जेनजी आन्दोलनपछिको परिस्थितिबारे ‘जनकपुर घोषणापत्र’ को तयारी

२१ मंसिर २०८२

जेनजी आन्दोलनपछिको परिस्थितिबारे ‘जनकपुर घोषणापत्र’ को तयारी

काठमाडौं । भदौ २३ र २४ मा सम्पन्न जेनजी आन्दोलनलाई लिएर शुरु भएको संवैधानिक, कानूनी एवं राजनीतिक बहस अझै सकिएको छैन । यसै सन्दर्भमा जनकपुरधाममा मंसिर २४ र २५ मा हुन लागेको कानून व्यवसायीहरुको राष्ट्रिय कार्यक्रममा पनि यस विषयले प्रवेश पाउने भएको छ ।

वकीलहरुको दुई दिने जनकपुर बैठकमा जेनजी आन्दोलनपछिको परिस्थितिबारे बहस हुने र त्यसबाट आएका निष्कर्षका आधारमा जनकपुर घोषणापत्र जारी गरिने नेपाल बार एशोसिएसनका पदाधिकारीहरुले जानकारी दिएका छन् ।

नेपालमा वर्षभरिको मानवअधिकारको अवस्था कस्तो रह्यो ? जेनजी आन्दोलनले मानवअधिकारको प्रश्नमा के कस्ता चुनौतीहरु थप्यो ? साथै, जेन्जी आन्दोलन, सुशीला कार्की नेतृत्वको सरकार गठन अनि संसद विघटनका सन्दर्भमा नेपाल बार एशोसिएसनको आधिकारिक धारणा के हो ? यिनै प्रश्नहरुमाथि जनकपुर बैठक केन्द्रित रहने बारका पदाधिकारीहरुले जानकारी दिएका छन् ।

नेपाल बार एशोसिएसनभित्र केही आन्तरिक समस्याहरु पनि छन् । नयाँ कानून व्यवसायीहरुको संख्या थपिएसँगै चुनौतीहरु पनि थपिएका छन् । यी विषयमा पनि जनकपुरमा छलफल हुने बुझिएको छ ।

यिनै सन्दर्भमा नेपाल बार एशोसिएसनअन्तर्गत मानवअधिकार तथा जनसरोकार समितिमा रहनु हुने आयोजक अधिवक्ता डा. राजेन्द्र घिमिरेसँग जस नेपालले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ :

जनकपुरधाममा यही मंसिर २४ र २५ गते देशभरिका कानून व्यवसायीहरुको जमघट हुँदैछ । अघिल्लो दिन १० डिसेम्बरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ भने भोलिपल्ट २५ गते नेपाल बार एशोसिएसनको ५१ औं केन्द्रीय कार्यकारिणी परिषदको बैठक बस्दैछ । बार एशोसिएसनले यसरी मानव अधिकार दिवसलाई महत्व दिनुको कारण के हो ?

नेपाल बार एशोसिएशन एउटा व्यवसायिक संगठन भइकन पनि यसले समसामयिक विषयहरुमा, जस्तै– संविधान, कानून र मानवअधिकारका विषयमा चासो राख्छ र राख्दै आएको हो । लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनहरुमा पनि बारको सक्रिय सहभागिता रहिआएको छ ।

यसै सन्दर्भमा मानवअधिकार प्रशंगमा पनि नेपाल बार सधैं नै खरो उत्रिने गरेको छ । यसमा विभिन्न कार्यक्रमहरुमध्ये एउटा कार्यक्रम चाहिँ संयुक्त राष्ट्र संघले डिसेम्बर १० लाई मानवअधिकार दिवसका रुपमा मनाउँदै आइरहेको छ र बार एशोसिएसनले पनि मनाउँदै आएको छ । यस कार्यक्रममा देशका समसामयिक विषयवस्तुहरु, मानवअधिकार, कानून, न्यायमा पहुँच लगायतका विषयहरुमा छलफल गरेर एउटा निष्कर्षमा पुग्ने र बारले देखेका कुराहरु सरकार र विभिन्न सरोकारवालासमक्ष पुर्‍याउने र सुधारको प्रयत्न बारले गर्दै आइराखेको छ । पोहोर साल हामीले पोखरामा यस्तै कार्यक्रम गरेका थियौं । अहिले जनकपुरधाममा कार्यक्रम राखेका छौं ।

मानव अधिकारसम्बन्धी कानूनको जानकारका हिसाबले भन्नुपर्दा अहिले नेपालको मानव अधिकारको अवस्था कस्तो देख्नुहुन्छ ?

हााम्रो देशमा पहिलादेखि भइरहेका मानव अधिकारका समस्याहरु छँदै थिए । अहिले आएर भदौ २३, २४ पछाडि अझ फरक किसिमले घटनाहरु घटित हुँदै गइरहेको अवस्था देखिन्छ । सामान्य हिसाबले हेर्दाखेरि बाँच्न पाउने अधिकारका कुराहरु, न्यायमा पहुँचका विषयहरु अनि संक्रमणकालीन न्यायका कुराहरु भइराखेकै अवस्थामा अहिले फेरि ठूलो चुनौती खडा भएको छ ।

सार्वजनिक संस्थाहरु ध्वस्त भएको अवस्था छ । जेनजीले गरेको प्रदर्शनका क्रममा जुन हताहती भयो र भाइबहिनीहरुले मृत्युवरण गर्न पुगे, यो सबै स्थितिले गर्दाखेरि अझ ठूलो दण्डहीनताको स्थिति र मानवअधिकारको सवाल आइराखेको अवस्था छ । यी सबै विषयहरुलाई हामीले कसरी हेर्ने ? यसप्रतिको हाम्रो धारणा के हुने ? यस विषयमा हामी छलफल गर्छौं ।

मानवअधिकार दिवसका दिन के–कस्तो कार्यक्रम हुन्छ ?

यसको प्रक्रियाचाहिँ के छ भने नेपाल बार एशोसिएसनको एउटा महत्वपूर्ण समिति ‘मानवअधिकार तथा जनसरोकार समिति’ हो । यसको तर्फबाट एउटा कार्यपत्र प्रस्तुत हुन्छ । त्यसमा टिप्पणीहरु हुन्छन् र छलफलपछि निष्कर्षलाई हामीले जनकपुर घोषणा पत्रका रुपमा बाहिर ल्याउँछौं ।

संक्षिप्तमा भन्दाखेरि वर्षभरि देशमा भएका मानवअधिकारका घटनाहरु पहिल्यैदेखि विद्यमान पनि छन्, ती घटना र परिस्थितिका बारेमा छलफल हुन्छ । र, त्यसमा न्याय, कानून र मानवअधिकारका दृष्टिले हाम्रो धारणा हामीले सार्वजनिक गर्छौं ।

यसअघि नेपाल बारले संविधान संशोधनको मुद्दामा पनि चासो देखाएको थियो । न्यायिक क्षेत्रले संवैधानिक परिषद र न्यायपरिषदको संरचनागत सुधारका मुद्दाहरु उठाएको थियो । यसपालि जनकपुरधाममा संविधान संशोधनको विषयले प्रवेश पाउला ?

यी कुराहरु पनि हुन्छन् । जस्तो– समावेशिताका कतिपय कुराहरु होलान् । हामीले समावेशिताका कतिपय कुराहरु संविधान र कानूनमा राखेका पनि हौंला । तिनको व्यवहारिक प्रयोग नभइराखेको होला । अथवा, केही तह, तप्का र वर्गले कानूनमै भएका कुराहरु पनि अपुग छन् भनिराख्नुभएको होला । यी सबै विषयहरु त्यहाँ उठ्छन् । हामी छलफल गर्छौं र एउटा धारणा बनाउँछौं । केन्द्रीय कार्यकारिणी परिषदको बैठकले नेपाल बार एशोसिएसनद्वारा भएका वर्षभरिका क्रियाकलापहरुको समीक्षा गरेर आगामी दिनको बाटो तय गर्न मद्दत गर्नेछ ।

यहाँले समसामयिक विषयमा जनकपुर भेलाले निष्कर्ष निकाल्ने बताइरहँदा यसअघि नै नेपाल बारका अध्यक्ष र महासचिवले संयुक्त वक्तव्य नै जारी गरेर प्रधानमन्त्री सुशीला कार्कीले गरेको प्रतिनिभिसभाको विघटनलाई असंवैधानिक भनिसकेको छ । संसद विघटनको विरोध नेपाल बारको आधिकारिक धारणा हो कि त्यो अध्यक्ष र महासचिवको व्यक्तिगत विचार मात्रै हो ?

यो धारणा आउँदाखेरि संसद विघटनबारे अदालतमा मुद्दा परिसकेको थिएन । पछि यो विषयमा संवैधानिकताको परीक्षणका लागि सर्वोच्च अदालतमा मुद्दा परिसकेको अवस्था छ । त्यसकारण यो विचाराधीन विषयमा मैले आफ्नो धारण नराख्दा राम्रो होला कि भन्ने लाग्छ ।

अध्यक्ष र महासचिवले जे भन्नुभएको छ, त्यसलाई पनि हामीले कसैले खण्डन नगरेसम्म नेपाल बारकै धारणा मानौं । तर, त्यही धारणालाई अmभ परिस्कार गरेर परिस्कृतरुपमा जनकपुर बैठकपछि आउला भन्ने हाम्रो अपेक्षा छ ।

नेपाल बार एशोसिएसन भनेको कानून व्यवसायीहरुको छाता संगठन हो । अहिले कानून व्यवसायीहरुको संख्या बढ्दै गइरहेका बेला यहाँको विचारमा जनकपुर बैठकले गर्नुपर्ने आन्तरिक कामहरु के कस्तो हुनुपर्छ भन्ने यहाँलाई लाग्छ ?

बारले कानून व्यवसायीहरुको दक्षता र क्षमता अभिवृद्धिका साथै कानून व्यवसायीहरुको हक–हितलाई प्रवद्र्धन विषयमा पनि सोच्नुपर्‍यो । त्योभन्दा बाहिर गएर संविधानका प्रावधानहरुको पुनरावलोकन गर्नुपर्छ भनेर पनि बारले भनिराखेको छ ।

योभन्दा अगाडिको सरकार बन्दाखेरि संविधान संशोधनका केही विषयवस्तुहरु पहिचान गरेर त्यतापट्टि जानुपर्छ भनेर भनिएको पनि हो । ती इस्युहरु यथावतै छन् । तर, जेनजीको जुन प्रदर्शन भयो र त्यसपछिको जुन अवस्था सिर्जना भयो, त्यसपछाडि अब कसरी संविधान, कानून र कानूनको शासनलाई ट्रयाकमा ल्याउन सकिन्छ भन्ने चाहिँ मूलभूत विषय बनेको म देख्छु ।

देशमा बर्सेनि नयाँ वकीलहरुको संख्या थपिइरहेको छ । सुरुमा स्थापित हुन दुःख गर्नैपर्छ भन्ने पूर्वप्रधानन्यायाधीशहरुको आत्मकथा पढ्दा थाहा पाइयो । तपाईले चाहिँ नवोदित कानून व्यवसायीहरुलाई के सुझावहरु दिनुहुन्छ ?

हरेक पेसा–व्यसायको शुरुआती चरण अलिकति कठीन हुँदोरहेछ । क्लाइन्टले नपत्याएसम्म केश नआउने, केस नआई पत्यारिलो नभइने । यो बिचको द्वन्द्वचाहिँ छँदैछ । अरु पेसा व्यवसायमा पनि होला । त्यसकारण यो एउटा स्टेज चाहिँ पार गर्नैपर्ने अवस्था छ । त्यसका पनि दुईवटा तरिका रहेछन् । एउटा– सिनियर लयरको फर्ममा केही समय बसेर राम्ररी सिकेर थोरै क्लाइन्ट बेस भएपछि आफैंले स्वतन्त्ररुपमा ल फर्म सञ्चालन गर्ने एउटा तरिका भयो । अर्को चाहिँ मलाई यो पर्दैन, बारको जाँच पनि पास गरें, अब स्वतन्त्र रुपमा कानून व्यवसाय गर्छु भनेर काम गर्ने । यी दुईवटा मोडेल देखिए । यसमा पनि नवप्रवेशी भाइ बहिनीहरुका आफ्नै कथा व्यथाहरु होलान्, मैलेचाहिँ तीन वर्षसम्म एउटा ल फर्ममा बसेर, त्यहाँ सिकेर अनि आफ्नो पेसा व्यवसाय गरेको थिएँ ।

धेरैजसो हामी पहाडतिर, गाउँघरतिरबाट आउनेहरुको ब्याचलर गरिसकेपछि आत्मनिर्भर होस् अथवा घर परिवारलाई योगदान गरोस् भन्ने हुन्छ । तर, लिगल प्रोफेसनमा त्यसरी लाग्दाखेरि चाहिँ दुई–तीन वर्षसम्म गर्न सक्ने अवस्था हुँदैन । त्यसकारणले यो अमिल्दो देखिन्छ । जब अभिभावकहरुलाई पनि त्यो जानकारी हुन्छ, यसले ब्याचलर गर्‍यो, कानून व्यवसायी बन्यो, अझै दुई–तीन वर्ष योचाहिँ प्राक्टिसमै छ, यसको रिटर्न केही आइहाल्दैन अहिलेसम्म यसले सिकिरहेकै छ भन्ने अभिभावकहरुलाई पनि लाग्दा र उहाँहरुले त्यति धैर्य गर्न सक्दाचाहिँ सजिलो हुने अवस्था हुन्छ । तर, सबैको घरायसी अवस्था पनि यो ढंगको हुँदैन, त्यसकारण यसमा संघर्ष गर्दै, दुःख भोग्दै अगाडि बढ्नुपर्ने अवस्था नै देख्छु म ।

पछिल्लो समय एकजना कानून व्यवसायीले फेसबुकमा लेखेको विषयलाई लिएर सर्वोच्च अदालत एवं नेपाल बार काउन्सिलको समेत ध्यान तानिएको देखिन्छ, यसबारे तपाईको सैद्धान्तिक धारणा के छ ?

यसमा आफ्ना–आफ्ना धारणाहरु हुन सक्छन् । देशको न्यायापालिका जलिरहँदा जस्ता भनाइहरु आए भन्ने छ । मैले त फेसबुकमा देखिनँ , सम्भवतः उहाँ फेसबुकमा मेरो साथी हुनुहुन्न होला । त्यो नलेखिदिएको भए राम्रो हुन्थ्यो होला । र, अहिले उहाँले क्षमा याचना गरिसकें भनेको पनि सुनिन्छ । त्यसलाई कति कारवाहीको विषय बनाउने ? कति मान्छेले त्यस्तो लेखेका छन् त्यसको रेकर्ड पनि भएजस्तो मलाई लाग्दैन ।

तर, एउटा कानून व्यवसायीले न्याय, कानून र मानव अधिकारको विपरीत हुने गरेर सामान्यतः हामीले बोल्न हुँदैन भन्ने मलाई लाग्छ । कुनै एउटा केस विशेष वा व्यक्तिलाई नहेरौं । किनभने हामी नै न्याय, कानून र मानवअधिकारको उत्थान गर्नुपर्छ, देशमै त्यसको जगेर्ना गर्नुपर्छ, सबै नागरिकको मानवअधिकारको सुरक्षित हुनुपर्छ भनेर हामी लागेका छौं भने अदालतप्रति नकारात्मक भाव फैलिनेखालको अभिव्यक्ति दिनु हुँदैन ।

कार्यपालिकासँग प्रहरी छ, कार्यपालिका र व्यवस्थापिकामा रहने व्यक्तिहरुले वक्तव्य दिएर, अन्तरवार्ता दिएर, बोलेर भन्दै हिँड्न पनि पाउनुहुन्छ तर न्यायपालिकाको सीमा के छ भने न्यायाधीशहरुलाई आफ्नो कुरो भन्ने छुट छैन । त्यसकारणले न्यायपालिकाको त्यो गरिमालाई रक्षा गरिदिने काम पनि कानून व्यवसायीकै हो । त्यसकारण हाामीले न्यायाधीश छुट्टै हुन्, अदालत छुट्टै हो, म छुट्टै हुँ भन्ने भाव कानून व्यवसायीले राख्न हुँदैन भन्ने मलाई लाग्छ । किनभने हामी पनि अदालतकै पार्ट हौं ।

अदालतको इज्जत र गरिमा बढ्यो भने वकीलको पनि बढ्छ । अदालतलाई हामी आफैंले बदनाम गर्‍यौं भने हामी पनि पेशा व्यवसाय गर्न सक्ने अवस्थामा रहँदैनौं । त्यसकारण अदालतको रक्षा र सम्मान गरेमा मात्रै हामी पनि सुरक्षित हुन्छौं।
अदालतको रक्षा किन गर्ने त भन्दा त्यो जनताको मानवअधिकार र न्यायको रक्षक हो । अदालत आफैंमा साध्य होइन, साधन हो । न्यायमा पहुँचको साधन हो । वकील र न्यायाधीश भनेका त त्यसका पात्र मात्रै हुन् । तिनीहरुले गर्ने सेवा जनतालाई हो । त्यसकारणले जनआस्थामा खलल हुने गरेर, जनतामा नकारात्मक भाव उत्पन्न हुने गरेर एउटा कानून व्यवसायीले कुनै कार्य गर्नुहुँदैन । सैद्धान्तिक रुपमा म यति नै भन्न चाहन्छु ।

कानून व्यवसायको क्षेत्रमा नयाँ र पुराना वकीलहरुवीच सहकार्य हुनुपर्नेमा अहिले दुरी र अविश्वास बढ्दै गएको हो ?

नवप्रवेशी साथीहरुबाट पुरानाले पनि धेरै कुराहरु सिक्नुपर्ने देख्छु । किनभने अहिलेको आधुनिक युगमा आइटीका कुराहरु छन् । एआईका कुराहरु छन् । यसको प्रयोगले पनि धेरै प्रभावकारिता बढाउन सक्ने अवस्था छ । जुनियरहरुको पनि फिङ्गर टिप्समा धेरै ज्ञान भएको म देख्छु । पुराना साथीहरुसँग अनुभव छ । यी दुई पुस्ताको फ्युजनले नै राम्रो हुन्छ होला भन्ने मलाई लाग्छ । तर, नयाँ र पुरानोबीच अहिले त्यस्तोविधि खाडल छ र भन्या ? यदि छ भने त्यो चाहिँ घटाउनुपर्छ । मचाहिँ नयाँ पुस्तासँग अति बढी आशावादी छु ।

हाम्रो प्रोफेसनलाई अझ प्रोफेसनल बनाउन, अझ सम्मानित बनाउन, अझ गुणस्तरीय बनाउन आवश्यक छ । हामी कानून व्यवसायीमा समस्या छैनन् ? अवश्य छन् । अझ कानून व्यवसायीतिर पनि फर्केर हेर्नुपर्छ भन्छु म ।

न्यायाधीशलाई मात्रै दोष दिएर, अदालतका कर्मचारीलाई मात्रै दोष दिएर हामीले सुख पाउने अवस्था छैन । हामीले पनि आफूले गर्नपर्ने प्रयत्न गर्‍यौं कि गरेनौं ? गर्न हुने मात्रै काम गर्‍यौं कि, नहुने पनि गर्‍यौं कि ? र, कति मेहनत गर्‍यौं ? संसारमा आएका नयाँ विधिशास्त्रलाई कति अध्ययन गर्‍यौं ? कति भित्र्यायौं ? यी सबै कुराहरु हामीले पनि आफूभित्र हेर्नपर्छ भन्ने मलाई लाग्छ । त्यसले मात्रै अब हामीलाई वकालतको एउटा उचाइमा पुर्‍याउँछ ।

तपाईलाई एटा उदाहरण दिऔं– संसारको कुनै पनि मुटु विशेषज्ञसँग तुलना गर्न मिल्ने नेपालमा विशेषज्ञ हुन सक्छ । तर, नेपालमा त्यो लेबलको वकील खोई भन्ने लाग्छ क्या मलाई !

देशभरका वकील जनकपुरधाममा जम्मा हुँदै

 

संवैधानिक इजलासमै वकील ढलेपछि उब्जिएको प्रश्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

‘महान्यायाधिवक्ता सविता भण्डारीले राजीनामा दिनुपर्छ’

‘महान्यायाधिवक्ता सविता भण्डारीले राजीनामा दिनुपर्छ’

काठमाडौं । बालिकाहरुबाट डिम्ब तस्करी भएको विरोधमा कानूनी लडाइँ लडिरहेकी अधिवक्ता अंकिता त्रिपाठीले महान्यायाधिवक्ता...

‘रातो बंगाला र सेन्ट जेभियर्सका विद्यार्थी ल क्याम्पसमा आउँछन्’

‘रातो बंगाला र सेन्ट जेभियर्सका विद्यार्थी ल क्याम्पसमा आउँछन्’

काठमाडौं । नेपालमा निजी कलेजहरु भन्दा सरकारी क्याम्पस कमजोर छन् भन्ने भाष्य कानून, इञ्जिनियरिङ...

काठमाडौंमा व्यापक छ ‘लिभिङ टुगेदर’

काठमाडौंमा व्यापक छ ‘लिभिङ टुगेदर’

काठमाडौं । अधिवक्ता अनु भट्टराई ‘रेप एण्ड लिभिङ टुगेदर इन काठमाडौं’ विषयमा एमफिलको थेसिस...

३० वर्ष वकालत गरेर बनाएको घर जेनजीका नाममा एक घण्टामा ध्वस्त भयो

३० वर्ष वकालत गरेर बनाएको घर जेनजीका नाममा एक घण्टामा ध्वस्त भयो

म मकवानपुरको टिस्टुङमा जन्मिएको हुँ । त्यहाँ एउटा परिवार सम्भ्रान्त थियो । प्रधानपञ्च, राष्ट्रिय...