर्छ भनेर आउनुभएको छ ।
(कांग्रेस सभापति गगन थापाले आइतबार सानेपामा आयोजित केन्द्रीय कार्यसमिति बैठकमा गरेको सम्वोधनको अंश)
यो पनि-

