सुरक्षा उपकरण खरिद प्रकरण : सुनिल पौडेललाई साढे ८ वर्ष कैद, १ करोड ५४ लाख भन्दा बढी जरिवाना

जस नेपाल

३२ असार २०८३

सुरक्षा उपकरण खरिद प्रकरण : सुनिल पौडेललाई साढे ८ वर्ष कैद, १ करोड ५४ लाख भन्दा बढी जरिवाना

काठमाडौँ । राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) का तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललाई सुरक्षा उपकरण खरिद ठेक्कासम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले ८ वर्ष ६ महिना कैद सजाय सुनाएको छ ।

विशेष अदालत काठमाडौंका अध्यक्ष न्यायाधीश सुदर्शनदेव भट्ट तथा सदस्य न्यायाधीश हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले असार ३२ गते सजाय निर्धारण गर्दै पौडेल र सहप्रतिवादी दीपक आनन्दलाई दोषी ठहर गरेको मुद्दामा अन्तिम सजाय तोकेको अदालतकी सूचना अधिकारी पार्वती हितानले जस नेपाललाई जानकारी दिइन् ।

अदालतको संक्षिप्त सजाय निर्धारण फैसलाअनुसार पौडेल र आनन्दले तत्कालीन विनिमय दरअनुसार नेपाली रु. ३ करोड ८ लाख ५० हजार ४ सय बराबर हुने २ लाख ८० हजार अमेरिकी डलर घुस लिन सहमति गरेको पुष्टि भएको छ । सोही आधारमा दुवै जनालाई बिगो बराबर रु. ३ करोड ८ लाख ५० हजार ४ सय कायम गरिएको छ ।

फैसलाअनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिम सुनिल पौडेललाई बिगोको आधा अर्थात् रु. १ करोड ५४ लाख २५ हजार २ सय जरिवाना तथा ८ वर्ष कैद सजाय सुनाइएको छ । पौडेल सार्वजनिक पदमा रहेको अवस्थामा कसुर गरेको ठहर गर्दै ऐनको दफा २४ बमोजिम थप ६ महिना कैद सजाय समेत गरिएको छ । यससँगै उनको कुल कैद सजाय ८ वर्ष ६ महिना पुगेको छ ।

अदालतले प्रतिवादी दीपक आनन्दलाई पनि रु. १ करोड ५४ लाख २५ हजार २ सय जरिवाना तथा ८ वर्ष कैद सजाय हुने ठहर गरेको छ ।

यस्तै, अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१(३) अनुसार दुवै प्रतिवादीबाट असुल हुने रकमको २ प्रतिशत अर्थात् रु. ६ लाख १७ हजार ८ रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्न आदेश दिइएको छ ।

यसअघि विशेष अदालतले एनआईटीसीको ‘सिक्युरिटी एप्लिकेसन एन्ड नेटवर्क इक्विपमेन्ट’ खरिद ठेक्कामा तेस्रो पक्षमार्फत परामर्श शुल्कको नाममा घुस लिने सहमति गरेको भन्दै पौडेल र आनन्दलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो । अदालतले फरेन्सिक परीक्षणबाट प्राप्त मोबाइल र ल्यापटपमा रहेका संवाद तथा अन्य प्रमाणका आधारमा कसुर स्थापित भएको निष्कर्ष निकालेको थियो । तर, घुस रकम बरामद नभएको र रकम कहाँ राखिएको भन्ने तथ्य स्पष्ट प्रमाणित हुन नसकेकाले विगो जफतको माग भने अस्वीकार गरेको थियो ।

याे पनि – एनआईटीसी प्रकरण : तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल भ्रष्टाचारमा दोषी ठहर

हेर्नुहाेस् आदेश :

सम्बन्धित खवर

सर्वोच्चले रोक्यो सम्पत्ति छानबिन आयोगको काम, पूर्ण इजलासमा जाने(आदेशसहित)

सर्वोच्चले रोक्यो सम्पत्ति छानबिन आयोगको काम, पूर्ण इजलासमा जाने(आदेशसहित)

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको सरकारले भ्रष्टाचारविरुद्धको  अभियान भनेर ल्याएको सम्पत्ति छानबिन आयोग, २०८३...

एनआईटीसी प्रकरण : तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल भ्रष्टाचारमा दोषी ठहर

एनआईटीसी प्रकरण : तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल भ्रष्टाचारमा दोषी ठहर

काठमाडौँ ।  राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) का तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललाई सुरक्षा...

बेचन झा रिहा, अदालतले सजाय तोक्नुअघि नै सकियो जेलको बास !

बेचन झा रिहा, अदालतले सजाय तोक्नुअघि नै सकियो जेलको बास !

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर दुई वर्षदेखि कारागारमा रहेका बेचन झा...

मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज जबरजस्ती करणीमा दोषी ठहर

मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज जबरजस्ती करणीमा दोषी ठहर

काठमाडौँ । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा अहिराज जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका...