काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी (कुर्मी) र तत्कालीन एमआईएस अपरेटर सुरेश कहारविरुद्ध ५ लाख रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार गाउँपालिकामा जागिर लगाइदिने भन्दै घुस लिएको भन्ने उजुरीमाथि अनुसन्धान गर्दा तत्कालीन एमआईएस अपरेटर कहारको बैंक खाताको चेकमार्फत कार्यालय सहयोगीको नाममा चेक काटी उपाध्यक्ष चौधरीको बैंक खातामा ५ लाख रुपैयाँ जम्मा गरिएको पुष्टि भएको हो ।
अनुसन्धानबाट आर्थिक वर्ष २०७९/८० अन्तर्गत सञ्चालन गरिएको ‘न्यायिक असमानताविरुद्ध उपाध्यक्ष कार्यक्रम’ का लागि गाउँपालिकाबाट ६ लाख रुपैयाँ पेश्की लिइएको र उक्त रकममध्ये ५ लाख रुपैयाँ उपाध्यक्षको खातामा सारिएको देखिएको आयोगले जनाएको छ । कार्यक्रम सञ्चालनमा रकम खर्च नगरी घुसस्वरूप रकम लिइएको निष्कर्षसहित आरोपपत्र दायर गरिएको हो ।
आयोगले उपाध्यक्ष चौधरीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम ५ लाख रुपैयाँ बिगो कायम गरी कैद, जरिवाना र घुस रकम जफतको मागदाबी गरेको छ । त्यस्तै तत्कालीन एमआईएस अपरेटर सुरेश कहारविरुद्ध पनि सोही रकम बराबरको बिगो कायम गर्दै कैद, जरिवाना तथा रकम जफतको मागसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

