रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/८३ मा अदालतबाट फरार रहेका ४४८ प्रतिवादीलाई पक्राउ गर्दै ७६ वर्ष ११ महिना ११ दिन बराबरको कैद सजाय कार्यान्वयन गरेको छ । यस अवधिमा उनीहरूबाट ६९ लाख ७१ हजार ८७४ रुपैयाँ जरिवाना समेत असुल गरिएको प्रहरीले जनाएको छ ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा वार्षिक कार्यसम्पादन विवरण सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सीताराम रिजालले एक वर्षमा विभिन्न प्रकृतिका १ हजार १५२ मुद्दा दर्ता भएको जानकारी दिए । तीमध्ये ६८० वटा मुद्दा फर्छ्योट भइसकेका छन् भने ४७२ वटा अनुसन्धानकै क्रममा छन् ।
प्रहरीका अनुसार समीक्षा अवधिमा विभिन्न मुद्दामा ६९४ जनालाई पक्राउ गरिएको छ । चार हजार ८५० ठाडो उजुरीमध्ये चार हजार ३८० वटा फर्छ्योट भएका छन् भने ४७० वटा प्रक्रियामा रहेका छन् ।
लागुऔषध नियन्त्रण अभियानअन्तर्गत ३९ वटा मुद्दा दर्ता गरी ५१ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस क्रममा ८४७ किलो ७२० ग्राम गाँजा, २५ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर, चार हजार २६५ नशालु एम्पुल तथा १३ हजार ९१६ वटा लागुऔषधजन्य ट्याब्लेट बरामद गरिएको छ ।
अवैध हातहतियार नियन्त्रण अभियानमा छ थान हतियार, ११ राउन्ड गोली बरामद गरिएको छ भने तीन जना पक्राउ परेका छन् । यस्तै, खोटा मुद्रासम्बन्धी तीन मुद्दामा सात जनाविरुद्ध कारबाही अघि बढाइएको र एक लाख ३६ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ ।
ट्राफिक व्यवस्थापनतर्फ आर्थिक वर्षभरि एक हजार ८८ वटा सवारी दुर्घटना हुँदा ५३ जनाको मृत्यु भएको छ भने एक हजार ६९६ जना घाइते भएका छन् । ट्राफिक नियम उल्लङ्घन गर्ने १० हजार २५५ सवारीसाधनलाई कारबाही गर्दा एक करोड एक लाख ३७ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
भन्सार छली नियन्त्रण अभियानमा १८ जनालाई पक्राउ गरी १५५ वटा सवारीसाधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यस क्रममा पाँच करोड ९२ लाख ५५ हजार ७२१ रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद गरी सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको छ ।
यसैगरी, स्रोत नखुलेको १३ लाख ६२ हजार २०० रुपैयाँसहित चार जनालाई पक्राउ गरिएको छ । अवैध सालको काठ बरामद गरी पाँच लाख ९५ हजार २२५ रुपैयाँ राजस्व सङ्कलन गरिएको छ भने नदीजन्य पदार्थको अवैध उत्खननमा संलग्न ३० सवारीसाधनसहित तीन जनालाई पक्राउ गरी दुई लाख ५७ हजार ३०० रुपैयाँ राजस्व सङ्कलन गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आर्थिक वर्ष २०८२/८३ मा एक लाख ३३ हजार ७६४ सेवाग्राहीले विभिन्न प्रहरी सेवा लिएका छन् । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत वर्षभरि १५४ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको पनि प्रहरीले जनाएको छ ।

