पोर्चुगलमा आप्रवासीका लागि कानुनमा कडाइ

१६ मंसिर २०८२

पोर्चुगलमा आप्रवासीका लागि कानुनमा कडाइ

नेपालमा राजनीतिक परिवर्तन तिब्र गतिमा त भयो, तर राज्य रोजगारी सिर्जनामा भने चुकिरहेको छ । समृद्धि र विकासको नारा उत्पातले घन्किरहेको छ, तर खेतबारीहरु बाँझा छन् अनि युवाहरुको लर्को वैदेशिक रोजगारी र आप्रवासनतिर छ । देशको फोक्सो विदेशबाट पठाइने रेमिटेन्सको अक्सिजनले चलिरहेको छ । देशको यो चालाले सुनिश्चित भविष्यको सङ्केत गर्दैन ।

देशमा ठूलो राजनैतिक भाँडभैलो मच्चिरहेछ । उता, वैदेशिक रोजगारी वा आप्रवासनमा गएका नेपालीहरुको ब्यथा भने दिनदिनै दुख्दो र बल्झँदो छ । सम्बन्धित देशले दिनदिनै कडा नियम कानून ल्याएका कारण नेपालजस्तो गरीब देशबाट रोजीरोटीका लागि प्रवास पसेका नेपालीहरु पनि प्रभावित भएका छन् ।

नेपालीहरुका लागि युरोपेली देश पोर्चुगल एक आकर्षक गन्तव्य थियो । विभिन्न बाटो हुँदै पोर्चुगल टेकेका आप्रवासीहरुका लागि आकर्षक पारिश्रमिक नभए पनि उनीहरुले रोजगारी पाएकै थिए । रोजगारीकै क्रममा तिरिएको करको फलस्वरुप उनीहरुले अस्थायी आवासीय अनुमति कार्ड पनि पाएकै थिए । तर, विगत डेढ वर्षयतादेखि पोर्चुगल सरकारले आप्रवासीहरुलाई आवासीय अनुमतिमा रोक लगाएको छ ।

यस्तै, अस्थायी कार्ड पाइसकेका आप्रवासीहरुको आवासीय अनुमति नवीकरणको नियमलाई पनि पहिलेभन्दा कडा बनाइएको छ । अब आप्रवासीहरुका लागि पोर्चुगल पहिलेजस्तो सहज रहेन ।

यसअघि वर्षभरिमा तीन महिनाको कर तिरेको देखिएमा बिना कुनै व्यवधान त्यस्ता आप्रवासीहरुको आवासीय अनुमति नवीकरण हुने गर्थ्यो । तर अहिले आएर पोर्चुगलको आप्रवासी तथा शरणार्थी मामिलासम्बन्धी एजेन्सी (एआईएमए) ले नवीकरणसम्बन्धी आवेदन दिएका बेला काम गरिरहेको वा बेरोजगार बसेको भनेर आवेदकसँग बुझ्ने र रोजगारी गरिरहेको नदेखिए आवश्यक कागजपत्र अपुग भएको भनी खबर पठाउने गरिरहेको छ ।

नवीकरणको आवेदनका लागि भर्नुपर्ने विद्युतीय फारमबाट बुझाउनुपर्ने आवश्यक कागजपत्रहरुमा कामको सम्झौता र तत्काल तीन महिनाको तलब बुझेको स्लीपलाई पनि अनिवार्य गरेको छ । यसले पनि आवासीय अनुमति नवीकरणका लागि आवेदकले काम गरिरहेको हुनुपर्ने स्पष्ट पार्छ ।

पहिलोपटक अस्थायी आवासीय अनुमतिको आवेदन दिएकाहरु पनि ब्यग्ररुपमा कार्डको प्रतीक्षा गरिरहेका छन् ।

पारिवारिक पुनर्मिलनका लागि पनि अहिले कानुन कडा गरिएको छ । पतिले पत्नी र १८ वर्ष मुनिका छोराछोरी तथा तथा पत्नीले पति र १८ वर्षमुनिका छोराछोरी अनि बाबु आमालाई बोलाएर यतै बसोबासको अनुमतिका लागि आवेदन दिन पाउँछन् ।

पहिले अस्थायी आवासीय अनुमति पाउनेबित्तिकै आवेदन दिन पाइन्थ्यो तर अब अस्थायी अनुमति पाएको दुई वर्षपछि मात्रै पारिवारिक पुनर्मिलनका लागि आवेदन दिन पाइने भएको छ । त्यो अवधिमा १८ वर्ष नाघिसकेका छोराछोरी आफ्ना आमाबाबुसँग पोर्चुगल आएर पुनर्मिलन हुनबाट वञ्चित हुनेछन् ।

पासपोर्ट पाउन अब १० वर्ष

पोर्चुगलमा अस्थायी आवासीय अनुमति पाएको पाँच वर्षपछि स्थायी बसोबासका लागि आवेदन दिन सकिने कानुन थियो । तर, पोर्चुगलको संसदले हालै यसलाई परिवर्तन गरेको छ । युरोपेली संघका देशहरुका साथै मोजाम्बिक, अङ्गोला, ब्राजिलजस्ता पोर्तुगाली भाषा बोल्ने देशबाट आएका आप्रवासीले अस्थायी बसोबास अनुमति पाएको सात वर्षपछि मात्र स्थायी बसोबासको अनुमतिका लागि आवेदन दिन पाउनेछन् । अन्य देशबाट आएकाहरुका लागि १० वर्षे कानुन तोकिएको छ ।

यो कानुन अक्टोबर २४ मा पोर्चुगलको संसदले पारित गरेको हो । अक्टोबर २४ अघि आवेदन दिने आप्रवासीहरुका लागि भने पुरानै कानुनअनुसार पाँच वर्षे अवधिले नै काम गर्नेछ ।
स्थायी बसोबासको अनुमति पाएका आप्रवासीहरुले तत्कालै पोर्चुगलको पासपोर्ट पाउँछन् । पोर्चुगलको पासपोर्ट पाएपछि आप्रवासीहरुका लागि बेल्जियम, आयरल्याण्ड, जर्मनी, डेनमार्क, नर्वेलगायतका देशहरु आकर्षक गन्तब्य हुने गरेको छ ।

आवासमा पनि कडाइ

पोर्चुगल सरकारले भाडामा बस्दै आएका आप्रवासीहरुका लागि लागू गरिएको नियमलाई पनि कडा बनाएको छ । पहिले जसले घर भाडामा लिएको थियो, उसको सिफारिसका आधारमा आप्रवासीहरुलाई नगरको वडासरहको कार्यालय जुन्ता फरगेसियाले आवासको ठेगाना खुलेको पत्र दिने गरेको थियो । त्यसलाई पोर्चुगल सरकारले मान्यता दिँदै आएकोमा अब यस प्रकारको कागजलाई मान्यता नदिइने नियम लागू गरेको छ ।

परिवर्तित नियमअनुसार घरधनी भएको हकमा स्थायी सम्पतिको प्रमाणपत्र, भाडामा बस्ने भएमा आवेदकको नाम उल्लेख भएको घर भाडाको सम्झौता र अघिल्लो महिना भाडा तिरेको रसिद अनिवार्य रुपमा बुझाउनु पर्ने नियम लागू गरिएको छ । यदि घर ऋणमा लिइएको हो भने सोसम्बन्धी सम्झौता पत्र र स्थायी सम्पति प्रमाणपत्र पेश गरेमात्रै आवासको प्रमाण मान्य हुने नियम पनि लागू गरेको छ ।

त्यस्ता सम्झौतामा नाम नभएकाहरु पनि पोर्चुगलमा बसोबास गरिरहेका छन् । उनीहरुका लागि चाहिँ के गर्ने त ?

त्यस्तो अवस्थामा बसोबास गरिरहेकाहरुले घरधनीको पूरा नाम, कर नम्बर र भाडा वा निःशुल्क प्रयोग भएको भन्ने कानुनी आधार खुलाएर उल्लेख भएको कागज पेश गर्दै त्यो स्थानमा आफू बास्तवमै बस्दै आएको र यदि झुटा ठहरिए कानुनले तोकेअनुसार सजाय भोग्न तयार भएको प्रतिज्ञा पत्रमा आवेदकले हस्ताक्षर गर्नुपर्नेछ ।

यसका लागि आवेदकले कर कार्यालय (फिनान्स)बाट जारी भएको प्रमाण पत्र पेश गर्नुपर्नेछ । तर यो प्रमाणपत्र ३० दिनभन्दा पुरानो भएको अवस्थामा त्यो मान्य हुने छैन । साथै, उनको फिनान्सको कागज पनि सोही ठेगानामा दर्ता भएको हुनुपर्नेछ ।

पोर्चुगलमा आप्रवासीहरुको अत्यधिक चाप भयो भन्दै त्यसलाई रोक्नुपर्ने मुद्दा बोकेर पोर्चुगलमा “सेगा” नामको राजनीतिक दल नै खुलेको छ । पोर्चुगाली भाषामा सेगा शब्दको अर्थ हो, पर्याप्त । यो दलले अधिकतम सीट नजिते पनि सरकारमा प्रभावकारी भूमिका खेल्ने गरी स्थान ओगटेको छ । सोही दलको निरन्तरको दवावले पनि पोर्चुगल संसदले आप्रवासीसम्बन्धी कानुनलाई कडा बनाएको हो ।

(पत्रकार एवं लेखक राजकुमार दिक्पाल पोर्चुगलमा बसोबास गर्छन् )

 

सम्बन्धित खवर

मान्छे–मान्छेबीच विभेद गर्ने कानून

मान्छे–मान्छेबीच विभेद गर्ने कानून

यतिखेर मेरो आँखा राजा राजेन्द्रविक्रम शाहको समयमा जारी एउटा रुक्कामाथि परेको छ । यो...

महिला माथिल्लो पदमा पुग्दा उहाँका पक्षमा वकालत गरौँ

महिला माथिल्लो पदमा पुग्दा उहाँका पक्षमा वकालत गरौँ

हामी कानुन व्यवसायी महिलाहरुको संख्या निकै सीमित थियो। पेशागत यात्रामा विभिन्न आरोह अवरोह, चुनौती...

दुईतिहाइको सरकार बन्दैछ, न्यायपालिकामा ताण्डव नहोस् !

दुईतिहाइको सरकार बन्दैछ, न्यायपालिकामा ताण्डव नहोस् !

अहिले मुलुकमा दुई तिहाइको सरकार बन्न लागेको अवस्था छ। नेपाल बार एसोसिएसन नवनिर्मित सरकारलाई...

बालेन सरकारले नीतिगत भ्रष्टाचारको जरा काटोस !

बालेन सरकारले नीतिगत भ्रष्टाचारको जरा काटोस !

भ्रष्टाचारको नियन्त्रण ,सदाचार र सुशासनको प्रवर्धन आम नेपालीको आकांक्षा हो । तर सामाजिक न्याय,...