सर्वोच्च अपडेट : प्रधानन्यायाधीश ठूलो कि मुख्य रजिष्ट्रार ? (भिडियोसहित)

जस नेपाल

४ जेठ २०८३

सर्वोच्च अपडेट : प्रधानन्यायाधीश ठूलो कि मुख्य रजिष्ट्रार ? (भिडियोसहित)

काठमाडौँ । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले जारी गरेको एउटा आदेशलाई लिएर सोमबार सर्वोच्च अदालतका कर्मचारीहरुमा हल्लीखल्ली मच्चियो । सोमबार नै संसदको बैठकमा समेत संविधानको धारा १०५ विपरीत अदालतबारे चर्चा परिचर्चा भयो । सामाजिक सञ्जाल र सार्वजनिकरुपमा समेत उक्त आदेशको पक्ष र विपक्षमा विभिन्न तर्कहरु आए । प्रायः सबै मिडियामा यो आदेशले चर्चा पायो ।

आखिर कायममुकायम प्रधानन्यायायाधीश सपना प्रधान मल्लले दिएको आदेश के हो ? किन सत्तारुढ रास्वपाका सांसदहरुले यसबारे संसदमै आक्रोश प्रकट गरे ? सर्वोच्चका कर्मचारीबीच किन भागाभागको अवस्था आयो ? कामु प्रधानन्यायायधीशको आदेशपछि पनि कर्मचारीहरुले किन रिट निवेदनहरु दर्ता गर्न मानेनन् ?

कामु प्रधानन्यायायाधीश मल्लको आदेशबारे सत्तापक्षका सांसदहरुले केही प्रश्नहरु उठाएको देखिन्छ । जस्तो– रास्वपा सांसद यज्ञमणि न्यौपाने सोमबार संसदबाट भने– यसमा कन्फिक्ट अफ इन्ट्रेस्ट देखियो । यो आदेश कुन इजलासबाट आएको हो ? संविधानको कुन धाराले गाइड गरेको हो ? यसमा विधि नियम र पद्दति अनुसार न्याय सम्पादन कहाँ भयो ?

त्यस्तै, रास्वपा सांसद समीक्षा बासकोटाले पनि संसदमा भनेको सुनियो– थ्यौरी अफ सेप्रेसन अफ पावर न्यायालयले कतै बिर्सेको हो कि ? कायममुकायम प्रधानन्यायाधीशले डेलिगेसन बोलाएर दरपीठ भएका रिटहरुलाई दर्ता गर्ने आदेश दिनु कत्तिको न्यायोचित हो ?

आखिर, मल्लको आदेश संविधान र कानूनमा टेकेर आएको हो कि हैन त ? कामु प्रधानन्यायाधीशको आदेशबारे बुझ्नुअघि सरकार र अदालतसँग जोडिएका केही घटनाहरुको ‘डट’लाई जोडेर हेर्नुपर्ने हुन्छ ।

गत बैशाख २४ गते प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षताका संवैधानिक परिषदको बैठक बसेको थियो । उक्त बैठकले चौथो बरियताका न्यायायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायायाधीशमा सिफारिस गर्ने निर्णय गर्‍याे ।

परिषदले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायायाधीशद्वय कुमार रेग्मी र हरि फुयालको रोलक्रमभन्दा पछाडि रहेका शर्मालाई नियुक्त गरेको थियो ।

संवैधानिक परिषदले डा. शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्नुअघि संसदको पूर्वघोषित अधिवेशनसमेत रोकेर संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको थियो ।

राष्ट्रपतिले एकचोटि फिर्ता पठाएको उक्त अध्यादेशमा संवैधानिक परिषदमा तीनजनाले प्रधानन्यायाधीश छान्न सक्ने भनिएको थियो, जुन दोस्रोचोटि राष्ट्रपतिबाट जारी भयो र सोही अध्यादेशका आधारमा बैशाख २४ गते संवैधानिक परिषदको बैठक बस्यो ।

भिडियो :

भलै, मनोज शर्माको पक्षमा प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डीपी अर्याल, कानूनमन्त्री सोविता गौतम र उपसभामुख रुवी कुमारी उभिए भने शर्माको विपक्षमा विपक्षी दलका नेता भीष्मराज आङदेम्बे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल मात्रै उभिए ।

अन्ततः डा. शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने संवैधानिक परिषदको निर्णयको विरोध गर्दै सर्वोच्च अदालतमा रिटहरु पेश भए । त्यहाँ पेश भएका तीनवटा रिटहरुमध्ये केही अध्यादेशलाई अमान्य घोषित गरियोस् भन्ने रहेका थिए भने केहीचाहिँ बरियता मिचेर शर्मालाई प्रधानन्यायाधीशमा गरिएको सिफारिस बदर गरिपाउँ भन्ने रहेका थिए । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु डा. प्रेमराज सिलवाल र गीता थापा लगायतले अदालतमा रिट दिएका थिए । तर, सर्वोच्च अदालतका कर्मचारीहरुले यी रिट दर्ता गर्न मानेनन् । केही रिटलाई दरपीठ गरियो भने केही रिटलाई प्रक्रियामै लगिएन ।

रिटहरु दर्ता नगरी दरपीठ गरिएको विरोधमा अर्को रिट पर्‍यो । सामान्यतः अदालतले न्याय माग्न आउनेलाई ढोका थुन्नुहुँदैन भन्ने विधिशास्त्रीय मान्यता छ । कुनै रिट दर्ता हुन लायक छैन भन्ने अदालत प्रशासनलाई लागेमा उसले दर्ता नगरी दरपीठ गरिदिन पाउँछ ।

तर, रिट निवेदकलाई आफ्नो रिट दर्ता हुन योग्य छ भन्ने लागेमा कर्मचारीले गरेको दरपीठविरुद्ध अर्को रिट हाल्न पाउँछ । दरपीठविरुद्धको उक्त रिट दर्ता गर्ने र एकल न्यायाधीशबाट पहिलो सुनुवाई गरी दरपीठलाई सदर या बदर गरिदिने अधिकार न्यायाधीशमा रहेको छ ।

कर्मचारीले पूर्वाग्रह या सत्ताको प्रभावमा परेर रिट दर्ता नगरेको भए न्यायाधीशले त्यसमा न्याय दिन सक्ने मनसायका साथ दरपीठविरुद्धको रिट दर्ता हुनैपर्ने अभ्यास न्यायालयमा हुँदै आएको छ ।

तर, सर्वोच्च अदालत प्रशासनले दरपीठविरुद्धकै रिटसमेत दर्ता गर्न नमानेपछि सोमबार सपना प्रधान मल्लले आदेश जारी गरेर न्यायको ढोका थुन्न नमिल्ने बताएकी हुन् ।

अदालतका कर्मचारीले रिटहरु दरपीठ गरेको र दरपीठविरुद्धको रिटसमेत दर्ता गर्न नमानेको घटनापछि बैशाख ३० गते नेपाल बार एशोसिएसनले विज्ञप्ति नै जारी गरेर आपत्ति जनाएको थियो । त्यस्तै, कर्मचारीले न्यायको बाटो नै अवरुद्ध गरिदिएको भन्दै प्रधानन्यायायधीशसमक्ष जेठ २ गते मौखिक र जेठ ४ गते लिखित उजुरी परेको थियो । बारको सोही ध्यानाकर्षण र पर्न आएका उजुरीहरुका आधारमा कामु प्रधानन्यायाधीशले सोमबार मुख्य रजिष्ट्रारलगायत कर्मचारीका नाममा आदेश जारी गरेकी हुन् ।

अब कामु प्रधानन्यायायाधीशले त्यसरी आदेश जारी गर्छ मिल्छ कि मिल्दैन ? उनले कुन इजलासबाट आदेश जारी गरेकी हुन् भन्ने रास्वपा सांसदको प्रश्नबारे संक्षिप्त चर्चा गरौं–

मल्लको आदेशमै संविधान र कानूनका धारा र दफाहरु स्पष्ट उल्लेख गरिएका छन् । सपनाको आदेशमा स्पष्टसँग भनिएको छ– ‘यस्तो अवस्थामा नेपालको संविधानको धारा १३६, न्याय प्रशासन ऐन, २०७३ को दफा ३५ र सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७ बमोजिम प्रधान न्यायाधीशको हैसियतले आवश्यक निर्देशन एवं आदेश गर्नुपर्ने अवस्थाको विद्यमानता देखियो ।’

संविधान र कानूनले नै सर्वोच्च अदालतको न्याय प्रशासनको प्रमुखका रुपमा प्रधानन्यायाधीशको भूमिकालाई स्वीकार गरेको छ । यो अवस्थामा कर्मचारीहरुले अदालतमा मन लागेको मान्छेलाई जोगाउने उदेश्यले रिट निवेदन नै दिन नपाउने गरी ढोका बन्द गर्नु कत्तिको उचित होला ?

 

दरपीठ भएको रिटमा सुनुवाई गर्दा उचित नलागे खारेज गर्न सकिने अवस्था हुँदाहुँदै निवेदन नै लिन नमान्ने कर्मचारीको व्यवहारमाथि न्यायाधीशको तहबाट प्रश्न उठाइएको देखिन्छ ।

तर, दुर्भाग्य, कामु प्रधानन्यायायाधीशको सोमबारको आदेशपछि पनि कर्मचारीहरुले रिट दर्ता गर्न मान्नेनन् । यो घटनाले सर्वोच्च अदालतको न्यायायाधीश ठूलो कि राजिष्ट्रार ठूलो भन्ने गम्भीर प्रश्न उठाएको छ ।

जहाँसम्म सपनाको आदेशमा कन्फिक्ट अफ इन्ट्रेस्ट देखियो भन्ने प्रश्न छ । प्रथमतः अदालतबारे यस्तो बहस गर्ने छुट संविधानको धारा १०५ ले सांसदहरुलाई दिएको छैन । उनीहरुलाई छलफल गर्न मन भए महाअभियोगको प्रस्ताव लानुपर्छ र छलफल गर्न पाइन्छ ।

दोस्रो– सपना प्रधानको आदेश डा. मनोज शर्माको विरुद्धमा आएकै होइन । शर्माको विषय जोडिएका रिटहरु दर्ता हुनुपर्छ र त्यसमाथि सुनुवाई हुनुपर्छ भनेर न्यायिक प्रक्रियासँग मात्रै जोडिएको आदेश हो यो ।

तर, डा. मनोज शर्माबारे सर्वोच्च अदालतमा प्रश्न नै उठाउन पायँदैन त ? संवैधानिक परिषदले गरेको निर्णयबारे सर्वोच्चमा प्रश्न उठाउनै मिल्दैन त ? व्यवस्थापिका संसदको विषयमा समेत सर्वोच्चमा बहस हुन सक्दैन ? अवश्य सक्छ ।
संवैधानिक परिषदले गरेको सिफारिस या सरकारले ल्याएको अध्यादेशबारे सर्वोच्चमा प्रश्न उठ्नु शक्ति पृथकीकरण विपरीत कार्य होइन ।

यो पनि-
बार आन्दोलित, सर्वोच्च अदालत प्रशानविरुद्ध लालटिन बालिने

कामु प्रधानन्यायाधीश सपनाको आदेश : कर्मचारी पन्छिएपछि दर्ता भएन रिट

संसदमा पटके ‘संविधानापत्ति’ ! ‘वकील’ले धारा मिच्दा सभामुख हेरेको हेर्‍यै

प्रस्तावित प्रधानन्यायाधीशविरुद्धको रिट दर्ता आदेशमा मल्लले लिएका तीन कानूनी आधार

अब के होला ?

यसमा लामो कुरा छैन । सर्वोच्च अदालतमा समस्या सिर्जना गर्ने काम कर्मचारीहरुले गरेका हुन् । अध्यादेश र बरियताबारे आएका रिटहरु दरपीठ गरेका कर्मचारीले ती दरपीठविरुद्ध परेका रिट दर्ता गरिदिने हो भने अहिलेको समस्या एक मिनेटमा समाधान हुन्छ ।

तर, कर्मचारीहरु हुनेवाला प्रधानन्यायायाधीश र बालेन सरकारको भूतबाट यति धेरै तर्सिएका छन् कि उनीहरुले सोमबार प्रधानन्यायाधीशकै आदेशको बर्खिलाप गरे र रिटहरु दर्ता गर्न मानेनन् । यो भनेको न्याय प्रशासनमा देखिएको कार्यपालिकाको कालो छाया हो, यसले न्यायालयको भलो गर्दैन ।

त्यसर्थ, मंगलबार कामु प्रधानन्यायाधीशको आदेशअनुसार यी रिटहरु दर्ता भएमा समस्याको स्वतः समाधान हुनेछ । समस्या समाधान गर्ने या बल्झाउने ? जिम्मेवारी मुख्य रजिष्ट्रारको हातमा छ ।

अदालतको कर्मचारी न्यायायाधीशभन्दा ठूलो र निर्णायक हुनै सक्दैन ।

सम्बन्धित खवर

माछा अनुदानमा ७२ लाख बढी भ्रष्टाचार : कृषि कार्यालयका हाकिमसहित चार जनाविरुद्ध मुद्दा

माछा अनुदानमा ७२ लाख बढी भ्रष्टाचार : कृषि कार्यालयका हाकिमसहित चार जनाविरुद्ध मुद्दा

काठमाडौँ ।  जिल्ला कृषि विकास कार्यालय धनुषाका तत्कालीन कार्यालय प्रमुख सुकेश्वर झासहित तीन कर्मचारी...

गुठीको जग्गा किर्ते गरेको आरोपमा टोखा सरस्वती मालपोतका तत्कालीन प्रमुखसहित २७ जना विरुद्ध मुद्दा

गुठीको जग्गा किर्ते गरेको आरोपमा टोखा सरस्वती मालपोतका तत्कालीन प्रमुखसहित २७ जना विरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँ  जिल्लाको साङ्ला (टोखा सरस्वती) स्थित निजी गुठी जग्गालाई किर्ते जालसाजी गरी...

बालविकास शिक्षकको नक्कली प्रमाणपत्र फेला, विशेष अदालतमा मुद्दा दायर

बालविकास शिक्षकको नक्कली प्रमाणपत्र फेला, विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । कैलालीको जानकी गाउँपालिका-३ नयाँ लायकपुरस्थित श्री मुक्त कमैया बाल संरक्षण आधारभूत विद्यालयकी...

सम्पत्ति छानबिन आयोगविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

सम्पत्ति छानबिन आयोगविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौँ । सम्पत्ति जाँचबुझ छानबिन आयोग २०८३ को गठन र कार्यविधिविरुद्ध दायर भएका रिट...