काठमाडौं । सन् २०१८ मा भारतमा एउटा ऐतिहासिक चलचित्र बन्यो, जसको नाम हो– ठग्स अफ हिन्दुस्तान । अभिताभ बच्चनदेखि लिएर आमिर खानसम्मले खेलेको यो चलचित्रको जरा खोज्दै जाँदा बेलायती लेखक फिलिप मिडोज टेलरद्वारा सन् १८३९ मा लिखित ‘कन्फेसन्स अफ अ ठग’ (एक ठगको स्वीकारोक्ति) उपन्याससम्म पुगिन्छ ।
फिलिपको उपन्यासले प्राचीन भारतमा कसरी ठगहरुले जनतालाई दुःख दिने, लुट्ने र हत्यासमेत गर्दथे भन्ने चित्रण गरेको छ । करिब ७५० भन्दा बढी मानिसको हत्या गरेर जेल परेको ठगको वयानमा आधारित छ उपन्यास– कन्फेसन्स अफ अ ठग । र, ‘ठग्स अफ हिन्दुस्तान’ चलचित्र पनि सोही कथामा आधारित रहेको बताइन्छ ।
सामान्य अर्थमा ‘ठगी’ भन्ने शब्दले कुनै एउटा व्यक्तिद्वारा अर्को व्यक्तिलाई झुक्याएर गरिने लुटपाट, चोरी लगायतको अपराध हो भन्ने बुझिन्छ । तर, जब ठगीसम्बन्धी अपराधले संगठित रुप लिन्छ, त्यो सिंगै राज्यका लागि चिन्ताको विषय बन्न पुग्छ । प्राचीन भारतदेखि लिएर आधुनिक नाइजेरियासम्मका घटना हेर्ने हो भने जब ठगीसम्बन्धी अपराधले जब उग्र रुप लिन्छ, त्यो एउटा राष्ट्रिय समस्या बन्न जान्छ ।
‘ठगी’ संस्कृत भाषाको ‘स्थगति’ शब्दबाट बनेको हो, जसको अर्थ, लुकाउने, छोप्ने या हटाउने भन्ने लाग्छ । प्राचीन समयमा ‘ठग’ भन्नाले सामान्य चोर वा लुटेरालाई बुझिन्थ्यो, जहाँ मानिसलाई झुक्याएर प्रभावमा पारेर लुटपाट गरिन्थ्यो र मानिसको हत्यासमेत गरिन्थ्यो ।
प्राचीन भारतमा ठगी
सन् १३५० पछि भारतवर्षमा संगठित ठगहरुको प्रादूर्भाव भएको मानिन्छ । दिल्लीका सुल्तान जलालुद्दीन खिल्जीले १४ औं शताब्दीमा करिब एक हजार ठगहरुलाई दिल्लीबाट बंगालमा निर्वासित गरेको इतिहासमा पढ्न पाइन्छ ।

त्यसो त सातौं शताब्दीमा गंगा नदी र अन्य भूभागमा भारतीय ठगहरुले चिनियाँ यात्रुहरुलाई झुक्यानमा पारेर लुटपाट र हत्यासम्म गर्ने गरेको इतिहासमा उल्लेख छ । पछि १५ औं र १६ औं शताब्दीमा भारतको उत्तर प्रदेश, विहार, राजस्थान र मध्यप्रदेशतिर ठगहरुको बिगबिगी बढेको र अंग्रेज शासकहरुले ठगविरुद्ध राष्ट्रव्यापी अभियान नै चलाउनुपरेको इतिहास पनि पढ्न पाइन्छ ।
ब्रिटिश इष्ट इण्डिया कम्पनीले १९ औं शताब्दीको प्रारम्भमा सबैभन्दा ठूलो खतरा महसुस ठगहरुबाटै गरेको थियो । यसको नियन्त्रणका लागि सन् १८३५ मा ‘ठगी विभाग’ नै गठन गरियो ।
सन् १८४८ सम्म आइपुग्दा भारतमा ठगी तथा डकैती नियन्त्रणसम्बन्धी ऐन नै जारी गरियो, जसमा ठगहरुलाई मृत्युदण्डसम्म दिने नीति अंग्रेजहरुले लिए । त्यसबेला करिब २ हजार ठगहरुलाई निर्वासन र फाँसीको सजाय दिइयो । ४५ सय भन्दा बढी ठगहरु कारागार चलान भए । विलियम हेनरी स्लिमनले १८३९ मा ठगहरुमाथि पूर्ण नियन्त्रण गरेको दाबी गरे । तथापि ‘ठगी विभाग’ भने सन् १९०४ सम्मै अस्थित्वमा रह्यो ।
हुन त भारतमा औपनिवेशिक शासन चलाउने क्रममा ब्रिटिशहरुले ठगीजस्तो आर्थिक एवं फौजदारी अपराधलाई राजनीतिकरण गरेर बढाइ–चढाइका साथ प्रस्तुत गरेको र यसलाई राजनीतिक हतियारका रुपमा प्रयोग गरेको आरोप पनि लाग्ने गरेको छ । बेलायती सरकारले पठानतिरका केही जातीय समुदायलाई जन्मजात अपराधीको व्यवहार गरेको गुनासो समेत सुन्ने गरिएको छ ।
महाठग नटवरलालको विम्ब
भारतमा मात्र होइन, नेपालमा पनि कोही व्यक्ति ठगी धन्दामा सक्रिय रहेको पाइयो भने उसलाई ‘नटवरलाल’ को संज्ञा दिने गरिएको पाइन्छ । ‘यो त कस्तो नटवरलाल रहेछ’ भन्ने गरेको हामी सुन्छौं । विगतमा साप्ताहिक पत्रपत्रिकाले समाचारको शीर्षक नै ‘फलाना ठाउँबाट नटवरलाल पक्राऊ’ भन्ने ढंगका समाचारहरु दिने गर्दथे ।
आखिर को थिए त नटवरलाल ? यस विषयमा भारतमा अनेकन कथाहरु जोडेर नटवरलालको चर्चा गर्ने गरिएको पाइन्छ ।

नटवरलालले झुक्याएर भारतको ताजमहल, लालकिल्ला र राष्ट्रपति भवन समेत बेचेका किस्साहरु सुन्न पाइन्छ । मानिसलाई ठग्न माहिर नटवरलाल भारतका महा ठगका रुपमा परिचित व्यक्ति हुन् । भारतमा नटवरलालको कथामा आधारित चलचित्रहरु बनेका छन्, उपन्यासहरु लेखिएका छन् ।
कानपुर जेलमा रहेका नटवरलाल ७३ वर्ष कटिसकेका वृद्ध थिए । सन् १९९६ जून महिनामा उनी बिरामी अवस्थामा रहेकाले दिल्लीमा उपचारका लागि प्रहरीले लिएर गयो । तर, दिल्ली रेल्वे स्टेशनबाट उनी फरार भए र कहिल्यै फेला परेनन् ।
आफन्तहरुले उनको मृत्यु भइसकेको बताएपछि विभिन्न अदालत र प्रहरी कार्यालयमा रहेका ठगी सम्बन्धी केसहरु डिसमिस भएको भारतीय मिडियाहरुमा पढ्न पाइन्छ ।मनोहर कहानियाँको सह प्रकाशन ‘सत्यकथा’ ले १९९७ अगस्तको अंकमा ‘फिर फरार नटवरलाल’ शीर्षकमा ‘लघु उपन्यास’ नै बनाएर छापेको थियो ।
नटवरलालको जन्म बिहारको छपरा जिल्लामा भएको थियो । उनको वास्तविक नाम मिथलेस कुमार श्रीवास्तव थियो । मध्यम परिवारमा जन्मेका नटवरलाल सानैदेखि चलाख थिए । कक्षा ९ मा पढ्दा उनले गणितमा थोरै नम्बर दिएको भन्दै शिक्षकलाई साथीहरुमार्फत् धम्की दिएपछि विद्यालयले अभिभावकसँग शिकायत गरेको थियो । यो घटनाबाट अपमानित महसुस गरेर उनी कोलकाता शहरतिर लागे ।
एउटा विद्यायलका प्रिन्सिपललाई दुःख बिसाएर उनले निशुल्क पढ्न पाए । र, जिविकाका लागि धनाढ्य व्यापारीका छोराछोरीलाई ट्युसन पढाउन थाले । र, त्यहीँ उनले व्यापारीहरुलाई ठग्ने धन्दा शुरु गरे ।
मुम्बईबाट कपडा ल्याउने भन्दै ठग्न शुरु गरेका नटवरलालले कानूनमा स्नातक गरेका थिए । तर, वकालती पेसा गरेनन् । आफ्नो मुद्दामा भने उनी आफैं बहस गर्दथे । अदालतमा बहसमा उनी निकै चलाख थिए ।
नटवरलाल ठगीका क्रममा धेरैपटक पक्राउ परे । १९३७ मा पहिलोचोटि कोलकाताबाट रेलको लिक उक्काएर बेचेको आरोपमा पक्राउ परेका उनी रेलबाट फर्जी माल छुटाएर बेचेको आरोपमा १९३९ मा पुनः समातिए र मद्रास अदालतले उनलाई दुई वर्षको जेल सजाय सुनायो । त्यसबेला नागपुरमा पनि उनीविरुद्ध मुद्दा चलिरहेको थियो, बीचैमा प्रहरीलाई छक्याएर भाग्न सफल भए ।
सन् १९४५ ताका नटवरलालले उत्तर प्रदेशलाई आफ्नो कार्यक्षेत्र बनाएका थिए । गोरखपुर, आजमगढ, फैजावाद, फरुखावाद आदि ठाउँहरुमा कालोबजारी गरेर धनी बनेका व्यापारीहरुमाथि नटवरलालले ठगी गर्न थाले । उनी धनीमानीहरुलाई ठग्थे र आफ्नो गाउँका गरीबहरुलाई भोज खुवाउँथे, पैसा बाँड्थे ।

बृटिश शासनको अन्त्यतिर सन् १९४७ मा वाराणसीका एकजाना गल्ला व्यापारीलाई ठगेको आरोपमा नटवरलाल पक्राउ परे । १५ अगस्ट १९४७ मा भारत स्वतन्त्र हुँदा महाठग नटवरलाल तिहाड जेलमा थिए । स्वतन्त्रतासँगै देशभरका बन्दीहरु रिहा हुँदा त्यही मौकामा नटवरलाल पनि जेलबाट छुटे ।
शुरुमा नटवरलालले स्वतन्त्रता संग्रामी योद्धाको कागजपत्र बनाउने सोचेका थिए, तर उनले आफ्नो ठगी धन्दालाई ‘राजनीतिकरण’ गर्न चाहेनन् । भारत स्वतन्त्र बनेको करीब ८ वर्षजति उनले आफ्नो ठगी भन्दा बन्द गरे ।
सन् १९५५ मा तिहाड जेलमा भित्र साथि बनेका नन्दप्रकाश कपूरले नटवरलालसँग भेटेर सहकार्यको प्रस्ताव राखे । तर, नटवरलालले चोर र पकेटमारहरुप्रति आफ्नो घृणाभाव रहेको बताउँदै जसले दिमाग लगाएर कमाई गर्छन्, त्यस्ता मानिसहरु मात्रै मन पर्ने बताए । अन्ततः त्यसको केही समयपछि दुबै वाराणसीमा भेला भए र मिलेर ठगी गर्न थाले । १९५६ मा जालसाजीको आरोपमा नटवरलाल पक्राउ परे । उनले वकील राखेनन्, आफैं बहस गरे । पछि उनी प्रहरीको पोशाक लगाएर भाग्न सफल भए ।
पछि उनी इलाहावादमा अग्रवाल अटो मोबाइल्सलाई ठगेको आरोपमा सन् १९५७ मा समातिए । तीनवर्षसम्म मुद्दा चल्यो । अन्ततः उनलाई ७ वर्षको जेल सजाय भयो । एक ठाउँबाट छुटे पनि अन्य जिल्लामा ठगीको मुद्दा चल्दै गयो । अन्ततः उनी १९७४ मा गणतन्त्र दिवसका दिन आन्ध्र प्रदेशको जेलबाट छुट्न सफल भए ।
सन् १९७७ मा नटवरलाल कानूनपुर रेल स्टेसनबाट समातिए । तर, जमानतमा छुटे ।
निकै बूढा भइसकेका नटवरलालले सन् १९८६ मा मुख्यमन्त्रीको निजी सचिव हुँ भन्दै गहना पसलबाट महंगा गहनाहरु उम्काउन सफल भए । अर्कोवर्ष उनले वाराणसीमा एक घडी पसलमा ठूलो धनराशी ठगी गरे । दिल्लीमा त्यसैगरी अर्को घडी पसलमा ठगी भयो । त्यसै साल उनी समातिए । त्यसपछि उनलाई विभिन्न् जेलहरुमा सार्दै तिहाड जेलमा पुर्याएको थियो । तर, १९९६ मा उनी ७३ वर्षको वृद्ध उमेरमा भाग्न सफल भए ।
नटवरलाल भगवान श्रीकृष्णका उपासक थिए । शुरुमा मासु खाने गरेका उनी पछि सात्विक बनेका थिए । भगवान शिवजीको नाममा उनले आफ्नो नाम ‘नटवरलाल’ राखेका थिए ।
अनिर्णीत २७ वटा मुद्दामा नटवरलाललाई कुल १२५ वर्ष तीन महिना जेल र १० लाख ४९ हजार १५० रुपैयाँ जरिवानाको सजाय भएको थियो । तर, उनी फरार भएपछि सबै मुद्दाहरु डिसमिस भएको बताइन्छ ।
(नोट : भारतका महाठग नटवरलालका बारेमा यस्ता अनेकन किंबदन्तीहरु बनाइने गरेको छ, जसमा सत्यताभन्दा पनि बढाइ–चढाइको गन्ध आउने गर्दछ । हामीले यहाँ प्रस्तुत गरेको नटवरलालको कथा मनोहर कहानियाँको सह प्रकाशन ‘सत्यकथा’ (१९९७ अगस्त) बाट लिएका हौं । )
यो त भयो व्यक्तिगत ठगीको कथा । तर, पछिल्लो समय संगठित अपराधमा ठगी धन्दा मौलाउँदै गएको छ । यस्तो समस्या नेपालमा पनि देखा परेको छ ।

नेपालमा ठगीसम्बन्धी अपराध र सजाय
ठगीलाई फौजदारी अपराधका रुपमा लिइने गरिएता पनि यसलाई एक व्यक्तिबाट अर्को व्यक्तिमाथि गरिने सामान्य धोका वा विश्वासघातका रुपमा मात्रै हेर्ने प्रवृत्ति देखिएको छ । संगठितरुपमा हुने गरेको ठगीले राज्य र आम जनतालाई नै असर पारिरहेको अवस्थामा ठगीसम्बन्धी कानूनलाई बलियो बनाउन आवश्यक देखिन्छ । एक व्यक्तिबाट हुने घटनामा बाहेक संगठित रुपमा हुने ठगीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा चलाइनु आवश्यक देखिन्छ ।
मुलुकी अपराध संहिता २०७४ ले ठगीको परिभाषा गर्दै भनेको छ, ‘कसैले कसैलाई कुनै कुराको विश्वास दिलाएकोमा सो बमोजिम नगरी वा फकाई, झुक्याई वा अन्य कुनै किसिमले धोका दिई कुनै काम गरी वा गर्नबाट रोकी त्यस्तो व्यक्ति वा अन्य कसैलाई बेइमानीपूर्वक कुनै किसिमको हानि, नोक्सानी वा क्षति पुर्याएमा वा आफ्नो वा अरु कसैको लागि कुनै लाभ प्राप्त गरेमा निजले ठगी गरेको मानिनेछ ।’
ठगीसम्बन्धी अपराधमा हुने सजायको व्यवस्था मुलुकी संहिताले यसरी गरेको छ–
१. भ्रष्टाचार हुनेमा बाहेक नेपाल सरकार वा नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व वा नियन्त्रणमा भएको कुनै संस्थालाई ठगी गरेमा दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना ।
२. आफ्नो नाम, दर्जा, पदवी, योग्यता ढाँटी ठगी गरेमा पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना ।
३. माथि लेखिएदेखि चाहेक अन्य कुनै किसिमले ठगी गरेमा सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिवाना ।
४. बालबालिका, होस ठेगानमा नरहेको व्यक्ति, असहाय, निरक्षर वा पचहत्तर वर्ष माथिको व्यक्तिलाई ठगी गरेकोमा उपदफा (३) मा लेखिएको सजायमा यप एक वर्षसम्म कैद सजाय हुनेछ ।
जब ठगीले संगठित रुप लिन्छ….
ऐनको प्रावधान हेर्दा सजायका प्रावधानहरु कडा नै रहेता पनि ठगीको परिभाषालाई भने पुनःपरिभाषित गर्नुपर्ने देखिन्छ । संगठित रुपमा हुने गम्भीर अपराधलाई समेत ठगी अन्तरर्गत मुद्दा चलाउनुपर्ने र थुनामा राख्नुपर्ने व्यक्तिहरु धरौटीमा छुट्ने गरेको कार्यविधिसमेत विचारणीय देखिन्छ ।
जस्तो नेपालमा नक्कली भुटानी शरणार्थीको केस ठगी त हो नै, त्यो संगठित अपराध पनि हो र राज्यकै दुरुपयोग गरिएको हुँदा राज्यअपराध समेत हो । यसमा कतिपय व्यक्तिहरु धरौटीमा छुटेको स्थिति पनि विचारणीय नै छ ।
विभिन्न सहकारीहरुमाथि ठगी गरेको अभियोग लागेका जीबी राई अहिलेसम्म नटवरलाल जस्तै फरार अवस्थामा छन् । सरकारले उनलाई खोजेर कानूनी दायरामा ल्याउनुको साटो फरार अवस्थामै रहेका बेला संगठित अपराधको मुद्दा नचलाउने निर्णय महान्यायाधिवक्ता कार्यालयमार्फत् गरेको देखिन्छ, जुन पीडितमैत्री भन्दा पनि पीडकमैत्री व्यवहारजस्तो देखिन गएको छ ।
जब ठगीले संगठित रुप लिएर भुटानी शरणार्थी प्रकरण, सहकारी ठगी प्रकरण जस्ता अपराधहरु भए, यसबाट सीमित व्यक्तिमात्र नभएर आम जनता नै पीडित बन्नुपरेको छ । पछिल्लो तीन वर्षमा मात्रै प्रहरीले २१२ वटा सहकारी ठगी मुद्दा अदालतमा लगेको छ, जसमा कुल ८० अर्ब ४० करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको छ । यसमा ४११ जना पक्राउ परेका छन् भने १ हजार ३९७ जना अझै फरार छन् ।

फरार जीबी राई
‘नेपाली नटवरलाल’को छवि बनाएका जीबी राईको नेतत्वमा रहेको गोर्खा मिडिया सहकारी काण्डमा करिब २.५८ अर्ब रुपैयाँ विभिन्न सहकारीबाट डाइभर्ट गरी मिडिया कम्पनीमा लगानी गरेको आरोप छ । यसबाट ५० हजार भन्दा बढी बचतकर्ताहरु प्रभावित बनेको अवस्था छ ।
विगतमा युनिटी प्रकरण, गोलक्ब्वेस्ट प्रकरण जस्ता संगठित ठगीका घटनाहरु हुने गरेका थिए । यी घटनाहरुले नेपालमा पनि ठगहरुको गतिविधि राष्ट्रिय समस्या बन्ने गरेको झल्को दिन्छन् । ठगीलाई समूलरुपमा अन्त्य गर्न सकिएन भने यसले नेपालको समृद्धि, राजनीतिक स्थायित्व र समाजको शान्तिमा नै असर नपार्ला भन्न सकिँदैन ।
नाइजेरियामा अपराधीसँग राज्य निरीह
नाइजेरियामा बढ्दो सामाजिक अपराधका कारण लाखौं मानिसले विस्थापित हुनुपरेको छ । जसले देशको अर्थतन्त्रलाई नै गम्भीर क्षति पुर् याएको छ । युवाहरूमा निराशा बढेको छ । अन्तर्राष्ट्रिय स्तरमा पनि नाइजेरियाले बदनामी कमाएको छ ।
यतिसम्म कि सरकारले सन् २०२५ मा राष्ट्रव्यापी सुरक्षा आपतकाल नै घोषणा गरेको छ तैपनि अपराध नियन्त्रण हुन सकेको छैन । त्यहाँ राज्यका संयन्त्रहरु र राष्ट्रिय सुरक्षा कमजोर बन्नुका साथै गरिबी, अशिक्षा र बेरोजगारी बढेको छ ।
नेपालले बेलैमा नाइजेरियाबाट नकारात्मक शिक्षा लिने कि ? आशा गरौं – नेपालले पनि नाइजेरियामा जस्तै स्थानीय गुण्डा र ठगहरुविरुद्ध राज्यले नै लडाइँ घोषणा गर्नुपर्ने दिन नआओस् । कुनै नेपाली लेखकले ‘नेपाली ठगको वयान’ नामक किताब लेख्नु नपरोस् । कसैले पनि ‘ठग्स अफ नेपाल’ नामक चलचित्र बनाउनु नपरोस् ।
यो पनि-
ताजा अपडेट
जब ठगहरुले देशलाई दुःख दिन्छन्…
२६ माघ २०८२लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जना पक्राउ
२६ माघ २०८२
