काठमाडौँ । सरकारले बाजुरा र हुम्ला जिल्लाको सिमाना (साँध) सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न नापी विभागका उपमहानिर्देशक सुशिल डंगोलको संयोजकत्वमा एक समिति गठन गरेको छ ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको अध्यक्षतामा आइतबार (२०८३ जेठ १० गते) सिंहदरबारमा बसेको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको हो ।
समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट एक-एक जना प्रतिनिधि सदस्य रहनेछन् । त्यस्तै, नापी विभागका निर्देशकलाई समितिको सदस्य-सचिवको जिम्मेवारी दिइएको छ ।
हिमाली गाउँपालिका-३, लाम्पाटामा प्रहरी चौकी निर्माणबारे बाजुरातर्फ र हुम्लातर्फका बासिन्दाबीच विवाद चर्किएपछि जेठ ५ गते झडप भएको थियो । हुम्लाको खार्पुनाथ-२, थालीका स्थानीयले दुई जिल्ला बीचको साँधबारे विवाद गरेपछि दुई पक्ष झडपमा उत्रिएका थिए ।
लाम्पाटामा प्रहरी चौकी निर्माण गर्न सुदूरपश्चिम प्रदेश सरकारले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर, लाम्पाटा क्षेत्र विगतदेखि नै आफूहरूले भोगचलन गर्दै आएको भन्दै खार्पुबासीले चौकी निर्माण गर्न नदिने अडान राख्दै आएका छन् ।

