कसले चोर्‍यो लिपुलेक कालापानीको प्रमाण ?

JUS NEPAL

१२ कार्तिक २०८२

कसले चोर्‍यो लिपुलेक कालापानीको प्रमाण ?

काठमाडौं । भारतबाट अतिक्रमित नेपालको भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीको मुख्य प्रमाणका रुपमा रहेको फारसी भाषाको ऐतिहासिक नक्सा चोरी भएको पूर्वमहान्यायाधिवक्ता डा. युवराज संग्रौलाले बताएका छन् । उक्त महत्वपूर्ण नक्सा सर्वोच्च अदालतमा आइपुगेपछि गायब भएको उनको भनाइ छ ।

अन्तरराष्ट्रिय कानूनका ज्ञातासमेत रहेका संग्रौलाले जस नेपालसँगको विशेष कुराकानीमा भने, ‘यो प्रमाण, कहाँ र किन गायव गरियो ? कुन–कुन नक्साविदहरु यसमा संलग्न छन् ?’

सर्वोच्च अदालतमा आफूले उक्त नक्सा देखेको बताउँदै संग्रौला भन्छन्, ‘उर्दू अक्षर भएको त्यही नक्साका आधारमा जंगबहादुर राणाले जंगे पिल्लर गाड्न शुरु गरेको भनेर कुरा उठेको थियो । त्यो नक्सा अदालतले मगायो । त्यो नक्सा मगाउनुहुँदैनथ्यो । नक्सा सर्वोच्च अदालतमा ल्याइनु चोरीका लागि योजना थियो ।’

नेपालको पुरानो नक्साबारे जानकारी दिँदै उनी भन्छन्, ‘बेञ्चमा त्यतिबेला नक्सा खोलेर हेरेका बेला मैले न्यायाधीशको अनुमति लिएर हेरेको थिएँ । फारसी भाषामा थियो ।’

अन्तर्राष्ट्रिय कानूनअनुसार अब नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीको जमिन प्राप्त गर्ने उपाय के छ ? नेपालले आफ्नो चुच्चे नक्सामा समेटिसकेको भूमि फिर्ता ल्याउने कुनै बैधानिक बाटो छ कि छैन ? सर्वोच्च अदालतमा मुद्दा हालेर झिकाइएको नेपालको ऐतिहासिक नक्सा कसरी गायब भयो ? यसबारे पूर्वन्यायाधिवक्ताको वर्णन सुनौं–

त्यसबेला म राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको टास्क फोर्समा थिएँ । त्यहाँ एकजना सेनाका जर्नेल आए । यसको डकुमेन्टहरु बाहिर त राख्नै भएन, परराष्ट्र मन्त्रालयमा खोजेका डकुमेन्टहरु त्यहीँबाट पो गायव हुने हुन् कि ? त्यसो हुनाले हामीलाई एउटा बेग्लै अफिस चाहियो, यही विश्वविद्यालयको एउटा कोठा पाए हुन्थ्यो भने । त्यसपछि हामीले त्यतिबेलाका जर्साब पूर्णचन्द्र थापालाई भनेर आर्मीको हेडक्वार्टरभित्रै कतै एउटा कोठा दिइएको थियो । डकुमेन्टहरु चाहिँ त्यहाँ राखौं भन्ने थियो ।

त्यहीबेला अचानक सर्वोच्च अदालतमा मुद्दा पर्‍यो । वकिल रामजी विष्टले मुद्दा हाले । त्यो मुद्दामा सर्वोच्चले कारण देखाऊ आदेश जारी गर्‍यो । त्यो मुद्दाको आधार सुवास घिसिङले दार्जीलिङ र उत्तराखण्ड जोड्नुपर्छ, जुन नेपाल हो भने भन्ने आधारबाट उठेको थियो । यसमा अदालतले कारण देखाऊ आदेश गर्‍यो ।

यो देश जोड्ने विषय सर्वोच्चको क्षेत्राधिकार हो कि होइन ? त्यहाँ १९५० को सन्धि खारेजीको प्रश्न पनि उठ्यो, यो सर्वोच्चले गर्न सक्ने कुरा हो ? यो त कूटनीतिक हो । त्यसर्थ, मैले यो मुद्दामा सहभागी हुन उचित ठानिनँ । तर, पछि एमिकस बोलाउने भए । म एमिकसमा पनि जान्नँ भनें । तर, सर्वोच्चमा भएको बहसचाहिँ मैले गएर सुनें ।

त्यतिबेला एउटा नाजायज आदेश भयो । यो खतरनाक मुद्दाको खेल के रहेछ भन्ने कुरा मैले त्यही दिन नोटिस गरें । मैले भन्न सक्नेजति, झलनाथ खनाल, वामदेव गौतम, लक्ष्मण घिमिरे, सबै पार्टीका मान्छेहरुलाई मैले त्यतिबेला खुसखुस गरेको छु । किशोर श्रेष्ठदेखि दिएर धेरै पत्रकारहरुलाई पनि यो नाजायज कार्य भयो, देशका लागि ठूलो घात हुने भयो भनेको छु ।

सन् १९५० सन्धीको सन्दर्भमा कुरा गर्दा सन् १८५६ या १८५४ मा फारसी भाषामा छापिएको एउटा सक्कल नक्सा थियो । उर्दू अक्षर भएको त्यो नक्साका आधारमा सीमाना कायम हुनुपर्छ भनेर जंगबहादुर राणाले जंगे पिल्लर गाड्न शुरु गरेको भनेर कहीँ कतै कुरा उठेको थियो । त्यो नक्सा अदालतमा बहसको क्रममा उठ्यो । अदालतले त्यो नक्सा मगायो । त्यो नक्सा मगाउनुहुँदैनथ्यो । त्यो नक्सा सर्वोच्च अदालतमा ल्याइनु चोरीका लागि योजना थियो ।

मैले यो कुरा धेरैलाई भनें । कृष्णजंग रायमाझीलाई पनि भनें । श्रीमान् यो नक्सा आउनुहुँदैन है भनेर । अदालतमा आयो । नक्साका बारेमा छलफल भयो ।

मैले बेञ्चमा त्यतिबेला नक्सा खोलेर हेरेका बेला न्यायाधीशको अनुमति लिएर हेरेको थिएँ । फारसी भाषामा थियो । त्यो मुद्दा पछि खारेज भयो । बेञ्चमा फायल गयो । सरकारी वकिलले त्यो फायल लिएर आएका थिए । त्यो सरकारी वकिलमार्फत् सरकारमा जानुपथ्र्याे । फाँटमा गयो, सिद्धियो ।

पछि म महान्यायधिवक्ता हुँदाखेरि परराष्ट्र मन्त्रालय हो वा रक्षा मन्त्रालय वा राष्ट्रिय अभिलेखालय कहीँबाट एउटा पत्र आयो, जसमा त्यो ‘नक्साको फायल फिर्ता गरिदिनुहुन’ भनिएको थियो । म त चकित परें । १०÷१२ वर्ष अगाडिको कुरो । अहिलेसम्म कहाँ थियो त यो ?

त्यो मुद्दा कसले बहस गरेको थियो भनेर सोधें । त्यसको लिड राजनारायण पाठकले गर्नुभएको थियो भने । मैले तुरुन्तै राजनारायणलाई बोलाएर सोधें, यो पत्र के हो ? त्यो फायल किन नगएको ?

उहाँले अदालतमा बुझ्नुहोस् भन्दा महान्यायधिवक्ताको कार्यालयमा फायल गइसकेको छ भन्ने जवाफ आयो । महान्यायधिवक्ताको कार्यालयबाट पहिल्यै फिर्ता गइसकेको छ भनियो । यहाँभन्दा बढि मैले गर्ने केही पनि थिएन । त्यो फारसी नक्सा हरायो ।

त्यहीबेला प्रतिरक्षा विश्व विद्यालयभित्र पुराना साथीहरुसँगको एउटा छलफलका क्रममा कुनै एकजना महारथीले भने, तिब्बतियन खम्पा युद्धमा वाङदीलाई पश्चिममा मारेपछि वाङदीको कोठा खानतलासी गर्दा एक लाख रुपैयाँ भारु, एउटा पोस्तोल र एउटा नक्सा फेला परेको थियो ।

त्यो नक्सा फारसीमा थियो । भनेपछि, नक्साको अर्को कपी त्यहाँ रहेछ । शायद तिब्बेतियनहरुसँग थियो या भारतबाट ल्याइएको थियो । त्यो नक्सा सुरक्षित गर्ने भनेर मिल्ट्री हेडक्वार्टरमा पठाइदिनू भनेर मिल्ट्री हेडक्वार्टरमा पठाइदिएको थियो । एक लाख डलर अर्थ मन्त्रालयमा आम्दानी बाँध्नू भनेर पठाइदिएको र पेस्तोल पनि आर्मीकहाँ पठाइदिएको थियो । त्यसर्थ, त्यो नक्सा आर्मीसँग हुन सक्छ भनेर टिमभित्रका जर्नेलबाट बताइएको कुरो मलाई थाहा छ । यो प्रमाण, कहाँ र किन गायव गरियो ? कुन–कुन नक्साविदहरु यसमा संलग्न छन् ?

हेर्नुहोस् अन्तर्वार्ता-

 

लिपुलेकमा भारत हार्छ, भोगले सार्वभौमिकता सर्दैन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

गोमन सर्पलाई प्रेम गर्ने प्रेमकुमार !

गोमन सर्पलाई प्रेम गर्ने प्रेमकुमार !

काठमाडौं । नेपाल सरकारले ०७५ साल अघिसम्म सर्प पाल्ने अनुमति दिएको थिएन । ०७६...

तस्बिरले तपाईंलाई विचलित पार्न सक्छ !

तस्बिरले तपाईंलाई विचलित पार्न सक्छ !

काठमाडौं । हामीले सानैदेखि सुन्दै आएका छौँ प्रतिक्षाको फल मीठो हुन्छ । तर, समयका...

विश्वका प्रमुख निर्वाचन प्रणाली र नेपालको अभ्यास

विश्वका प्रमुख निर्वाचन प्रणाली र नेपालको अभ्यास

काठमाडौं । लोकतान्त्रिक शासन प्रणालीको मूल आत्मा नै निर्वाचन हो। नागरिकले मतमार्फत शासनमा भाग...

बालेन र हर्कभन्दा ‘बाङ्गो’ मान्छे !

बालेन र हर्कभन्दा ‘बाङ्गो’ मान्छे !

काठमाडौं । इतिहासले कहिलेकाहिँ यस्ता पात्र जन्माउँछ, उनीहरु शुरुमा समाजका लागि स्वीकार्य हुँदैनन् ।...