काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको आदेश बदर माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेषको आदेशबाट छुटेका चार प्रतिवादीहरूलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गरी पाउन सर्वोच्च अदालतमा निवेदन गरेको हो ।
भ्रष्टाचारमा संलग्न भनिएका प्रतिवादीमध्ये नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन उपनिर्देशक पुण्यराज शाक्य, ठेकेदार चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडका प्रतिनिधि रविन रिजाल, प्राधिकरणका तत्कालीन महानिर्देशक रतीश चन्द्रलाल सुमन, तत्कालीन उपमहानिर्देशक रोशन चित्रकार, हरिबहादुर खड्का र भीमप्रसाद आचार्यलाई थुनामा राखी पुर्पक्ष गरी पाउन माग राख्दै आयोग सर्वोच्चमा पुगेको हो ।
आरोपितहरूलाई विशेष अदालतले साधारण तारेख र न्यून धरौटीमा छाड्ने आदेश दिएको थियो । आठ अर्ब ३६ करोड ७३ लाख रुपैयाँ भ्रष्टाचार भएको भनिएको मुद्दामा विशेषले आरोपितहरूलाई अधिकतम २५ लाख रुपैयाँ धरौटीमा छाडिदिएको थियो ।

