काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा काठमाडौँको धुम्बाराहीबाट पक्राउ परेकी छन् । बाल शोषणसम्बन्धी आरोपमा पुरानो मुद्दा पुनः सक्रिय बनेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार नाबालिगमाथि शारीरिक तथा मानसिक दुर्व्यवहार गरेको आरोपमा अनुसन्धान अघि बढाइएको छ । यसअघि दर्ता भएको उजुरी र थप प्रमाणहरूको आधारमा केस पुनः खोलिएको जनाइएको छ।
यसअघि बालेन्द्र शाह काठमाडौको मेयर रहँदा महानगरकै टोलीले एक नाबालिगलाई घरेलु कामदारका रूपमा राखी कुटपिट तथा शोषण गरिएको भन्दै पीडितलाई काठमाडौँबाटै उद्धार गरेको थियो । उद्धारका क्राममा नगरप्रहरी, वडाका प्रतिनिधि र प्रहरी समेतको टोलीले घटनास्थलको मुचुल्कासमेत गराएका थिए ।
६ वर्षदेखि सांसद शर्माको घरमा रहेर काम गरिरहेकी ती नाबालिकाले आफूमाथि कुटपिट हुने गरेको बताएकी थिइन् । घरधनी (प्रदेश सांसद रेखाकुमारी शर्माको परिवार)ले हात र पाइपले पिट्ने गरेको भन्दै नाबालिकाले घरमा पोछा लगाउने, खाना बनाउने, बिरुवामा पानी हाल्ने लगायतका काम गर्नुपरेको बयान दिएकी थिइन् ।
बयानका क्रममा नाबालिककाले ६ वर्षदेखि परिवार भेट्न नपाएको र दशैंमा समेत घर जान नदिएको गुनासो गरेकी थिइन् । सर्वेक्षणका कागजात परिक्षणका क्रममा इजलासले नाबालिकासँग गोप्य रूपमा समेत कुराकानी गरेको थियो ।
उनलाई यातना समेत दिएको भेटिएपछि काठमाडौं महानगरपालिकाले प्रदेश सांसद शर्माविरुद्ध प्रहरीमा उजुरी दिएको थियो ।
घटनापछि मुद्दा दर्ता भए पनि अनुसन्धान प्रभावकारी रूपमा अघि नबढेको भन्दै आलोचना भएको थियो । राजनीतिक पहुँचका कारण कारबाही प्रक्रिया प्रभावित भएको आरोपसमेत लागेको थियो । शर्मालाई मुद्दा चलाउन नपर्ने रायसहित सरकारी वकिलको कार्यालयले तयार पारेको फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको थियो ।
त्यसबखत तत्कालीन मेयर बालेनले सामाजिक सञ्जाल फेसबुक मार्फत तत्कालीन प्रधानमन्त्री केपी ओली माथी कटाक्ष गरेका थिए ।

