प्रहरीले अनुसन्धान रोक्दा रुबीले सरकारलाई झुकाइन्‌, पाँचबुँदे सहमति

जस नेपाल

६ जेठ २०८३

प्रहरीले अनुसन्धान रोक्दा रुबीले सरकारलाई झुकाइन्‌, पाँचबुँदे सहमति

काठमाडौँ । अपहरणपछि हत्या भएको भनिएको बाँकेकी निर्मला कुर्मी प्रकरणमा न्याय माग्दै अनसन बसेकी रुबी खानसँग सरकारले पाँच बुँदे सहमति भएको छ । सहमतिसँगै रुबीले २३औँ दिनमा अनशन तोडेकी छिन्‌ ।

रुबीले निर्मलाको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घटनाबारे निष्पक्ष अनुसन्धान माग गर्दै वैशाख १५ देखि आमरण अनशनमा बसेकी थिइन्‌ । स्वास्थ्य अवस्था खराब हुँदै गएपछि उनलाई बाँकेकै  अनशनरत रुबीको माग सम्बोधन गर्न सरकारलाई सार्वजनिक दबाब बढेको थियो ।

आज (बुधबार) सञ्जिवनी कलेज अफ मेडिकल साइन्सेज प्राइभेट लिमिटेड (नेपालगन्ज अस्पताल)मा प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले पानी पिलाएर रुबीको अनशन तोडाएकी हुन्‌ । रुबीसँग वार्ता गर्न सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौर, गृह मन्त्रालयका सहसचिव एव प्रवक्ता आनन्द काफ्ले र दीपा दाहाललाई नेपालगन्ज पठाएको थियो ।

रुबी र सरकारबीच भएको सहमतिपत्रमा जिल्ला प्रहरी कार्यालय, बाँकेमा २०७७ चैत २० गते दर्ता भएको निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान सम्बन्धी मुद्दाका सम्बन्धमा हालसम्म भएका अनुसन्धानको अध्ययन गरी यथाशीघ्र न्यायिक प्रक्रियामा लगिने उल्लेख छ ।

यस्ता छन्‌ सहमतिका पाँच बुँदा :

१) जिल्ला प्रहरी कार्यालय, बाँकेमा २०७७ चैत २० गते दर्ता भएको निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान सम्बन्धी मुद्दाका सम्बन्धमा हालसम्म भएका अनुसन्धानको अध्ययन गरी यथाशीघ्र न्यायिक प्रक्रियामा लैजाने ।

२) अनशनरत रुबी खानले उठाउनु भएका अन्य घटनाका अनुसन्धानका सम्बन्धमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाडबाट छानविन गरी, त्यसमा कमी-कमजोरी पाइएमा प्रहरी कर्मचारीउपर प्रहरी नियमावली बमोजिम कानुनी कारबाही गर्ने ।

३) अनशनरत रुवी खान विरुद्ध जिल्ला प्रहरी कार्यालय, बाँकेमा दर्ता भएको ‘सार्वजनिक शान्ति विरुद्धको कसुर’ मुद्दा माथिको अनुसन्धान तत्कालै टुङ्ग्याउन निर्देशन दिने । यस मुद्दामा जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख, प्रहरी उपरीक्षक लगायत कर्मचारीहरूको भूमिका सम्बन्धमा प्रहरी प्रधान कार्यालयले छानविन गरी कमि कमजोरी पाइएमा कारवाही गर्ने ।

४) माथि उल्लिखित विषयहरूलाई लिएर अनशनरत रुवी खान र महिला अधिकारकर्मीहरूलाई सुरक्षा दिने व्यवस्था मिलाउन बाँके स्थित जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिने ।

५) यो सहमतिसँगै अनशनरत रुबी खानले २३ औं दिनमा अनशन तोड्‌ने ।

के थियो घटना ?

नेपालगञ्ज उपमहानगरपालिका – १७ मा बसोबास गर्ने गरेकी एकल महिला निर्मला कुर्मी वि.सं. २०७५ माघ २५ मा बेपत्ता भएकी थिइन्‌ । २०७७ पुस १४ मा प्रहरीले निर्मलाको ‘मृत्यु भएको पुष्टि गरेको’ थियो ।

भारतमा जन्मिएकी निर्मलाले नेपालका महालु कुर्मीसँग विवाह गरेपछि नेपालको अङ्गीकृत नागरिकता पाएकी थिइन्‌ । उनका दुई छोरा रामसागर र सुरेश थिए ।

२०६२ मा श्रीमान मुहालुको मृत्यु भएपछि उनी छोराहरूसँगै बस्दै आएकी थिइन्‌ । तर, १० दिनको फरकमा २०६६ कात्तिकमा दुबै छोराको मृत्यु भएको थियो ।

छोराहरूको मृत्यु भएको दुई वर्षपछि २०६८ मा निर्मलाले भारत जगन्नाथपुरका अर्जुन कुर्मीसँग दोस्रो विवाह गरेकी थिइन्‌ । त्यसपछि उनी भारतमै बसेकी थिइन्‌ । भएको जग्गाजमिन स्याहार्न उनी नेपाल पनि आइरहन्थिन्‌ ।

त्यसरी नै नेपाल आएकी निर्मला २०७५ माघदेखि बेपत्ता भइन्‌ । त्यसको दुई वर्षपछि प्रहरीले निर्मलाको मृत्यु भारतमै भएको भनी जानकारी दिएको थियो । तर, उनको अपहरणपछि हत्या भएको भन्दै बाँके प्रहरीमा जाहेरी परेको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा भारतका अर्जुनसँग विवाह गरेको एक वर्षभित्रै नेपालतर्फ भएको निर्मलाको पाँच बिघा जमिनमध्ये दुई कट्ठा छिमेकी निजामुद्दिन दर्जी इद्रिसकी श्रीमती जुबेदा दर्जी इद्रिसको नाममा पास भएको पाइएको थियो । अरू चार बिघा आठ कट्ठा जग्गा रत्ना थापाको नाममा पास भएको भेटिएको थियो ।

निर्मलाको जग्गा हत्याउन नेपाली काङ्ग्रेसका तर्फबाट लुम्बिनी प्रदेश सभा सदस्य बादशाह कुर्मी, कुँवर बब्बन सिंह, धिरेन्द्र सिंह, अम्मरलाल कुर्मी, भारतीय नागरिक मुनिम कुर्मी, कृष्णमुरारि सिंह, उर्मिला कनोजिया, धीरेन्द्र सिंह, रमेश थापा र पार्वती विष्टलगायत आठ जनाले षडयन्त्र गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो ।

निजहरूले निर्मलालाई कुटपिट गरी सम्पत्ति खाने नियतले सम्पूर्ण कागजातहरू नागरिकता, लालपुर्जा, नाता कायमको कागजातसमेत जबरजस्ती खोसेर लगेको जाहेरीमा उल्लेख छ ।

गृह मन्त्रालयका तत्कालीन सहसचिव हिरालाल रेग्मी संयोजकत्वको गठित छानबिन समितिले २०७८ कात्तिक १४ गते तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाउँदै निर्मला बेपत्ता पार्न कांग्रेस नेता बादशाह कुर्मी लगायतका व्यक्तिहरु संलग्न रहेको जनाएको थियो । कुर्मी २०७९ मा भएको प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसबाट बाँकेको क्षेत्र नम्बर ३ (२) बाट निर्वाचित भएका थिए ।

सम्पत्तिका लागि निर्मलाको हत्या भएको भन्दै छानबिन माग गर्दै अधिकारकर्मी रुबी लगायतले पटकपटक आन्दोलन गरेका थिए । पहिले छोराहरूको षडयन्त्रपूर्वक हत्या गरी पछि निर्मलाको हत्या गरिएको अधिकारकर्मीहरूले दाबी गरिरहेका छन्‌ ।

उक्त प्रकरणमा अनुसन्धान र अदालती प्रक्रिया सुरु गर्न माग राख्दा प्रहरी प्रशासनले प्रमाण नपुगेको जवाफ दिने गरेको थियो । यसरी माग राख्ने रुबीलाई उल्टै प्रहरीले ‘सार्वजनिक शान्ति विरुद्धको कसुर’ मुद्दामा तानेको थियो ।

बाँके प्रहरीमा दिइएको जाहेरी प्रशासनले विचाराधीन राखेको छ । गृह मन्त्रालयको छानबिन प्रतिवेदनले निर्मला बेपत्ता बनाउन काँग्रेस नेता बादशाह कुर्मी लगायतको सङ्लग्नता औँल्याए पनि प्रहरीले कसुर गरेको प्रमाण नभएको भन्दै अनुसन्धान रोकिरहेको छ ।

सम्बन्धित खवर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणका रोमाञ्चक पक्षहरू

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणका रोमाञ्चक पक्षहरू

काठमाडौँ । गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमण गरे । उक्त भ्रमण...

एलएलबी प्रवेश परीक्षाको आवेदन फाराम भोलिसम्म भर्न पाइने

एलएलबी प्रवेश परीक्षाको आवेदन फाराम भोलिसम्म भर्न पाइने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय कानून सङ्काय, एलएलबी प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फाराम भर्ने...

सपना प्रधान १५ दिन बिदामा बस्ने, तीन न्यायाधीश हटाउने शर्माको चाहना

सपना प्रधान १५ दिन बिदामा बस्ने, तीन न्यायाधीश हटाउने शर्माको चाहना

काठमाडौँ । बरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल १५ दिन बिदामा बस्ने भएकी छन् । मंगलबारदेखि...

प्रधान न्यायाधीशको इतिहास : हरिप्रसाददेखि मनोज कुमारसम्म

प्रधान न्यायाधीशको इतिहास : हरिप्रसाददेखि मनोज कुमारसम्म

काठमाडौँ । वरिष्ठताको लामो परम्परा तोडेर प्राज्ञिक पृष्ठभूमिका कानुनविद् डा. मनोज कुमार शर्मा नेपालको...