साताको अदालत : आर्थिक अपराधका मुद्दामा केन्द्रित, मेयरलाई भ्रष्टाचार मुद्दादेखि ट्रेड युनियन खारेजसम्म

जस नेपाल

३१ जेठ २०८३

साताको अदालत : आर्थिक अपराधका मुद्दामा केन्द्रित, मेयरलाई भ्रष्टाचार मुद्दादेखि ट्रेड युनियन खारेजसम्म

काठमाडौँ । यो साता अदालतमा आर्थिक अपराधका ठूला मुद्दाहरूले मुख्य स्थान ओगटे । विशेष अदालतमा दीपक भट्ट र शुलभ अग्रवालको हिरासत तथा बयान प्रक्रिया चलिरहँदा उनीहरूमाथि थप दुई नयाँ मुद्दा दायर भएका छन् । जगदम्बा स्टिल्सको ऋण दुरुपयोग र सेयर बजारको संगठित ठगी । एकातिर २६ अर्बभन्दा बढी बिगोको सम्पत्ति शुद्धीकरण, अर्कोतिर बैंकिङ कसूर र सेयर चलखेल । 

एउटै सातामा बैंकिङ कसूर, सेयर चलखेल र सम्पत्ति शुद्धीकरणका श्रृङ्खलाबद्ध आरोपले नेपालको वित्तीय क्षेत्रमा गहिरो अनियमितताको जालो उजागर गरेको छ ।

त्यस्तै सर्वोच्च अदालतले ट्रेड युनियन खारेजीमा अन्तरिम आदेश निरन्तरता नदिएर सरकारको बाटो खोलिदिएको छ भने  एसईई परीक्षामा जफत मोबाइल नष्ट प्रकरणमा अन्तरिम संरक्षण दिएको छ ।

साथै सर्वोच्चले बालसेना भर्तीलाई फौजदारी अपराध मान्ने कानून बनाउन निर्देशन दिएको छ र नेपाल एयरलाइन्सको विवादास्पद नियुक्ति पनि बदर गरेको छ । सामाजिक संजालमा चर्चामा रहेका ‘नेपाली ब्रो’ कुमार थापा विरुद्धको हत्या मुद्दामा पनि थप अनुसन्धान अघि बढेको छ ।

आउँ हेरौ साताभरिमा अदालतमा के-के भयो । 

दीपक भट्ट र शुलभ अग्रवाल : म्याद थप, बयान र न्यायिक हिरासत

जेठ २५ गते विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा दीपक भट्टको हकमा आठौं पटक र शुलभ अग्रवालको हकमा नवौं पटक तीन-तीन दिनको म्याद थप गर्‍यो । न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले यो आदेश दिएको थियो ।

जेठ २९ गते विशेष अदालतमा बयानका क्रममा दीपक भट्टको बयान पूरा नभएपछि उनीहरूलाई न्यायिक हिरासतमा पठाइयो । शुलभ अग्रवाल बयानकै क्रममा अस्वस्थ भएपछि उनको बयान स्थगित भयो । 

विशेष अदालतद्वारा दीपक भट्ट र शुलभ अग्रवाललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

२६ अर्बभन्दा बढी बिगो : दीपक भट्टसहित ३९ जनाविरुद्ध मुद्दा दायर 

सोही साता सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दीपक भट्ट, शुलभ अग्रवाल, शेखर गोल्छासहित ३९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गर्‍यो । ३४ व्यक्ति र ५ कम्पनी प्रतिवादी रहेको यो मुद्दामा भट्टमाथि २६ अर्ब ६३ करोडभन्दा बढी, अग्रवालमाथि २५ अर्ब ५९ करोड र गोल्छामाथि ५२ करोड ५० लाख बिगो दाबी गरिएको छ । 

बीमा, धितोपत्र र वित्तीय कारोबारसँग जोडिएको यो प्रकरणले नेपालको वित्तीय क्षेत्रमा रहेको गहिरो अनियमिततालाई उजागर गरेको छ । यसअघि नै बीमा ऐन र धितोपत्र ऐनअन्तर्गत अलग-अलग मुद्दा दायर भइसकेका छन् ।

२६ अर्बभन्दा बढी बिगो दाबी गर्दै दीपक भट्टसहित ३९ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता

साहिल अग्रवाल र दीपक भट्टसहित चार जनाविरुद्ध ४२ करोडको  मुद्दा

जेठ २८ गते उच्च अदालत पाटनमा अर्को ठूलो मुद्दा दायर भयो । जगदम्बा स्टिल्सले विभिन्न बैंकबाट व्यावसायिक प्रयोजनका लागि लिएको ऋण व्यक्तिगत स्वार्थ र सेयर लगानीमा दुरुपयोग गरेको आरोपमा साहिल अग्रवाल, दीपक भट्ट, शुलभ अग्रवाल र शंकरलाल अग्रवालविरुद्ध ४२ करोड १४ लाख बढी बिगोको बैंकिङ कसूर मुद्दा दायर भएको छ ।

अनुसन्धान अनुसार उद्योगको ऋण नक्कली जग्गा खरिदको बैना देखाएर दीपक भट्टको खातामा पठाइएको, त्यसलाई इन्फिनिटी होल्डिङ्स हुँदै हिमालयन रिइन्स्योरेन्सको सेयर खरिदमा प्रयोग गरिएको खुलेको छ । 

सरकारी वकिलले ६ देखि ८ वर्ष कैद र बिगो बराबर जरिवाना माग गरेको छ ।

दीपक भट्ट, शेखर गोल्छा, शुलभ अग्रवालसहित ८१ जनाविरुद्ध मुद्दाको दर्ता 

सोही दिन काठमाडौँ  जिल्ला अदालतमा सेयर बजारको संगठित ठगी मुद्दा दायर भयो । धितोपत्र सम्बन्धी ऐनअन्तर्गत ८१ जनाविरुद्ध मुद्दा चलाइएको छ । मुख्य प्रतिवादीहरूमा दीपक भट्ट, शेखर गोल्छा, शुलभ अग्रवाल, सन्दीप चाचन अग्रवाल (भृकुटी ब्रोकिङ) लगायत छन् ।

प्रतिवादीहरूले भृकुटी ब्रोकिङलाई प्रयोग गरेर सर्कुलर ट्रेडिङ, कृत्रिम मूल्य वृद्धि र बीमा कम्पनीहरूको पैसा दुरुपयोग गरेको आरोप छ । कुल १ अर्ब १४ करोड ८ लाख बढी हानी नोक्सानी पुर्‍याएको दाबी गरिएको छ । 

वीरगञ्जका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अर्काकी छोरी रुबिना श्रेष्ठलाई आफ्नै छोरी बनाएर जन्मदर्ता र नागरिकता दिलाएको आरोप उनीमाथि लागेको छ ।

तत्कालीन वडा सचिव, सदस्य, प्रशासकीय अधिकृत र गृह मन्त्रालयको छानबिन समितिका सदस्यहरू पनि यसमा संलग्न रहेको अख्तियारको दाबी छ । मुद्दा दायर भएसँगै मेयर सिंह पदबाट स्वतः निलम्बित भएका छन् ।

अर्काकी छोरीलाई आफ्नै बनाएर नागरिकता : वीरगञ्जका मेयर सिंहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

भ्रष्टाचार मुद्दा लागेपछि वीरगञ्जका मेयर पदबाट स्वतः निलम्बन

ट्रेड युनियन खारेज : सर्वोच्चले दिएन अन्तरिम आदेशलाई निरन्तरता 

सर्वोच्च अदालतको संवैधानिक इजलासले ट्रेड युनियन खारेज गर्ने सरकारी निर्णयविरुद्धको रिटमा यसअघि जारी अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गर्‍यो । प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मा सहितको इजलासमा राय बाझिए पनि बहुमतले सरकारको निर्णय कार्यान्वयन गर्न बाटो खोलिदियो । 

न्यायाधीश नहकुल सुवेदी र महेश शर्मा पौडेलले भने निरन्तरता दिनुपर्ने मत राखेका थिए । 

ट्रेड युनियन खारेज गर्ने बाटो खुल्यो, अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार

 

एसईई मोबाइल जफत प्रकरण : सर्वोच्चको अन्तरिम आदेश

एसईई परीक्षाका क्रममा सिरहामा जफत गरिएका मोबाइल र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरेको घटनाविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भयो । अधिवक्ता अनिल कुमार साहसहित पीडित विद्यार्थीहरूले क्षतिपूर्ति र जिम्मेवार अधिकारीमाथि कारबाहीको माग गरेका छन् । 

अदालतले अन्तरिम आदेश जारी गर्दै मुद्दाको टुङ्गो नलागेसम्म ती सामग्री नष्ट नगर्न निर्देशन दियो । यो मुद्दाले परीक्षा मर्यादा र विद्यार्थीको व्यक्तिगत सम्पत्तिको अधिकारबीचको द्वन्द्वलाई उजागर गरेको छ ।

सिराहा मोबाइल नष्ट प्रकरण : गैरकानुनी कार्यको जिम्मेवारी कसले लिने ?

‘नेपाली ब्रो’ कुमार थापालाई थप ५ दिन हिरासत

पत्नी ईश्वरी भुजेलको हत्या आरोपमा पक्राउ परेका कुमार थापा (नेपाली ब्रो) लाई काठमाडौँ जिल्ला अदालतले थप ५ दिन हिरासतमा राख्न अनुमति दियो । प्रहरीले प्रेमिका सहित थप व्यक्तिहरूलाई पनि पक्राउ गरेको छ । घरायसी विवादलाई लिएर भएको यो घटनाले सामाजिक सञ्जालमा निकै चर्चा पाएको थियो ।

बालसेना भर्ती : सर्वोच्चको निर्देशनात्मक आदेश

सर्वोच्च अदालतले १८ वर्षमुनिका बालबालिकालाई सैन्य संरचनामा भर्ती गर्नु मानव अधिकार उल्लङ्घन भएको ठहर गर्दै सरकारलाई फौजदारी अपराधका रूपमा कानून बनाउन निर्देशन दियो । न्यायाधीश सपना प्रधान मल्लसहितको इजलासले पूर्व बालसेनाहरूको सम्मान र संक्रमणकालीन न्यायमा पनि ध्यान दिनुपर्ने बतायो । 

बालसेना भर्तीबारे सर्वोच्चद्वारा निर्देशनात्मक आदेश जारी

नेपाल एयरलाइन्स : सञ्चालक समिति नियुक्ति बदर

सर्वोच्च अदालतले नेपाल एयरलाइन्सको सञ्चालक समिति सदस्य नियुक्ति बदर गरिदियो । योग्यता क्रममा पहिलो नम्बरमा रहेका उपेन्द्रबहादुर कार्कीलाई छाडेर कनिष्ठहरूलाई नियुक्त गरेको निर्णय त्रुटिपूर्ण भएको अदालतको ठहर छ । 

न्यायाधीश टेकप्रसाद ढुंगाना र शान्तिसिंह थापाको इजलासले सुशासन ऐनविपरीत भएको भन्दै पुनः प्रक्रिया अघि बढाउन परमादेश जारी गर्‍यो ।

यो साता अदालतले ठूला आर्थिक अनियमितता, भ्रष्टाचार, प्रशासनिक अधिकार र नागरिक अधिकारका मुद्दाहरूमा सक्रियता देखायो । यी फैसलाहरूले नेपालको न्यायिक प्रणालीमा सुशासन र जवाफदेहिताको मागलाई अझ मजबुत बनाएका छन् । आगामी साता यी मुद्दाहरूको थप विकास कसरी हुन्छ, हेर्न बाँकी छ । 

अदालतका गतिविधिहरूको निरन्तर खोजी, विश्लेषण र फलोअपसहित ‘साताको अदालत’ हरेक आइतबार प्रकाशित हुनेछ। 

यो पनि –  

साताको अदालत : न्यायाधीशलाई न्याय, मेयर पक्राउदेखि प्रधानन्यायाधीशको २१ बुँदे निर्देशनसम्म

साताको अदालत ‍: देउवा दम्पती प्रकरणदेखि न्यायिक प्रविधिको नयाँ कदमसम्म

साताको अदालत : कर्मचारी अटेरीदेखि प्रधानन्यायाधीश नियुक्तिसम्म

साताको अदालत : सरकारका निर्णयमा लगातार ‘ब्रेक’ लगाउँदै सर्वोच्च

साताको अदालत : न्यायपालिकामा हलचल, मनोज शर्मा सिफारिसदेखि सुकुम्बासी मुद्दासम्म

साताको अदालत : सुकुमबासीको डोजरदेखि भीआईपीको उपचारसम्म

साताको अदालत : सरकारको स्वेच्छाचारितामाथि अंकुश

सम्बन्धित खवर

गगन थापा पक्षको वैधानिकतामा प्रश्न उठाउने यी दुई नजिर

गगन थापा पक्षको वैधानिकतामा प्रश्न उठाउने यी दुई नजिर

काठमाडौँ । सर्वोच्च अदालतले शेरबहादुर देउवा समूह र नेपाली कांग्रेसको संस्थापन पक्षबीचको मुद्दामा पुनरावलोकनको अनुमति...

कस्तो अवस्थामा गर्छ सर्वोच्च अदालतले पुनरावलोकन ?

कस्तो अवस्थामा गर्छ सर्वोच्च अदालतले पुनरावलोकन ?

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र नेपाली कांग्रेससम्बन्धी निर्वाचन...

अदालतको काम, कहिले जाला घाम ! (भिडियाे सहित)

अदालतको काम, कहिले जाला घाम ! (भिडियाे सहित)

काठमाडौँ । उदयपुर, गाईघाट निवासी राधा दाहाल यसैसाता गृहमन्त्री सुधन गुरुङलाई भेट्ने भन्दै सिंहदरबारको...

संसदले जगाउनुपर्ने कानून अदालतले जगायो, बालेन सरकारका १२ अध्यादेश निष्क्रिय

संसदले जगाउनुपर्ने कानून अदालतले जगायो, बालेन सरकारका १२ अध्यादेश निष्क्रिय

काठमाडौँ । बालेन शाह नेतृत्वको सरकारले गत वैशाखमा संसद् अधिवेशन रोकेर ल्याएका चार अध्यादेशसहित...