नेपाललाई विश्वमा सानो, गरीब र पिछडिएको देश भनिता पनि केही वौद्धिक व्यक्तिहरुको अन्तरराष्ट्रिय उचाइले देशको स्वाभिमान नाप्छ । गौतमबुद्ध जन्माउने देशका रुपमा चिनिएको नेपालले विश्वस्तरीय प्रतिस्पर्धामा उभिन सक्ने आधुनिक वौद्धिकहरु पनि बेलाबखत जन्माउने गरेको छ । तिनैमध्ये एकमा पर्छन् –प्राध्यापक डाक्टर कटक मल्ल ।
यहाँ हामीले कटक मल्लद्वारा लिखित पुस्तक ‘न्याय–अन्याय : कानून, भू–राजनीति र कूटनीति’ का बारेमा छोटो चर्चा गर्न लागेका छौं । तर, त्यसअघि पुस्तकका लेखक कटक मल्ल को हुन्, यसबारे छोटो चर्चा गरौं ।
नेपाली भूमिमा सामान्य परिवारमा जन्मिएर विद्यार्थी कालमा केही समय प्रजातान्त्रिक आन्दोलनमा सक्रिय बनेका मल्ल अन्ततः कानूनको अध्ययनमा लागे । प्राडा सूर्य सुवेदीले कानूनको उच्च शिक्षका लागि बेलायत रोजेजस्तै कटक मल्लले यूरोपको स्वीडेनलाई आफ्नो कर्मथलो बनाए र त्यहीँ लामो समय कानून पढाउने प्रोफेसर बने ।
‘न्याय–अन्याय’ पुस्तकको पछिल्लो कभरमा लेखक कटक मल्लको परिचय यसरी दिइएको छ–

कटक मल्ल स्टकहोम युनिभर्सिटी (स्वीडेन) को ‘स्टकहोम सेन्टर फर इन्टरनेशन ल एन्ड जस्टिस’का सिनियर फेलो हुन् । स्टकहोम युनिभर्सिटीबाट स्वीडिस कानूनमा डिप्लोमा, अन्तर्राष्ट्रिय र वातावरणीय कानूनमा एलएलएम र एलएलडी गरेका डा. मल्लले स्वीडेनको स्टकहोम विश्वविद्यालय, काल्स्टा विश्वविद्यालय र उमियो विश्वविद्यालयमा विगत ३० वर्षदेखि अन्तर्राष्ट्रिय वातावरणीय कानून, मानवअधिकार, स्वीडिस संविधान, आप्रवास कानून र दीगोपना विषयमा प्राध्यापन गरेका छन् ।
त्यसअघि प्राध्यापक मल्लले नेपाल ल क्याम्पसमा समेत ८ वर्ष अध्यापन गरेका थिए । नेपालमा बहुदलीय प्रजातन्त्रको पुनर्वहाली र मानवअधिकार अभियानमा समेत सक्रिय रहेका मल्लका अन्तर्राष्ट्रिय जर्नलहरूमा दर्जनौं समकक्षी समीक्षा (पियर रिभ्यू) लेख प्रकाशित छन् ।
उनको विद्यावारिधि शोधपत्र चिनियाँ भाषामा समेत प्रकाशित छ । ‘मानवअधिकार’ नेपालबाट प्रकाशित उनको पहिलो किताब हो ।
मल्ल एक सार्वजनिक बौद्धिक (पब्लिक इन्टेलेक्च्युअल) व्यक्तित्वका रूपमा स्थापित छन् ।
मल्लले नेपालका बौद्धिकहरुलाई भित्री बौद्धिक र सार्वजनिक वौद्धिकका रुपमा वर्गीकरण गर्दै आएका छन्, जुन प्रशंग ‘न्याय– अन्याय’ पुस्तकमा पनि पढ्न पाइन्छ ।
न्याय– अन्याय
कटक मल्लको किताब ‘न्याय–अन्याय’ पुस्तक कानूनका विद्यार्थीहरुका लागि पठनीय छ । पुस्तकमा कानूनका साथै राजनीति, कूटनीति र पर्यावरणको समेत चर्चा गरिएको हुनाले सबैका लागि यो किताब उपयोगी हुन सक्छ । स्वीडेनमा शिक्षा प्रणाली कस्तो छ, बालवालिकाहरुलाई कसरी हुर्काइन्छ, राज्सले सामाजिक सुरक्षाको प्रवन्ध कसरी गरेको छ भन्नेजस्ता विषयहरु पनि पुस्तकमा समेटिएका छन्, जसले नेपाल र नेपालीलाई केही न केही मद्दत पुर्याउने देखिन्छ ।
कानूनका विद्यार्थीहरुको हकमा पु्स्तकको सबैभन्दा रमाइलो पक्ष भनेको कानून र न्यायको अवधारणाका बारेमा मल्लले विधिशास्त्रीय विश्लेषणहरु गरेका छन्, जुन निकै रोचक छ ।
पुस्तकको प्रारम्भमै कानून र समाज, कानून र राजनीति आदि उपशीर्षकहरु छन् । साहित्य, राजनीति र कानूनको सन्दर्भ पनि केलाइएको छ । पढ्ने विधिहरु र कानूनी संस्कृतिका बारेमा पनि लेखकले पुस्तकको पहिलो अध्यायमा चर्चा गरेका छन् ।
दोस्रो अध्यायमा ‘कानून’ बारे चर्चा गरिएको छ । जनसाधारणले कानूनलाई कसरी बुझ्छन् भन्ने पनि लेखकले चर्चा गरेका छन् । नेपालमा न्यायपालिकाको पुनःसंरचना हुनुपर्ने मल्लको प्रस्ताव रहेको छ ।
यस अध्यायमा रहेको महत्पूर्ण अवधारणा हो– ‘पीडित राहतशास्त्र’ । नेपालको संविधान र कानूनमा पीडितलाई क्षतिपूर्तिको प्रबन्ध गर्ने प्रणालीको अवधारणा भित्र्याउने विद्वानका रुपमा पनि मल्ललाई नै लिने गरिन्छ । कानून पीडितमैत्री हुनुपर्छ भन्ने लेखकको विचार छ ।
न्याय के हो र यसको औचित्य एवं आधारहरु के–के हुन् भन्ने पनि लेखकले चर्चा गरेका छन् । साथै मानवअधिकारको क्षेत्रमा पनि काम गरेका मल्लले मानवअधिकारको अवधारणाका विषयमा पनि पुस्तकमा चर्चा गरेका छन् ।

त्यसपछि लेखक राजनीतिक विषयमा प्रवेश गर्छन् । लोकतन्त्रको सन्दर्भमा दलहरुको भूमिका अनि वैकल्पिक राजनीतिको भविष्यदेखि लिएर महेन्द्र र वीपी मिलेको भए के हुन्थ्यो ? भन्नेसम्मका ‘हाइपोथेटिकल’ चर्चा समेत मल्लको पुस्तकमा छ । उनी पहिचानको राजनीतिमा पनि प्रवेश गरेका छन् ।
कान्तिपुर लगायतका नेपाली मिडियामा बेलाबखत समसामयिक लेखहरु समेत लेख्दै आएका मल्लले ‘न्याय–अन्याय’ पुस्तकमा एमसीसी र बीआरआईबा बारेमा पनि बोलेका छन् । एमसीसी सम्झौताबारे उनले ‘भ्रम निमिट्यान्न पार्ने नाममा नयाँ भ्रम’ शीर्षकमा चर्चा गरेका छन् ।
यहाँ पुस्तकको समीक्षा गर्न खोजिएको होइन, पुस्तक परिचय मात्र प्रस्तुत गरिएको हो । यो किताब कानूनका विद्यार्थीलाई त उपयोगी छ नै, अहिलेको बालेन सरकारका मन्त्री र नेताहरुले पनि पढ्न आवश्यक छ । पुस्तकमा मल्ले ‘गरीब र बेरोजगारहरुलाई राज्यले किन तलब दिने ?’ भन्ने चर्चा गरेका छन् । स्वीडेनमा जनस्वास्थ्यसम्बन्धी सरकारी नीति कस्तो छ भन्ने पनि चर्चा गरेका छन् । यसले सुकुमबासीहरुसँथ जुधिरहेको बालेन सरकालाई केही वौद्धिक खुराकसमेत मिल्ने देखिन्छ ।
इन्डिगो इन्कद्वारा प्रकाशित करिब ४ सय पृष्ठको किताबको मूल्य ९९९ रुपैयाँ रहेको छ ।
यो पनि-
पूर्वन्यायाधीश कुलबहादुरको महाप्रस्थान : वकील, अदालत र प्रजातन्त्रमाथि प्रश्न
कानूनका विद्यार्थी र वकीलका लागि विधिशास्त्रका उत्कृष्ट किताब
ताजा अपडेट
संविधान संशोधन गरेर व्यवस्था फेरिँदैन
२७ असार २०८३संविधान संशोधनको प्रक्रियामाथि गम्भीर प्रश्न
२७ असार २०८३
