सिराहा मोबाइल नष्ट प्रकरण : गैरकानुनी कार्यको जिम्मेवारी कसले लिने ?

जस नेपाल

२९ जेठ २०८३

सिराहा मोबाइल नष्ट प्रकरण : गैरकानुनी कार्यको जिम्मेवारी कसले लिने ?

काठमाडौँ  । सिराहामा एसईई तथा एसएलसी (+2) परीक्षाका क्रममा जफत गरिएका सयौं मोबाइल फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएको घटनाले देशभर चर्चा बटुलिरहेको बेला सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले जिल्ला प्रशासन कार्यालय सिराहालाई मोबाइल र डाटा नष्ट नगर्नु भनी आदेश दिएको छ । तर समस्या भने आदेश आउँदा नै ती उपकरणहरू नष्ट भइसकेका थिए भन्ने हो । 

अधिवक्ता अनिल कुमार साह, विद्यार्थी महेश कुमार महासेठ, रमण कुमार यादवलगायतले दायर गरेको रिटमा सर्वोच्चले `सुविधा र सन्तुलनको`आधारमा अन्तरिम आदेश दिएको छ । आदेशमा जिल्ला प्रशासनको २०८२ वैशाख १३ गतेको सूचनालाई रोक्न निर्देशन दिइएको छ र विपक्षीहरूलाई कारण देखाउ आदेश पनि जारी भएको छ । 

यस सम्बन्धमा अदालतले सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गरेको हो ।

अदालतले विपक्षी नेपाल सरकार गृहमन्त्रालयसहितका पक्षलाई महान्यायाधिवक्ताको कार्यालयमार्फत १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ। रिट निवेदनसहितको मिसिल अध्ययन गरी निवेदकतर्फका अधिवक्ता विकास यादव र अनिल कुमार साहको बहस सुनेर यो आदेश जारी गरिएको जनाइएको छ ।

शिक्षा तथा खेलकुदमन्त्री  एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले सिराहाको उक्त घटनालाई गैरकानुनी बताएका छन् । उनले क्याबिनेट बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बाेल्दै संघीय सरकार वा शिक्षा मन्त्रालयले मोबाइल नष्ट गर्न कुनै निर्देशन नदिएको बताउका थिए ।

मन्त्री पोखरेलका अनुसार परीक्षार्थीबाट जफत गरिएका सयौं मोबाइल फोन (७ वटा आइफोन, ४८९ एन्ड्रोइड) र स्मार्टवाच पानीमा डुबाएर नष्ट गर्नु निजी सम्पत्ति नष्ट गर्ने गैरकानुनी कार्य हो । उनले यदि अदालतले आदेश दिएमा दोषीमाथि छानबिन गरी कारबाही गर्नुपर्ने र पीडित विद्यार्थीलाई कानुनी प्रक्रिया अनुसार क्षतिपूर्ति दिनुपर्ने बताएका छन् । यो निर्णय प्रादेशिक स्तरबाट भएको देखिने भन्दै सम्बन्धित निकायले जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ।

तर नष्ट भइसकेका सम्पत्तिको हकमा यो आदेश कति प्रभावकारी हुन्छ ? यो प्रश्नले कानुनी क्षेत्रमा गम्भीर बहस उठाएको छ ।

कानुनी रुपमा हेर्दा शिक्षा ऐन, २०२८ ले परीक्षा मालप्राक्टिसलाई कसूर मानेको छ । दफा १७ अनुसार परीक्षाको मर्यादा भंग गर्ने, प्रश्नपत्र गोप्यता भंग गर्ने वा अमर्यादित कार्य गर्नेलाई एक लाखसम्म जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुन सक्छ । विद्यार्थीलाई परीक्षाबाट निष्कासन गर्न सकिन्छ र अन्य उल्लंघनमा एक हजारदेखि पच्चीस हजारसम्म जरिवाना गर्न सकिन्छ ।

तर ऐनमा जफत गरिएका सामग्री नष्ट गर्ने प्रावधान नै छैन । जफतको व्यवस्था छ, तर सामान्यतया त्यस्ता सामग्री लिलामी, अभिभावकलाई फिर्ता, प्रमाणका रूपमा राख्ने वा कानुनी प्रक्रिया पूरा गरेर मात्र व्यवस्थापन गर्नुपर्ने हुन्छ । 

तत्कालीन मधेश प्रदेशकी शिक्षा मन्त्री रानी शर्मा तिवारीको `नष्ट गर्ने` घोषणा र जिल्ला परीक्षा समन्वय समितिको निर्णयलाई आधार मानेर प्रहरीले सामूहिक रूपमा पानीमा डुबाएर नष्ट गरेको थियो । यो घोषणा कुन ऐन, नियमावली वा कानुनी आधारमा टिकेको थियो भन्ने स्पष्ट छैन ।

नेपालको संविधान, २०७२ को धारा २५ ले सम्पत्तिको हक  सुनिश्चित गरेको छ । प्रत्येक नागरिकलाई कानूनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने र कारोबार गर्ने हक छ । सार्वजनिक हितमा मात्र कानून बमोजिम क्षतिपूर्ति दिएर मात्र राज्यले सम्पत्ति अधिग्रहण गर्न सक्छ ।  बिना कुनै स्पष्ट  कानुनी आधार कसैको सम्पत्ति नष्ट गर्ने अधिकार कुनै पनि निकाय वा व्यक्तिमाथि निहित छैन ।

त्यसैले अभिभावकहरूको निजी सम्पत्ति (मोबाइलहरू) बिना कुनै कानुनी प्रक्रिया, जरिवाना प्रक्रिया वा अदालती आदेशबिना नष्ट गर्नु संवैधानिक हकको ठाडो उल्लंघन भएको र नष्ट भैसकेका सम्पत्तिको हकमा उपयुक्त क्षतिपूर्ति सम्बन्धित निकायले दिनुपर्ने सम्बन्धमा धेरैले चासो देखाएका छन् ।

अदालतमा विचाराधीन यस मुद्दाको अन्तिम किनारा नलागेकाले उक्त कार्यको जिम्मेवारी कसले लिने भन्ने अन्योल देखिनु सामान्य हो । पछि मुद्दा टुङ्गो लागेपछि नै दोषी को हो भन्ने पनि टुङ्गो लाग्ला । तर हाल सर्वोच्चको अन्तरिम आदेशले निकट भविष्यमा यस्तो घटना नदोहोरियोस् भन्ने उद्देश्य राखेको अर्थ लगाउन सकिन्छ ।

हेर्नुहोस् अदालतको आदेश –

यो पनि –

डुबाएर मोबाइल नष्ट : कुन कानूनले दियाे मधेशकी तत्कालीन शिक्षा मन्त्रीलाई निजी सम्पत्ति मास्ने आधार ?

मोबाइल नष्ट गरेको विरोधमा सिरहामा विद्यार्थी प्रदर्शन

सम्बन्धित खवर

रौतहट प्रहरीको एक वर्ष : ४४८ फरार प्रतिवादी पक्राउ, पाँच करोडभन्दा बढीका तस्करीका सामान बरामद

रौतहट प्रहरीको एक वर्ष : ४४८ फरार प्रतिवादी पक्राउ, पाँच करोडभन्दा बढीका तस्करीका सामान बरामद

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/८३ मा अदालतबाट फरार रहेका ४४८...

झापामा वित्तीय अपराध बढ्दो : एक वर्षमा ३७३ मुद्दा, ३१० अभियुक्त अझै फरार

झापामा वित्तीय अपराध बढ्दो : एक वर्षमा ३७३ मुद्दा, ३१० अभियुक्त अझै फरार

झापा। डिजिटल प्रविधिको विस्तारसँगै आर्थिक कारोबार सहज बन्दै गए पनि झापा जिल्लामा वित्तीय अपराधका...

झापामा एक वर्षमा पाँच करोडको अवैध सामान बरामद

झापामा एक वर्षमा पाँच करोडको अवैध सामान बरामद

भद्रपुर । जिल्ला प्रहरी कार्यालय झापाले आर्थिक वर्ष २०८२/८३ मा रु पाँच करोड बढीका...

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद रु ५५ लाख ९०...