काठमाडौँ । सन् १९७३ को जुलाई मा जब भी. आर. कृष्ण अय्यरको नाम सर्वोच्च अदालतको न्यायाधीशको रूपमा सार्वजनिक भयो, तत्कालीन वकिलहरूले `द टाईमस् अफ इन्डिया`मा खुला पत्र लेखेर तीव्र विरोध गरे। `यो त कम्युनिष्ट सरकारको मन्त्री हो, राजनीतिक व्यक्ति हो, अदालतमा बस्न अयोग्य छ,` भन्ने आरोप उनीमाथि लाग्यो।
तर उनी त्यही व्यक्ति थिए, जसलाई सन् १९४८ मा प्रहरी यातनाविरुद्ध बोलेको झुटो आरोपमा एक महिना जेल हालिएको थियो। जसलाई जेल सजाय दिइयो, उही व्यक्तिलाई देशको सर्वोच्च न्यायिक पदमा पुर्याउँदा न्यायिक जगत् तरंगित भयो। पछि उनै जेल गएका वकिलले एक दिन अदालतलाई ‘जनताको अदालत’ बनाइदिए।
न्यायमूर्ति भी. आर. कृष्ण अय्यरले सार्वजनिक सरोकारको विवाद (PIL) को जग बसाले;`Bail is the rule, jail is the exception` जस्ता ऐतिहासिक सिद्धान्त दिए र अदालतलाई गरिब-कैदी-दबिएकाको आवाज बनाए। उनी विवाद र क्रान्तिको दोसाँधमा उभिएर पनि भारतीय न्यायको इतिहास बदल्ने ‘भिष्म पितामह’ बने।
अय्यर सन् १९५२ मा केरलाको मद्रास विधान सभाको सदस्य बने । १९५७ मा नब्बुरीपाद मन्त्रिपरिषदमा उनी कानून मन्त्री बनेका थिए ।
सन् १९५९ बाट पुनः कानूनी अभ्यासमा फर्किए । सन् १९६८ मा केरला उच्च अदालतको न्यायाधीश र १९७३ मा सर्वोच्च अदालतको न्यायाधीश बन्दा उनको धेरै विरोध भयो । उनी १४ नोभेम्बर १९८० मा सेवानिवृत्त भए ।
अय्यर सन् १९७१ देखि १९७५ सम्म कानून आयोगको सदस्य पनि बनेका थिए । सन् १९८७ मा उनले कांग्रेस उम्मेदवार आर. वेंकटरमणविरुद्ध राष्ट्रपतिको चुनाव पनि लडे । उनले ७० वटा पुस्तक पनि लेखे। उनले आफ्नो आत्मकथा “वान्डरिङ इन मेनी वर्ल्ड्स” पनि लेखे ।

को थिए न्यायमूर्ति भी. आर. कृष्ण अय्यर ?
न्यायमूर्ति वेदनाथपुरम राम कृष्ण अय्यर (१५ नोभेम्बर १९१५ देखि ४ डिसेम्बर २०१४) भारतीय न्यायिक इतिहासका एक क्रान्तिकारी व्यक्तित्व थिए। उनी केवल न्यायाधीश मात्र नभई उनी गरिब र उत्पीडितहरूको वकिल, जेल परेका राजनीतिज्ञ, समाजवादी सपनाहरू बोकेका मन्त्री र सर्वोच्च अदालतका ‘जनताको न्यायाधीश’ पनि मानिन्थे । उनी न्यायिक सक्रियता र सार्वजनिक सरोकारको विवाद(PIL) को अग्रणी पथप्रदर्शक मानिन्छन्।
उनको जन्म केरलाको पलक्कड (तत्कालीन मद्रास राज्य) को वैद्यनाथपुरम गाउँमा एक तमिल ब्राह्मण परिवारमा भएको थियो। उनका बुबा भी.भी. राम अय्यर प्रख्यात वकिल थिए भने आमा नारायणी अम्माल गृहिणी थिइन्। सात सन्तानमध्येका जेठा छोरा कृष्ण अय्यरका कान्छा भाइ भी. आर. लक्ष्मीनारायणन तमिलनाडु प्रहरीको डाइरेक्टर जनरल समेत बने।
बुबाको प्रभावले कानुनप्रति गहिरो आकर्षण जागेको उनले बाल्यकालदेखि नै समाजको वेदना नजिकबाट देखे। उनले बासेल इभान्जेलिकल मिसन पार्सी हाई स्कूल, थलास्सेरी, कोयिलान्डीको गभर्नमेन्ट भोकेसनल हायर सेकेन्डरी स्कूल, पलक्कडको भिक्टोरिया कलेज, अन्नामलाई विश्वविद्यालय र चेन्नईको डा. अम्बेडकर गभर्नमेन्ट ल कलेजबाट शिक्षा हासिल गरे।
१९३८ मा थलास्सेरीमा बुबाको चेम्बरमा वकिलको पेशा सुरु गरेका कृष्ण अय्यर छिट्टै आदर्शवाद र समाजवादी सपनाहरूले प्रेरित भए। उनी सामन्ती र औपनिवेशिक शासनबाट शोषित किसान, मजदुर र भूमिहीनहरूको मुद्दा लड्न थाले। उनी आफैंले लेखेका थिए-`Gently I became a public figure of sorts without party affiliation, अर्थात `बिस्तारै म कुनै पनि पार्टीसँग आबद्धता बिना नै एक प्रकारको सार्वजनिक व्यक्तित्व भएँ।`
त्यसपछि १९४८ मा पुलिसलेसोधपुछ को लागि यातना दिने प्रथाविरुद्ध खुला विरोध गर्दा उनलाई कपोलकल्पित आरोपमा (कम्युनिष्टहरूलाई कानुनी सहयोग दिएको भन्दै) एक महिना जेल हालियो। यो जेल अनुभवले उनको जीवनको दिशा नै बदलिदियो -जसले उनलाई आजीवन कैदी अधिकार र जेल सुधारको योद्धा बनायो।
उनी खेलप्रेमी, मानवअधिकार योद्धा, पर्यावरण संरक्षणकर्ता, उत्कृष्ट लेखक र सामाजिक न्यायका अटुट आवाज थिए। उनीलाई सन् १९९९ मा `पद्म विभूषण` बाट सम्मानित पनि गरियो। र उनको मृत्यु ४ डिसेम्बर २०१४ मा ९९ वर्षको उमेरमा भएको थियो।
न्यायमूर्ति भी. आर. कृष्ण अय्यर सधैंभन्दा अगाडि सोच्ने दूरदर्शी थिए जसले अदालतलाई `We, the People of India` को साँचो सेवक बनाउने सपना देखे र त्यसलाई व्यवहारमा उतारे। उनी पछि भारतीय न्यायिक क्षेत्रका ‘भिष्म पितामह’ र ‘महात्मा’ कहलिए।

जेल, राजनीति र न्यायको सिंहासन: एक क्रान्तिकारीको उतारचढावपूर्ण यात्रा
न्यायमूर्ति भी. आर. कृष्ण अय्यरको जीवन सजिलो राजमार्ग होइन, बरु काँडैकाँडा र मोडैमोडले भरिएको चुनौतीपूर्ण यात्रा थियो। आदर्शवाद र समाजवादी सपनाहरू बोकेका उनी पटक-पटक विपत्तिमा परे तर हरेक पटक मजबुत भएर फर्किए।
१९४८ मा जब उनले प्रहरीले सोधपुछको क्रममा यातना दिने क्रूर प्रथाविरुद्ध खुला विरोध गरे, तब ब्रिटिस कोलोनिअल l प्रभाव रहेको सरकारले उनलाई कपोलकल्पित आरोप लगायो-कम्युनिष्टहरूलाई कानुनी सहयोग दिएको।त्यसपछि उनी एक महिना जेल बस्नुपर्यो।
यो जेल अनुभवले उनको जीवनको दिशा नै बदलिदियो। जेलमा कैदीहरूमाथि हुने अमानवीय व्यवहार देखेपछि उनी आजीवन जेल सुधार र कैदी अधिकारको योद्धा बने। प्रसिद्ध न्यायिक विद्वान् George Gadbois Jr. ले भनेका छन् -यो जेल अनुभवले उनमा कैदीहरूलाई मानवीय रूपमा व्यवहार गर्ने जोश जागृत गर्यो।
त्यसपछि १९५२ मा उनी स्वतन्त्र उम्मेदवारको रूपमा मद्रास विधानसभा सदस्य निर्वाचित भए। १९५७ मा राज्य पुनर्गठनपछि केरला विधानसभा पुगे र E.M.S. Namboodiripad नेतृत्वको भारतको पहिलो कम्युनिष्ट सरकारमा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाए।
उनी गृह, कानून, कारागार, सिँचाइ, विद्युत्, सामाजिक कल्याण र आन्तरिक जलमार्ग जस्ता संवेदनशील विभाग सम्हाले। यस अवधिमा उनले गरिब किसानको पक्षमा केरला भूमि सुधार ऐन, १९६३ जस्तो ऐतिहासिक कानुनको ड्राफ्ट गरे, जसले केरलामा सामन्ती व्यवस्थालाई ठूलो धक्का दियो। उनले कानुनी सहायता, जेल सुधार, महिला र बालबालिकाका लागि उद्धार घरहरूस्थापना जस्ता काम पनि गरे।१९५९ मा केन्द्रीय सरकारले कम्युनिष्ट सरकार बर्खास्त गरेपछि उनी पुनः वकिलातमा फर्किए। १९६५ मा पुनः चुनाव लडे तर हारे।
साथै १९६८ जुलाई १२ मा उनी केरला उच्च अदालतको न्यायाधीश नियुक्त भए। १९७१ देखि १९७३ सम्म ल कमिसन अफ इण्डियाको सदस्य रहे, जहाँ उनले देशव्यापी कानुनी सहायता आन्दोलनको लागि महत्वपूर्ण प्रतिवेदन तयार पारे। र सन् १९८० नोभेम्बर १४ मा रिटायर भए पनि छोटो समयमा नै उनले सयौं ऐतिहासिक फैसलाहरू दिए। १९९९ मा राष्ट्रिय सम्मान `पद्म विभूषण`ले सम्मानित समेत भए।
रिटायरमेन्टपछि पनि उनी सक्रिय रहे-लेखन, जनआन्दोलन, गुजरात दङ्गा जाँच आयोग, केरला ल कानून सुधार आयोग जस्ता क्षेत्रमा योगदान दिए। ४ डिसेम्बर २०१४ मा ९९ वर्षको उमेरमा उनको निधन भयो।
आलोचना र क्रान्तिको दोसाँधमा अय्यर
न्यायमूर्ति भी. आर. कृष्ण अय्यरको जीवन र करियर विवादरहित कहिल्यै भएन। उनी जसरी अदालतलाई गरिब र दबिएकाको हतियार बनाउन चाहन्थे, त्यही कारणले उनी बारम्बार आलोचनाको घेरामा परे। केहीले उनीलाई ‘क्रान्तिकारी’ भने भने केहीले ‘खतरनाक समाजवादी’ भन्न रुचाए।
१९७३ को नियुक्ति विवाद :‘राजनीतिक व्यक्तिलाई सर्वोच्च अदालतमा?’
सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिको घोषणा भएलगत्तै ठूलो हंगामा मच्चियो। १७ जुलाई १९७३ मा जब उनको नाम सार्वजनिक भयो, तत्कालीन वकिलहरूको एउटा ठूलो समूहले द टाइमस् अफ इण्डिया मा खुला पत्र प्रकाशित गर्दै विरोध जनायो।
`यो त कम्युनिष्ट सरकारको मन्त्री हो, राजनीतिक पृष्ठभूमिको व्यक्ति हो, निष्पक्ष न्याय दिन सक्दैन` भन्ने आरोप लाग्यो। उनको कम्युनिष्ट पार्टीसँगको निकटता र केरला सरकारमा मन्त्री भएकाले धेरैले उनलाई अदालतको लागि अयोग्य ठाने। तर इन्दिरा गान्धी सरकारले यो विवादका बाबजुद पनि उनलाई नियुक्त गरे। यो विवादले उनको सम्पूर्ण न्यायिक करियरलाई छायाँ दियो।
इमर्जेन्सी काल (१९७५ देखि ७७) : प्रशंसा र आलोचनाको दोसाँध

इमर्जेन्सीको अँध्यारो समयमा पनि कृष्ण अय्यर विवादबाट बच्न सकेनन्।`इन्दिरा गान्धी बनाम राज नारईन `मुद्दामा उनले इन्दिरा गान्धीलाई प्रधानमन्त्री पदमा रहन दिने सशर्त बसाई दिए। यसलाई लिएर उनी दुवै पक्षबाट आलोचित बने, केहीले इन्दिरालाई बचाएको आरोप लगाए भने केहीले अपुरो बसाईदिएको भने।
तर एउटा महत्वपूर्ण कुरा हो-ADM जबलपुर मुध्दामा उनी त्यही बेन्चमा थिए जसले संकटकालमा मौलिक अधिकार निलम्बन गर्न सकिने फैसला गरेको थियो। तर उनी व्यक्तिगत रूपमा संकटकालको अत्याचारको विपक्षमा थिए र पछि मौलिक अधिकारको व्यापक व्याख्या गरेर त्यसको प्रभाव कम गर्न भूमिका खेले।
‘अति सक्रिय’ न्यायाधीशको आरोप
कृष्ण अय्यरमाथि सबैभन्दा ठूलो आलोचना न्यायिक सक्रियताको नाममा भयो। आलोचकहरू भन्थे:`उनी अदालतमा आफ्नो समाजवादी दर्शन ल्याइरहेका छन्`। `धारा ३९ (ख )को व्याख्या गर्दा निजी सम्पत्तिलाई सामुदायिक स्रोत मानेर अति गरे`। (यो व्याख्यालाई पछिल्लो समय सर्वोच्च अदालतले नै सीमित गरेको छ।) PIL, जेल सुधार, मृत्युदण्ड विरुद्ध अडान र अदालतलाई ‘अति सक्रिय’ बनाएको आरोप,जस्ता तमाम आरोप उनीमाथी लागे ।
केहीले उनलाई `कानुनभन्दा आफ्नो विचारलाई प्राथमिकता दिने`न्यायाधीश भने। तर समर्थकहरू भन्छन्; उनी बिना आज PIL जस्तो शक्तिशाली हतियार आम नागरिकसम्म पुग्ने थिएन।
मृत्युदण्ड र जेल सुधारमा पनि विवाद
मृत्युदण्ड लाई`दुर्लभतम` (rarest of rare) मा मात्र सीमित राख्नुपर्ने र विलम्बित मामिलाहरूमा कम गर्नुपर्ने उनको अडान पनि विवादास्पद रह्यो। जेलमा ध्यान र योगको सिफारिसलाई पनि केहीले `अव्यावहारिक` भने।
विवादले घेरिए पनि न्यायमूर्ति कृष्ण अय्यर कहिल्यै पछाडि हटेनन्। उनी भन्थे:Perfect justice is a mirage.`
कानुनी क्षेत्रमा प्रमुख योगदान
न्यायमूर्ति भी. आर. कृष्ण अय्यरको भारतीय न्यायिक इतिहासका सबैभन्दा प्रभावशाली व्यक्तित्व मध्ये एक हुन्। उनीले अदालतलाई धुलो लागेको किताबको खाता होइन, बरु समाज परिवर्तनको जीवन्त इन्जिन बनाइदिए। उनी न्यायिक सक्रियता र सार्वजनिक सरोकारका मुद्धा को प्रणेता मानिन्छन्।
न्यायमूर्ति पी.एन. भगवतीसँग मिलेर उनले PIL लाई शक्तिशाली हतियारको रूपमा स्थापित गरे। यसले गरिब, असहाय, कैदी र दबिएका वर्गलाई अदालतको ढोका खोलिदियो। जेलबाट लेखिएको एउटा साधारण चिठ्ठीलाई पनि रिट निवेदन मान्ने उनको पत्राचार न्यायिकताले न्यायको नयाँ ढोका खोल्यो।
अय्यरले स्थापित गरेका महत्वपूर्ण सिद्धान्तहरू :
-`Bail is the rule, jail is the exception`:यो वाक्य आज पनि भारतीय फौजदारी न्यायको मूल मन्त्र बनेको छ।
– कैदीहरूप्रति सजाय होइन सुधारको जोड ।
– प्रदूषक भुक्तान सिद्धान्त र वितरणत्मक न्याय को जग बसाले।
– पर्यावरण संरक्षण, महिला अधिकार, कानूनी सहायता आन्दोलन र थुनुवा कैदीहरूको समस्या समाधानमा अग्रणी भूमिका।
– जेल सुधारमा योग र ध्यानलाई समावेश गर्न सिफारिस जसलाई उनी आफैंले अभ्यास पनि गर्थे।
उनको सबैभन्दा ठूलो मार्गदर्शक सिद्धान्त थियो :
`The law of all laws is that the ‘rule of law’ must sustain the ‘rule of life`.`
उनी भन्थे : अदालतले उच्च आसनबाट तल झरेर जनताको वास्तविक पीडा बुझ्नुपर्छ। ब्रिटिस कोलोनिअल परम्परामा आधारित न्याय प्रणालीलाई भारतीय सामाजिक मूल्य र मानवीय संवेदनासँग जोडेर सुधार्ने उनको सपना थियो। छोटो समयमा पनि उनले न्यायिक क्षेत्रमा जुन क्रान्ति गरे, त्यसको प्रभाव आज पनि PIL मार्फत लाखौं भारतीयको जीवनमा देखिन्छ।
प्रसिद्ध मुद्दाहरु
न्यायमूर्ति भी. आर. कृष्ण अय्यरले आफ्नो छोटो न्यायिक करियरमा सयौं एतिहासिक फैसलाहरू दिए। यी केही चर्चित छन् :
-Maneka Gandhi vs Union of India (१९७८ )
यो उनको सबैभन्दा महत्वपूर्ण फैसलामध्ये एक हो। उनले धारा २१ लाई व्यापक व्याख्या गर्दै बाँच्न पाउने हक र व्यक्तिगत स्वतन्त्रताको हकलाई मात्र बाँच्ने अधिकार होइन, सम्मानजनक जीवन, यात्राको स्वतन्त्रता र थुप्रै मौलिक मानवअधिकारको आधार बनाइदिए। यो फैसलाले भारतीय संविधानको व्याख्या नै बदलिदियो।
– Ratlam Municipality vs Vardichand ( १९८० )
न्यायाधीशले कोर्टरूम छोडेर गएर समस्या हेर्नुपर्ने ऐतिहासिक परम्परा सुरु गरेको मुद्दा। यसले ‘प्रदूषक भुक्तान सिद्धान्त, पर्यावरण न्याय र वितरणत्मक न्यायको जग बसाल्यो।
– Sunil Batra vs Delhi Administration
कैदी अधिकारको लागि एतिहासिक फैसला। हातकडी लगाउने,निर्जन कारावास, जस्ता अमानवीय व्यवहारविरुद्ध कडा अडान। उनको प्रसिद्ध भनाइ:
`Freedom behind bars is part of our constitutional tryst… prisoners’ rights are too precious to be left to the jailors.`
– Muthamma vs Union of India
भारतीय विदेश सेवा की अधिकारी C.B. Muthamma विरुद्ध लैङ्गिक भेदभाव हटाउने फैसला। सार्वजनिक सेवामा महिलाको ग्लास सिलिङ तोड्ने महत्वपूर्ण योगदान।
– Ediga Anamma vs State of Andhra Pradesh र Rajendra Prasad
मृत्युदण्डलाई दुर्लभतम मा मात्र सीमित राख्ने सिद्धान्त स्थापित। विलम्बित न्यायमा मृत्युदण्ड कम गर्नुपर्ने उनको अडान।
– Hussainara Khatoon vs Home Secretary
थुनुवामा राखिएका कैदीहरूको लामो समयसम्म जेल बस्नुपर्ने समस्यालाई उजागर गर्दै सामूहिक जमानतको बाटो खोले।

पुस्तकहरू
न्यायमूर्ति भी. आर. कृष्ण अय्यरले केवल फैसला लेख्ने न्यायाधीश मात्र थिएनन्,उनले ७० देखि १०० भन्दा बढी पुस्तकहरू लेखेका छन्।
उनको सबैभन्दा चर्चित आत्मकथा `Wandering in Many Worlds` हो, जसमा उनको जीवन, दर्शन र न्यायिक अनुभवहरू जीवन्त रूपमा प्रस्तुत छन्।
अन्य महत्वपूर्ण कृतिहरू:
– Law, Freedom and Change
– Justice at Heart
– Off the Bench
– Children’s Code
– Legal Spectrum आदि ।
उनका फैसला मात्र कानुनी दस्तावेज थिएनन् , ती `pure poetry in action` जस्ता लाग्थे। उनको भाषा शक्तिशाली, साहित्यिक र भावनात्मक हुन्थ्यो, जसले पाठकलाई गहिरो प्रभाव पार्थ्यो।रिटायरमेन्टपछि पनि उनी लेखन र सामाजिक मुद्दाहरूमा निरन्तर सक्रिय रहे। उनका पुस्तकहरू आज पनि कानुन विद्यार्थी, वकिल र न्यायाधीशहरूका लागि मार्गदर्शक छन्।
न्यायमूर्ति भी. आर. कृष्ण अय्यरले प्रमाणित गरे कि अदालत उच्च वर्गको संस्था होइन, जनताको सेवा गर्ने इन्जिन हुन सक्छ। नेपालमा PIL को अवधारणा, कैदी अधिकार, पर्यावरण न्याय, महिला अधिकार र सामाजिक न्यायका मुद्दाहरूमा उनको विचार अत्यन्त प्रासंगिक छन्।
विवादबाट गुज्रिएर इतिहास रच्ने यो व्यक्तित्वले देखाए; सच्चा न्याय सधैं सजिलो बाटोमा हुँदैन, तर त्यो बाटो समाजलाई बदल्न सक्छ। भी. आर. कृष्ण अय्यरको सपना अझै जीवन्त छ: `We, the People of India` को न्याय।
यो पनि-
न्यायाधीश खन्ना : जसले बरिष्ठता मिचिँदा प्रधानन्यायाधीश पद गुमाए
इन्दिरा गान्धीको हंस : कसको शक्ति ठूलो ? सरकार कि न्यायपालिका ?

