सर्वोच्चको आदेश : विश्वविद्यालय सम्बन्धी अध्यादेश अब के हुन्छ ?

जस नेपाल

३० वैशाख २०८३

सर्वोच्चको आदेश : विश्वविद्यालय सम्बन्धी अध्यादेश अब के हुन्छ ?

काठमाडौँ। सरकारले विश्वविद्यालय सभाबाट स्ववियु र प्राध्यापक संघको प्रत्यक्ष प्रतिनिधित्व हटाउने विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ ल्याएर विश्वविद्यालयसभामा `विद्यार्थी प्रतिनिधि` हटाउने उल्लेख थियो । सर्वोच्च अदालतले यो अध्यादेशको कार्यान्वयनमा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै रोक लगाएको छ । के अब विश्वविद्यालय सभामा विद्यार्थी संगठनका प्रतिनिधि सहभागी हुन पाउँछन्  ? यो प्रश्न अनुत्तरित छ ।

सरकारले विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश, २०८३ लाई उच्च शिक्षालाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने ठूलो सुधारको रूपमा प्रस्तुत गरेको छ । सरकारको तर्क छ कि विगतका वर्षहरूमा पार्टीका झण्डा, कार्यालय, गुटबन्दी, हडताल र तोडफोडले क्याम्पसको शैक्षिक वातावरण पूर्ण रूपमा बिगारेको छ । 

समयमै परीक्षा नहुने, रिजल्ट ढिलो हुने, भर्ना र नियुक्तिमा भागबण्डा तथा प्राध्यापकहरूको समय राजनीतिमा खर्च हुने जस्ता समस्या बढेका छन् । यसले गुणस्तरीय शिक्षा, अनुसन्धान र अन्तर्राष्ट्रिय प्रतिस्पर्धालाई गौण बनाएको छ ।

अध्यादेशले विश्वविद्यालय सभामा प्राध्यापक संघ, कर्मचारी संघ र स्ववियुको प्रत्यक्ष प्रतिनिधित्व हटाएर उनीहरूको ठाउँमा सामान्य रूपमा छानिने एक-एक जना प्रतिनिधि राख्ने व्यवस्था गरेको छ । साथै, उपकुलपति लगायत पदाधिकारीहरूको कार्यकालमा सरकारको बढी नियन्त्रण हुने प्रावधान पनि छन् । सरकारले यसलाई `डिपोलिटिसाइजेसन`अर्थात् राजनीतिकरणको अन्त्य भनेको छ ।

सर्वोच्च अदालतको अन्तरिम आदेश : अधिकार रक्षाको पहरेदारी

नेपालको संविधानको धारा १७ ले संघसंस्था गठन गर्ने स्वतन्त्रता सुनिश्चित गरेको छ । शान्तिपूर्ण भेला र अभिव्यक्ति स्वतन्त्रता पनि संरक्षित छन् । अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डले पनि यस्ता अधिकारमा `उचित प्रतिबन्ध` मात्र स्वीकार गर्छ, पूर्ण हटाउने होइन । सर्वोच्च अदालतको अन्तरिम आदेशले यही सिद्धान्तलाई प्रतिबिम्बित गर्छ-कुनै पनि अधिकारमा प्रतिबन्ध लगाउँदा आवश्यकता, औचित्य र न्यूनतम हस्तक्षेपको सिद्धान्त पालना गर्नुपर्छ ।

सरकारले `शिक्षालाई पार्टी संक्रमणबाट मुक्त गर्ने` भन्दै उच्च शिक्षालाई डिपोलिटिसाइज गर्ने नाममा विद्यार्थी युनियनको प्रतिनिधित्व हटाउने अध्यादेश ल्याए पनि सर्वोच्च अदालतले यसलाई मौलिक अधिकारको प्रश्नको रूपमा कडाइका साथ लिएको छ । 

विभिन्न विद्यार्थी संगठनका नेताहरूले दायर गरेको रिट निवेदन (०५२-WO-१२७३) माथि वैशाख २२, २०८३ माननीय न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । यो आदेश सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम जारी गरिएको हो । नियम ४९ ले रिट निवेदनमा तत्काल राहत आवश्यक देखिएमा मुद्दाको अन्तिम किनारा नलागेसम्म विपक्षी पक्षलाई कारण देखाउ आदेश दिँदै अस्थायी रोक लगाउने र यथास्थिति कायम राख्ने अधिकार दिन्छ । 

अदालतले अध्यादेशअनुसार नयाँ संरचना तत्काल लागू नगर्न, पुरानै प्रतिनिधित्व व्यवस्था कायम राख्न र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, शिक्षा मन्त्रालय, विश्वविद्यालय समन्वय समिति लगायत विपक्षीलाई छानबिनका लागि झिकाएको छ ।

यो आदेशले सरकारको अध्यादेशलाई नेपालको संविधानको धारा १७ (संघसंस्था गठन गर्ने स्वतन्त्रता) सँगको अनुकूलता,प्रतिनिधित्व हटाउने प्रक्रियाको औचित्य र आवश्यकता,विश्वविद्यालयको स्वायत्तता र विद्यार्थीहरूको अभिव्यक्ति स्वतन्त्रतामाथि पर्ने प्रभाव माथि छलफल गर्नेछ ।

विद्यार्थी युनियनको आवाज : प्रतिबन्ध कि नियमन ?

नेपालमा विद्यार्थी सक्रियता आधुनिकता र लोकतन्त्रको लडाइँसँगै सुरु भएको हो । सन् १९४७ को ‘जयतु संस्कृतम्’ आन्दोलन ले यसको सुरुआत गर्‍यो। तिनधारा पाठशालाका विद्यार्थीहरूले राणा शासनको पुरातन शिक्षाविरुद्ध विद्रोह गर्दै आधुनिक शिक्षा र प्रजातन्त्रको माग उठाए। यही आन्दोलनले १९५१ को राजनीतिक परिवर्तनको आधार तयार पार्‍यो।

पञ्चायती व्यवस्थामा राजनीतिक दलहरू प्रतिबन्धित हुँदा विद्यार्थी संगठनहरू-नेविसंघ र अखिल भूमिगत रूपमा सक्रिय रहे र प्रतिरोधको अग्रमोर्चामा उभिए।

सन् १९७९ को विद्यार्थी आन्दोलन एउटा परिवर्तनकारी मोड बन्यो। जुल्फिकार अली भुट्टोको (पाकिस्तानका पूर्व प्रधानमन्त्री ) फाँसीको विरोधबाट सुरु भएको आन्दोलन चाँडै राष्ट्रिय विद्रोहमा रूपान्तरण भयो। स्ववियुको अधिकारदेखि आर्थिक मुद्दासम्म उठाएका मागहरूले देशव्यापी आन्दोलन जन्मायो र पञ्चायतलाई पहिलो ठूलो धक्का दियो।

त्यसपछि १९९० को जनआन्दोलन र २००६ को जनआन्दोलन मा विद्यार्थीहरू सडकको अग्रपंक्तिमा देखिए-प्रदर्शन, संगठन र राजनीतिक परिवर्तनका प्रमुख चालकका रूपमा। यी आन्दोलनहरूले क्रमशः बहुदलीय प्रजातन्त्र पुनर्स्थापना र राजतन्त्रको अन्त्यसम्मको बाटो खोले।

विद्यार्थी नेताहरू आफ्ना कमजोरीबाट अनभिज्ञ छैनन् । गुटबन्दी, हिंसा, भर्ती र परीक्षामा हस्तक्षेप जस्ता समस्याहरू छन् । उनीहरू पनि सुधारको पक्षमा छन्- पारदर्शी निर्वाचन, आचारसंहिता, जिम्मेवारीपूर्ण आन्दोलन र मुद्दा केन्द्रित वकालत । तर उनीहरूको स्पष्ट अडान छ-प्रतिबन्ध होइन, नियमन । विचारधारा कानुनले हटाउन सकिँदैन । युनियनहरू विद्यार्थीका समस्या सम्बोधन गर्ने, प्रशासनसँग वार्ता गर्ने र युवालाई राजनीतिक रूपमा जागरुक बनाउने महत्वपूर्ण माध्यम हुन् । विद्यार्थी युनियनहरू शैक्षिक सुधार, छात्रवृत्ति, शुल्क वृद्धि र गुणस्तरीय शिक्षाको लागि महत्वपूर्ण माध्यम हुन् भन्ने उनीहरूको तर्क छ ।

हेर्नुहोस् पूर्ण पाठ –

 यो पनि –

विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयमा सर्वोच्चको अंकुश, अन्तिम टुंगो नलाग्दासम्म कार्यान्वयन नगर्न आदेश

सम्बन्धित खवर

ट्रेड युनियन अधिकार : सर्वोच्चमा पुगेको संवैधानिक प्रश्न

ट्रेड युनियन अधिकार : सर्वोच्चमा पुगेको संवैधानिक प्रश्न

काठमाडाैँ । सरकारले अध्यादेशमार्फत निजामती कर्मचारीहरूको ट्रेड युनियन संरचना हटाउने प्रयास गरेपछि, यो विषय ...

इन्दिरा गान्धीको हंस : कसको शक्ति ठूलो ? सरकार कि न्यायपालिका ?

इन्दिरा गान्धीको हंस : कसको शक्ति ठूलो ? सरकार कि न्यायपालिका ?

काठमाडौँ । संबैधानिक परिषद्को पछिल्लो निर्णयपछि प्रधानन्यायाधीश मनोज कुमार शर्माको नियुक्तिले कानुनविद्, वरिष्ठ अधिवक्ता,...

विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयमा सर्वोच्चको अंकुश, अन्तिम टुंगो नलाग्दासम्म कार्यान्वयन नगर्न आदेश

विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयमा सर्वोच्चको अंकुश, अन्तिम टुंगो नलाग्दासम्म कार्यान्वयन नगर्न आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम...

साताको अदालत : न्यायपालिकामा हलचल, मनोज शर्मा सिफारिसदेखि सुकुम्बासी मुद्दासम्म

साताको अदालत : न्यायपालिकामा हलचल, मनोज शर्मा सिफारिसदेखि सुकुम्बासी मुद्दासम्म

काठमाडौँ ।  यो साता अदालतको सबैभन्दा चर्चित विषय बनेको थियो-प्रधानन्यायाधीशको सिफारिस । संवैधानिक परिषद्ले...