मुम्बई । परिवर्तित समाजमा अपराधका अनेक रुप देखिन थालेका छन् । भारतको मुम्बईकी एक ६८ वर्षीया महिलालाई ठगले नक्कली न्यायाधीश बनेर भर्चुअल अदालत नै खडा गरी करिब पौने ४ करोड रुपैयाँ ठगी गरेको घटनाले अहिले भारतमा व्यापक चर्चा पाएको छ ।
इन्टरनेट र एआईको विकाससँगै यस्ता अपराधहरुको बिगबिगी बढेको हो ।
आउनुहोस् भारतको ‘न्यायाधीश चन्द्रचूड डिजिटल गिरफ्तारी स्क्याम’ बारे पढौं–
पहिलो सूचना प्रतिवेदन (एफआईआर) अनुसार, उजुरीकर्ता मुम्बईको अन्धेरी पश्चिमकी ६८ वर्षीया महिला धनलक्ष्मी सत्यनारायण राव नायडूलाई पहिलो पटक अगस्ट १८, २०२५ मा एक व्यक्तिबाट फोन आएको थियो, जसले आफूलाई ‘विजय पल’ भनेर चिनाउँदै उनलाई कोलाबा प्रहरी चौकीमा सम्पर्क गर्ने बताएका थिए ।
यसपछि, उनलाई ह्वाट्सएपबाट भिडियो कलहरू आए, जसमा एक व्यक्तिले आफूलाई कोलाबा प्रहरी चौकीबाट ‘एसके’ भनेर चिनाउँदै उनको आधार कार्ड प्रयोग गरी बैंक खाता खोलिएको आरोप लगाए । जस मार्फत ६ करोडको अवैध कारोबार गरिएको र उनी विरुद्ध मनी लाउन्ड्रिङको मुद्दा चलाइएको बताइयो ।
फोन गर्ने व्यक्तिले उनलाई एउटा कागजात पठाएको थियो, जसमा ‘नरेश गोयल’ नामक व्यक्तिलाई सोही मुद्दामा पक्राउ गरिएको दाबी गरिएको थियो ।
यदि ती महिलाले सहयोग नगरेमा उनी र उनको परिवारलाई जुनसुकै बेला पक्राउ गर्न सकिने चेतावनी पनि दिइयो ।
एफआईआरमा भनिएको छ कि ती महिलालाई यो कुरा कसैलाई नबताउन भनिएको थियो। उनलाई २४ घण्टा निगरानीमा राखेर सीबीआईले अनुसन्धान गर्ने र उनको ‘सुनुवाइ’ चाँडै हुने भनिएको थियो।
पीडित महिलाको उजुरीमा भनिए अनुसार पछि एक जना व्यक्ति भिडियो कलमा आए । उनले कथित न्यायाधीशको पोशाक लगाएका थिए । उनलाई ‘न्यायाधीश चन्द्रचूड’ का रूपमा परिचय गराइयो । जसले उनको जमानतका बारेमा निर्णय सुनाउने बताइयो ।
त्यसअघि, आफूलाई ‘एसके जयसवाल’ भनेर चिनाउने एक व्यक्तिले ती महिलालाई उनको चरित्रबारे मूल्याङ्कन गर्नका लागि आफ्नो जीवनबारे दुई वा तीन पृष्ठको विवरण लेख्न लगाएका थिए । उनले ती महिलालाई निर्दोष ठहरिएमा छिट्टै जमानत पाउने आश्वासन पनि दिए।
कथित भर्चुअल सुनुवाइका क्रममा, ‘न्यायाधीश चन्द्रचूड’ का रूपमा प्रस्तुत भएका व्यक्तिले उनलाई कथित मनी लाउन्ड्रिङ मुद्दाका बारेमा प्रश्न गरे।
जब उनले कुनै गलत काम गर्न अस्वीकार गरिन्, तब उनलाई जमानत अस्वीकार गरिएको बताउँदै ती नक्कली न्यायाधीश पर्दाबाट बाहिर निस्किए । जसले गर्दा ती महिलालाई तत्काल पक्राउ पर्ने डर बढ्यो।
त्यसपछि उनलाई भनियो कि आफूलाई निर्दोष साबित गर्न उनले आफ्नो सबै सम्पत्ति प्रमाणीकरणका लागि बुझाउनु पर्नेछ र उनको म्युचुअल फन्ड होल्डिङस् र बैंक ब्यालेन्सको ९०/९५ प्रतिशत ‘सुरक्षित’ खाताहरूमा स्थानान्तरण गर्नुपर्ने छ ।
प्रहरी र अदालतका निर्देशनहरूको पालना गरिरहेको विश्वास गर्दै ती महिलाले आफ्ना सबै बैंक खाताहरूको विवरण खुलासा गरिन् । र, अगस्ट १८ देखि अक्टोबरको सुरुसम्म, ‘विजय पल’ र ‘SK’ जस्ता नम्बरहरूबाट कल गर्दा दिइएको निर्देशन अनुसार विभिन्न खाताहरूमा कुल ३ करोड ७१लाख रुपैयाँ ट्रान्सफर गरिन् ।
त्यसपछि फोन गर्नेहरूले थप पैसा माग्न थाले । कुनै न कुनै बहानामा पहिलेको पैसा फिर्ता गर्न ढिलाइ गरे । पक्राउ गर्ने धम्कीसमेत दिए । त्यसपछि बल्ल उनले आफू ठगिएको महसुस गरिन् र पश्चिम क्षेत्र साइबर प्रहरीको सम्पर्कमा पुगिन् ।
अहिले साइबर प्रहरीले ठगी, पहिचान चोरी र नक्कली कागजातको प्रयोग लगायतका अपराधहरूमा अज्ञात संदिग्धहरूविरुद्ध मुद्दा अगाडि बढाएको छ ।
ती महिलाको पैसा कुन खातामा गयो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको छ । जसमा गुजरातका केही खाताहरू पनि समावेश भएको पाइएको छ । ती महिलाको जीवनभरको कमाइ ठगी गर्ने अज्ञात व्यक्तिविरुद्ध हाल अनुसन्धान चलिरहेको छ।
स्रोत : बार एण्ड बेन्च

